भारतमा कोभिड–१९ संक्रमित ८० लाख नाघे, १ लाख २० हजार बढीको मृत्यु

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार स्वास्थ्य

भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या बिहीबारसम्ममा ८० लाख नाघेको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ८८१ जना नयाँ संक्रमित थपिएका छन् भने ५१७ जनाको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार कोभिड–१९ बाट संक्रमितमध्ये झण्डै ९१ प्रतिशत अर्थात् करिब ७३ लाख व्यक्ति संक्रमणमुक्त भएका छन्।

कोभिड–१९ को संक्रमणबाट हालसम्म १ लाख २० हजार ५२७ जनाको मृत्यु भएको छ। केही दिनदेखि नयाँ संक्रमित र मृत्यु दरमा निरन्तर कमी आएको भारतमा पछिल्लो पटक मृत्यु दरमा १.४९ प्रतिशतले कमी आएको छ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले कोरोनाभाइरस सक्रिय संक्रमित व्यक्तिको संख्या ६ लाख ४ हजारको हाराहारीमा रहेको जनाएको छ।

परिषदका अनुसार देशव्यापी कोरोना परीक्षण संख्या १० करोड ६५ लाख रहेको छ। पछिल्लो २४ घण्टामा मृत्यु भएकाहरुमा महाराष्ट्रका ९१, पश्चिम बंगालका ६०, छत्तिसगढ र कर्नाटकका ५५-५५, दिल्लीका ४०, तमिलनाडूका ३५ तथा केरलाका २७ जना रहेका छन ।

भारतमा कूल मृत्यु भएका १ लाख २० हजार ५२७ व्यक्तिमध्ये महाराष्ट्रका ४३ हजार ५५४, कर्नाटकका ११ हजार ४६, तमिलनाडूका ११ हजार १८, उत्तर प्रदेशका ६ हजार ९५८, आन्ध्र प्रदेशका ६ हजार ६४३, पश्चिम बंगालका ६ हजार ६६४, दिल्लीका ६ हजार ३९६, पञ्जाबका ४ हजार १५८ तथा गुजरातका ३ हजार ७०१ जना रहेका छन्।

भारतीय स्वास्थ्य मन्त्रालयले कूल मृत्यु भएका व्यक्तिमध्ये झण्डै ७० प्रतिशत व्यक्ति अन्य रोगबाट पीडित रहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *