कोरोना संक्रमितका लागि हिटरको प्रयोग कतिको सुरक्षित?

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २१ मंसिर

बन्द कोठामा हिटर बाल्दा किन हुन्छ मृत्यु?

बन्द कोठामा हिटर र कोइला बाल्दा सिन्धुपाल्चोकको जुगल गाउँपालिका ८ मा बिहीबार बिहान एक महिनाकी छोरीसँगै आमाको मृत्यु भयो। झ्याल र ढोका पुरै बन्द थिए। कोठामा भेन्टिलेसन पनि थिएन। कोठा न्यानो पार्नका लागि हिटर र आगो दुवै बाल्दा उनीहरुले ज्यान गुमाउनु प¥यो।

यो मात्र होइन, गत वर्षको माघमा पनि यस्तै घटना घटेको थियो। मकवानपुरको दामनस्थित एक होटलमा आठ भारतीय नागरिकको मृत्यु भएको पनि धेरै पुरानो भएको छैन। उनीहरु सुतेको कोठामा रातभरी हिटर बालिएको थियो। बन्द कोठामा हिटर बालेर सुतेका कारण उनीहरुले मृत्यु भएको प्रहरी पुष्टि समेत गरे।

चिसोमा हिटर बाल्ने क्रममा सावधानी नअपनाउँदा निस्सासिएर हुने मृत्युका घटना वर्षेनी घट्छन्। चिसो मौसममा आगो ताप्दा जति न्यानो हुन्छ त्यति नै जोखिम पनि हुन्छ। चिसोलाई छल्न मानिसहरु आगो ताप्नेदेखि हिटर बाल्नेसम्म गर्छन्। तर आवश्यक सावधानी भने अपनाउँदैनन्।

धेरैजसोले झ्याल ढोका बन्द गरी आगो ताप्ने या हिटरको प्रयोग गर्ने गरेको पाईन्छ। जुन स्वास्थ्यका निम्ति घातक हुन सक्छ। सावधानी नअपनाउने हो भने विभिन्न स्वास्थ्य समस्यादेखि ठुलै दुर्घटना निम्तन सक्छ, जसको उदाहरण यी दुई घटनाहरु हुन्।

कोरोना संक्रमितका लागि बन्द कोठामा हिटरको प्रयोग कतिको सुरक्षित ? 
सामान्यता झ्याल ढोका बन्द गरेर नै हिटर बाल्ने गरिन्छ। तर यो विधि कोरोना संक्रमण फैलाउने माध्यम हुन सक्ने छातिरोग विशेषज्ञ डा राजु पंगेनी बताउँछन्।

उनी भन्छन्, ‘हिटरकै कारण कोरोना फैलन भन्ने हुँदैन। तर हिटर बाल्दा झ्याल र ढोका बन्द गरिन्छ। यस्तोमा परिवारमा कोही व्यक्ति कोरोना संक्रमित भए, संक्रमण फैलिने जोखिम बढ्छ।’

उनका अनुसार छोटो समयको लागि हिटर बाल्दा पनि झ्याल ढोका बन्द गर्दा सजिलैसँग कोरोना संक्रमण फैलिन सक्ने जोखिम बढ्छ। संक्रमण छिटो फैलन सक्ने र कोरोनाका बिरामी भए समस्या बढ्न सक्ने उनी बताउँछन्।

उनले भने, ‘बन्द कोठामा हिटर बाल्दा कोरोना संक्रमण सजिलै फैलन सक्ने भयो। यदी कोरोनाका बिरामी भए समस्या बढ्ने या जटिल हुन सक्छ।’

सरुवा रोग विशेषज्ञ डा अनुप बाँस्तोला पनि बन्द कोठामा हिटरको प्रयोगले कोरोना संक्रमितमा समस्या बढाउन सक्ने बताउँछन्। बन्द कोठामा हिटरको प्रयोग गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलैसँग फैलने र अक्सिजनको मात्रा घटाउन सक्ने उनले बताए।

‘लगातार बन्द कोठामा हिटर बाल्दा वातावरण सुख्खा हुने हुन्छ र अक्सिजन घटाउँछ भनिन्छ। त्यसैले कोरोना संक्रमितले हिटर बालेर बस्दा अक्सिजनको मात्रा घट्ने खतरा हुन्छ’ उनले भने।

बन्द कोठामा हिटर बाल्दा निम्तन सक्ने स्वास्थ्य समस्या
बन्द कोठामा हिटर बाल्दा अक्सिजनको कमी हुने, वातारणमा भएको आद्रता घटाउने, श्वास नलीको भित्रि भागमा हुने म्युकस लियरलाई सुख्खा बनाउने डा पंगेनी बताउँछन्।

म्युकस लियर सुख्खा हुँदा विभिन्न ब्याक्टेरिया तथा भाइरसहरु सिधै फोक्सोमा छिर्न सक्छ। लामो समय हिटर बाल्दा नाक सुख्खा तथा बन्द हुने, पिनास हुने समस्या पनि आउन सक्ने उनी बताउँछन्। उनका अनुसार म्युकस लियर सुन्नियो भने दम, ब्रोन्काइटिसका बिरामीको समस्या बढ्न सक्छ।

उनले भने, ‘हिटरमा बसिरह्यो भने नाक सुख्खा हुन्छ। राति सुत्दा नाक बन्द हुनुका साथै पिनासको समस्या देखिन सक्छ। म्युकस लियर सुन्नियो भयो भने श्वासप्रश्वास सम्बन्धी समस्या हुन सक्छ।’

हिटरको तापक्रमले निम्ताउने अर्को समस्या हो, खकारलाई सुख्खा बनाउने। डा पंगेनीका अनुसार सुख्खा खकार भए शरीर भित्रै खकार टाँसिने र निमोनिया हुने खतरा हुन्छ। खकार शरीरमा टाँसिर अक्सिजन नली समेत बन्द हुन सक्ने खतरा बढ्ने उनी बताउँछन्।

बन्द कोठामा आगो बाल्ने या हिटर ताप्दा कार्बन मोनोअक्साइड ग्याँस निस्कन्छ, जसले हाम्रो स्वास्थ्यलाई हानी पु¥याउँछ।

‘ग्याँस हिटरबाट कार्बन मोनोअक्साइड र म्याट्रोजन डाइअक्साइड ग्याँस निकाल्छ। बन्द कोठामा लामो समयसम्म हिटर बाल्दा अक्सिजनको कमी हुन्छ।’ उनले भने, ‘कार्बन मोनोअक्साइडले शरीरमा अक्सिजन छेकी दिन्छ र यो टाँसिन्छ। अक्सिजन हुनुपर्ने शरीरमा कार्बन मोनोअक्साइड हुँदा असर त गर्छ नै।’

बन्द कोठामा हिटर बाल्दा राति सुत्दा सत्दै शरीरमा अक्सिजनको मात्रा घट्न सक्छ। शरीरमा अक्सिजनको कमी हुँदा टाउको दुख्ने, शरीर झम्म हुने, बेहोस हुने र मृत्यु समेत हुन सक्ने उनले बताए। विशेषगरी दीर्घरोगी, गर्भवती, बालबालिका र ज्येष्ठ नागरिकले बढी सावधानी अपनाउनुपर्ने उनले बताए।

स्वास्थ्य समस्या देखिए तत्काल चिकित्सकसँग परामर्श गर्न उनको सुझाव छ। बन्द कोठामा धेरै जना बसेर रातभरी हिटरको प्रयोग गर्न हुँदैन। हिटरको प्रयोग गर्दा झ्याल र ढोका दुवै खुला राख्नुपर्छ। राम्रोसँग भेन्टिलेसन हुनु आवश्यक छ। सकेसम्म छोटो समयसम्म हिटरको प्रयोग गर्ने, रातभरी हिटर बालेर छाड्ने, हिटर नजिकै बस्न हुँदैन।

हिटर बाल्दा कोठाभित्र कुनै भाँडामा पानी राख्न सकिन्छ। यसो गर्दा पानीको बाफले हावाको आद्रता बढाउने र सुख्खा हुन नदिने उनी बताउँछन्। सकेसम्म हिटरको प्रयोग कम गर्नमा उनी जोड दिन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *