कसले बढायो खाने तेलको मूल्य लिटरमै ५० रुपैयाँ ?

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, २३ मंसिर

खाने तेलको मूल्य अस्वभाविक रुपमा बढेको गुनासो व्यापारीबाटै आउन थालेको छ । खुद्रा व्यापारीहरुले खाने तेलको मूल्य कम्पनीबाटै बढेर आउँदा उपभोक्ताबाट आफूहरुले गाली खानु परेको गुनासो गरेका छन् । तोरी, भटमास र सूर्यमुखी तेलको मूल्य महिना दिनमै लिटरमा ४० देखि ५० रुपैयाँसम्म बढेको छ । तोरी, भटमास र सूर्यमुखी पर्याप्त मात्रामा उपलब्ध नहुनु र ढुवानी खर्च बढ्नुले गर्दा खाने तेलको उत्पादन लागत बढ्न गएकाले केही मूल्य बढेको बनस्पति घ्यू तेल उत्पादक संघका अध्यक्ष सन्दीप कुमार अग्रवालले बताएका छन् ।

बढी मात्रामा तेल खपत हुने चाड तिहारमा पनि नबढेको तेलको भाउ एक्कासी आकाशिएपछि उपभोक्ताहरु मारमा परेका छन् । मंसिरको पहिलो हप्तासम्म १३० देखि १४० रुपैयाँ लिटरमा पाईने भटमासको तेल अहिले १८० रुपैयाँसम्म पुगेको छ । सूर्यमुखीको तेल मंसिरको १ गतेसम्म १६० रुपैयाँ प्रतिलिटरमा किनबेच भईरहेको थियो । अहिले यसको मूल्य लिटरमा २ सयभन्दा पनि बढी पर्ने गरेको नेपाल खुद्रा ब्यापार संघले जनाएको छ ।

किन बढ्यो मूल्य ?

खाने तेलको मूल्य अस्वभाविक रुपमा बढेपछि खुद्रा ब्यापारीहरुले उपभोक्ताबाट आफूहरुले गाली खानु परेको गुनासो गरिरहेका बेला उत्पादकहरुले भने आफूहरुका कारण मूल्य बढेको नभई लागत नै बढी पर्न गएको उत्तर दिएका छन् ।

नेपाल खुद्रा ब्यापार संघका महासचिव अमुलकाजी तुलाधरले भने आफूहरुले तेल खरिद गर्ने होलसेलले कम्पनीबाटै मूल्य बढेर आएको भनेर जानकारी दिएको बताएका छन् । मूल्य बढेको छ भनेर होलसेलले नयाँ मूल्य सूची पठाएपनि कारण भने उल्लेख नगरिएको उनको भनाई छ ।

‘कम्पनीबाटै मूल्य बढेर आएको छ रे, हामीले पनि होलसेलबाट लिने हो, होलसेलले नयाँ मूल्य पठाएको छ’ उनले भने, ‘तर मूल्य किन बढ्यो भनेर लेखिएको छैन ।’

पूरानै प्याकेटमा पनि मूल्य बढ्यो

खुद्रा ब्यापारीहरुले भने एकैपटक एक लिटरमा ५० रुपैयाँसम्म मूल्य बढ्नु उद्योगीहरु र होलसेलरहरुको मिलीमतो हुन सक्ने शंका गरेका छन् । स्टकमा रहेको र पूरानै मितिमा प्याकिङ भएको तेलमा पनि मूल्य बढाईएकाले उपभोक्ताहरुलाई आफूले मूल्य बढ्नुको कारण नै देखाउन नसकेको खुद्रा ब्यापारीको गुनासो छ ।

अधिकतम् खुद्रा बिक्री मूल्य बढेको नदेखिने गरी होलसेलले तेलको भाउ बढाएको उनीहरुको आरोप छ । एमआरपीमा होलसेलले नयाँ मूल्य टाँसेर पठाउने गरेको खुद्रा ब्यापारीको आरोप छ ।

‘एमआरपीमा नै खुद्राले पाउनेभन्दा महँगो तोकिएको छ, खुद्राले पाउनेभन्दा पनि बढी मूल्य तोकिएपछि न बेच्न सकिएको छ, न बेचेर राम्रो जश पाईएको छ’ एक जना खुद्रा ब्यापारीले भने ।

अनुगमन भएन

उत्पादकहरुले पर्याप्त कच्चा पदार्थ र ढुवानीका कारण लागत नै बढ्दा मूल्य बढाउनु परेको बताएका छन् । खुद्रा ब्यापारीले भने जस्तो अस्वभाविक मूल्य नबढेको उद्योगीहरुले दाबी गरेका छन् । तर, खुद्रा ब्यापारीले भने उद्योगी र होलसेललाई दोषी देखाउँदै आएका छन् । बजारमा अस्वभाविक रुपमा खाने तेलको मूल्य बढ्दा पनि बजार अनुगमन भने शून्य देखिएको छ ।

वाणिज्य विभागले बजार अनुगमनलाई तीव्रता दिएको बताएपनि तेलको मूल्य बढेको विषयमा अहिलेसम्म कुनै गुनासो नआउँदा यस सम्बन्धमा अनुगमन भएपनि तीब्रता दिन नसकिएको बताएको छ । काठमाडौँ महानगरपालिकाको उपभोक्ता हित समितिले पनि यस बारेमा कुनै अनुगमन गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *