काठमाडौँ, २८ असोज
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेता चक्रप्रसाद बाँस्तोलाको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेको छ ।
बाँस्तोलाको पार्थिव शरीरमा सभापति देउवाले आइतवार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेको हो ।
बाँस्तोलाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अपराह्न १३ः३० देखि १६ः३० बजेसम्म पार्टी कार्यालय सानेपामा राखिएको थियो । बास्तोलाको शनिबार राति निधन भएको थियो ।
काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशाङ्क कोइराला, नेताहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, रामशरण महत र डा प्रकाशशरण महत लगायतका काङ्ग्रेसका नेताहरुले श्रद्धाञ्जली अर्पण गरे।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र महासचिव विष्णु पौडेल लगातयका नेताहरुले स्व.बाँस्तोलाप्रति श्रद्धाञ्जली अर्पण गरे।
विसं २०६९ पुसदेखि मस्तिष्कघात भई अर्धचेत अवस्थामा रहेका बाँस्तोलाको शनिबार राति निधन भएको थियो । उनका श्रीमती र दुई छोरी छन् । शनिबार नै उनको स्वास्थ्य अवस्था जटिल भएपछि उपचारका लागि बाँसबारीस्थित न्यूरो अस्पतालमा लगिएको थियो । तर उपचार सम्भव नभएपछि पुनःनिवासमा लगिएको थियो ।
स्व बाँस्तोलाको आइतवार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरियो । उनले पराराष्ट्र, कृषिलगायत मन्त्रालयका मन्त्री, नेकाका केन्द्रीय सदस्य एवं भारतका लागि नेपालका राजदूतसमेत रहेका छन्।
काँग्रेस उपसभापति निधिले नेता बाँस्तोलाको निधनले सिङ्गो देश, पार्टी र लोकतान्त्रिक आन्दोलनप्रति क्षति पुगेको बताए । युवा नेता प्रदीप पौडेलले स्व बाँस्तोलालाई लोकतान्त्रिक आन्दोलनको सेनानीका रुपमा चिन्न सकिने उनको भनाइ छ ।