काठमाडौं उपत्यकामा कोरोनाको एन्टिजेन परीक्षण शुरु

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १७ मंसिर

सोमबारदेखि शुरु गरिएको कार्यक्रम अन्तर्गत पहिलो चरणमा उपत्यकाका ३ हजार व्यक्तिमा एन्टिजिन परीक्षण गरिने छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य निरीक्षक कोशलचन्द्र सुवेदीले काठमाडौं उपत्यका भित्रका बढी संक्रमण देखिएको ६ वटा वडामा ३ हजार नमुना लिएर परीक्षण गर्न लागिएको बताए।

मन्त्रालयबाट स्वीकृत भएअनुसार ५ सयभन्दा बढी संक्रमित भएका क्षेत्रमा एन्टिजिनमार्फत परीक्षण गरिनेछ। जसअनुसार सक्रिय संक्रमितको नजिकमा रहेकाको मात्रै परीक्षण गरिनेछ।

यो विधिअन्तर्गत पिसिआर परीक्षणका लागि नमुना लिए जस्तै गरी नाक वा घाँटीबाट स्वाब संकलन गरिने छ र किटमा राखेर आधा घण्टामै रिपोर्ट प्राप्त गर्न सकिने छ।

महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए)बाट प्रमाणित भइसकेकोले एन्टिजिन परीक्षणलाई विश्वसनीय मानिएको बताए।

नेपालमा अहिलेसम्म कोभिड संक्रमणको पहिचान गर्न पिसिआर विधि मात्र भएको अवस्थामा कम लागत र कम समयमा एन्टिजिन परीक्षण गर्न लागिएको हो। एन्टिजिन परीक्षण गरिसकेपछि पिसिआर परीक्षण गर्न नपर्ने पनि महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेको भनाइ छ।

पछिल्लो समय उपत्यकामा संक्रमण दर बढ्दै गएको छ। यस्तो अवस्थामा एकैपटक समुदायमा परीक्षण गर्नुपर्ने अवस्थामा एन्टिजिनमा आधारित परीक्षणलाई प्रयोग गरिने पनि महाशाखाको भनाई छ।

एन्टिजिन परीक्षण खासगरी समूहमा बसेर काम गर्ने क्षेत्रमा प्रयोग गरिने छ। मास स्क्रिनिङ, अस्पतालमा उपचाररत विरामीहरुको तत्काल रिपोर्ट आवश्यक पर्ने अवस्थामा, सफाइकर्मी, तरकारी बजार, कारागार, विभिन्न आवस गृह, सुरक्षाकर्मीमा एन्टिजिनको प्रयोग गरी परीक्षण गरिनेछ।

एन्टिजिन परीक्षणले शरीरमा भाइरसको जिनको अवस्थालाई पत्ता लगाई नतिजा दिन्छ। त्यसैले यसलाई पिसिआर बराबर विश्वसनीय भएको मानिएको निर्देशक पाण्डेको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *