आर्थिक मन्दीको प्रभावले नछुने जागिर 

अन्तर्राष्ट्रिय अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

एजेन्सी, ३१ असार

पछिल्लो समय दिनहुँजसो हामीहरू विश्वव्यापी आर्थिक मन्दी निम्तने चेतावनीहरू सुनिरहेका छौं । महँगी आकाशिने क्रम जारी छ । लगानीकर्ताहरू त्रस्त बन्दा शेयर बजार ओरालो लागेका छन् ।

कम्पनीहरूले धमाधम कर्मचारीलाई कामबाट निकालिरहेका छन् । धेरै कम्पनीले नयाँ कर्मचारी भर्ना रोकेका छन् । केहीले जब अफर नै खारेज गरिरहेका छन् । अनिश्चित विश्वव्यापी आर्थिक अवस्थालाई विचार गरेर अमेरिकी बहुराष्ट्रिय सर्च इञ्जिन कम्पनी गुगल इंकको मातृ कम्पनी अल्फाबेटले पनि सन् २०२३ सम्मै कर्मचारी भर्ना र लगानीको गति सुस्त बनाउने घोषणा गरेको छ ।

कोरोना भाइरसको महामारीका कारण चौपट बनेको श्रम बजारमा कयौं महीनायता रोजगारीको सम्भावना उच्च देखिएका थिए । तलब पनि बढिरहेको थियो । भन्नेबित्तिकै जागिर पाउने भएपछि अमेरिका, बेलायत लगायतका कयौं अर्थतन्त्रमा राजीनामा दिनेको लर्को नै देखिएको खबरहरू पनि आइरहेका थिए । तर, श्रम बजारको गत्यात्मकता अचानक फेरिएको छ ।

‘रोजगारीका सम्भावना आगामी महीना झनै खराब बन्नेछ,’ जोन्स हप्किन्स विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक लरेन्स बलले केही दिनअगाडि सीएनबीसीको मेक इटलाई भनेका थिए । अवस्था कतिसम्म खराब बन्छ भन्नेचाँहि अहिलेको मुख्य चिन्ता रहेको उनको भनाइ छ । तपाईं पनि अहिले भइरहेको जागिर छाडेर अर्को जागिर खोज्ने सुर कस्दै हुनुहुन्छ कि ?

आर्थिक मन्दीको प्रभाव नै नपर्ने उद्योगधन्दा भेट्न मुश्किल छ । तर, मन्दीको समयमा केहीमा प्रभाव कम पर्छ भने अरुमा निकै खराब । सन् २००७ देखि सन् २००९ को बीचमा महामन्दीको समयमा अमेरिकामा निर्माण र उत्पादन क्षेत्रका रोजगारीमा उल्लेख्य कमी आएका थिए । मन्दी निम्तिएको अवस्थामा सबैभन्दा मारमा पर्ने उद्योगहरू खुद्रा, रेष्टुराँ र होटल हुन् । यसबाहेक घरजग्गा, खेलकूद लगायत अन्य उद्योगमा पनि तीव्र कमी आउने गरेको पाइएको छ ।

मन्दीको समयमा मानिसहरूले अत्यावश्यकबाहेक अन्य खर्च कटौती गर्ने वा बन्द नै गर्ने, कार, नयाँ घरजस्ता महँगा वस्तुको खरिदारी थाँती राख्ने गर्दछन् । अब पनि मन्दी आयो भने शुरुमा घरजग्गा बजार, अटो उद्योगमा पनि यस्तै खालको प्रवृत्ति देखिनेछ । यस्तोमा बल र हार्वार्ड विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक एवम् अमेरिकी अर्थमन्त्रालयका पूर्वप्रमुख कारेन डायनानले आर्थिक मन्दीको समयमा रोजगारी सुरक्षा दिने केही ‘मन्दी–प्रुफ’ उद्योगको सूची बनाएका छन् ।

ब्याजदर वृद्धिमा हुने हेरफेरले धेरै असर नगर्ने अनि अर्थतन्त्र फस्टायो वा मन्दीमै गयो भने पनि मानिसहरूका अत्यावश्यक रहने सेवा दिने उद्योगहरूलाई उनीहरूले यसमा समावेश गरेका छन् । तीमध्ये केही निम्नानुसार छन् ।

स्वास्थ्य उपचार 

नेपालीमा एउटा उखान छ नि ‘सास रहुञ्जेल आश’ । आफूसँग एक सुक्को नभएको बेलामा बिरामी नै परियो भने अवस्था सुध्रन्छ कि भनेर हामीहरू एक-दुई दिन त कुर्छौं । तर, उपचार नै नगराइकन बस्नेको संख्या कम नै हुन्छ । आफूसँगै पैसा नभएको अवस्थामा हामीहरू ऋण नै लिएर भए पनि औषधिमुलो गर्छौं । त्यसैले मन्दीले स्वास्थ्य संस्थाका जागिरेहरूलाई अन्यत्रभन्दा कम असर गर्छ भन्छन् बल र डायनान ।

सरकारी जागिर 

मन्दी निम्तियो भने निजी क्षेत्रहरूले धमाधम रोजगारी कटौती गर्न थाल्छन् । तर, सरकारी क्षेत्रमा काम गर्ने कर्मचारीहरूको रोजगारी कटौती हुँदैन । यिनीहरूलाई पेन्सनदेखि रोजगारी सुरक्षासम्मको फाइदा हुन्छ । जस्तोसुकै मन्दीको अवस्थामा पनि सरकार चलाउनै पर्यो, कर्मचारी राख्नै पर्यो । सरकारले ऋण नै लिएर भने पनि कर्मचारीलाई तलब खुवाउने गरेको पाइन्छ ।

शिक्षा

कोरोना भाइरसको महामारीका समयमा नेपालमा निजी क्षेत्रका कयौं विद्यालयहरू बन्द भए । अनलाइन कक्षामा एउटै शिक्षकले सयौं विद्यार्थीलाई पढाउन सक्ने भए पनि शिक्षकको संख्यामा पनि कटौती भएको हामीले देखेका अनि भोगेका छौं । तर पनि शिक्षा कठिन समयमा जागिरका लागि स्थिर क्षेत्र हो भन्छन् बल ।

अमेरिकामा मन्दी आयो भने सीप तिखार्न र जागिर पाउने सम्भावना सुधार्न उच्च शिक्षाका लागि कलेजमा भर्ना हुने मानिसको संख्या बढ्ने अनि अमेरिकाका कलेज तथा विश्वविद्यालयभर कर्मचारीको माग बढ्ने अपेक्षा उनले गरेका छन् । श्रम बजारको अवस्था खराब बन्दै गयो भने मानिसहरू सानातिना काममा अल्झिनुभन्दा भविष्य सपार्न अध्ययनतिर लाग्ने उनको तर्क छ । सन् १९६० को दशकयताको हरेक मन्दीमा अमेरिकामा कलेज र विश्वविद्यालयमा विद्यार्थीको भर्ना दर बढ्ने गरेको तथ्यांकले देखाएका छन् ।

कम्प्युटर र सूचना प्रविधि

अहिलेको युग नै कप्युटर र सूचना प्रविधिको हो । अटोमेशनले गति लिने क्रमसँगै सबै खालको काम कम्प्युटर र सूचना प्रविधिसँग जोडिएका छन् । नेटवर्क, डेटाबेस, वेबसाइट र सञ्चार चौबिसैं घन्टा चाहिन्छ । कम्प्युटर सिष्टम विश्लेषक, नेटवर्क एड्मिन्ष्ट्रेटर, डेटा विश्लेषक, डेटाबेस इञ्जिनियर, प्रोग्रामर, डेभलपर, वेबसाइट डिजाइनर आदि यस्ता केही जागिर हुन् । मन्दीको समयमा लागत कम गर्न कम्पनीहरूले स्वचालनको प्रयोग बढाउँछन् यस्तोमा आईटी विज्ञहरूको आवश्यकता झनै धेरै हुन्छ ।

जागिर फेर्ने सुर भए/नभए पनि आफ्नो प्रतिस्पर्धी क्षमता सुधार गर्न र आफ्नो मूल्य बढाउन पनि पेशागत सीप सुधार्न जरुरी छ । रोजगारदाताहरूले खोजेको सीप सिक्ने र ती सीपको सही सदुपयोग गर्न सक्नु नै अप्ठयारो अवस्थामा जागिर जोगाउने उत्तम उपाय हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *