गम्भीर कोरोना संक्रमितको उपचारका लागि २६०० आइसियु र ९०० भेन्टिलेटर

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २२ असाेज

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपचारका लागि छुट्याइएका अस्पतालका बेड भरिन थालेका छन्। संक्रमितको सख्या बढ्न थालेपछि गम्भीर खालका बिरामी पनि बढेका छन्।

पछिल्लो समय उपत्यकामा मात्र संक्रमितको संख्या औसत एक हजारका दरले बढीरहेको छ। हरेक दिन देखिने नयाँ संक्रमितमध्ये ५० प्रतिशत भन्दा बढी संक्रमण उपत्यकामा देखिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसको संक्रमण सुरु हुँदाको समयमा देशभर १ हजार ५५१ आइसियु र ७७० भेन्टिलेटर थिए। संक्रमण बढ्दै गएपछि सरकारले कोरोना संक्रमितका लागि भन्दै आइसियु र भेन्टिलेटर थपेको जनाएको छ।

मन्त्रालयको तथ्यांक अनुसार गत चैतदेखि हालसम्ममा कोरोना उपचारका लागि भन्दै १ हजार ४९ आइसियु बेड र १३० भेन्टिलेटर थप भएको छ।

योसँग देशभर अहिले २ हजार ६ सय आइसियु र ९०० भेन्टिलेटर रहेको मन्त्रालयको भनाई छ। त्यस्तै २० हजार ७६५ आइसोलेसन बेड रहेको छ।

यसबाहेक देशभरका मेडिकल कलेजमा ७०० आइसियु वेड, २३८ भेन्टिलेटर र ४५८ जना तालिम प्राप्त स्वास्थ्यकर्मी रहेको मन्त्रालयले जानकारी दिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा एक महिना अघिसम्म संक्रमितमध्ये ९९ प्रतिशतमा लक्षण थिएन। तर त्यसयता भने धेरै जना संक्रमितको लक्षण देखिन थालेको छ।

कोरोना संक्रमितको उपचारका लागि तोकिएका उपत्यकाका १० सरकारी अस्पतालमा २ हजार ८६८ जनरल बेड, ३५१ आइसोलेसन बेड, १६३ आइसियु बेड र ८७ भेन्टिलेटर रहेकोमा अधिकांश बेड भरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

सरकारले कोरोना संक्रमितको संख्या बढ्न सक्ने अनुमान गर्दै स्वास्थ्यका संरचना थप गरेको जनाएको छ।

उपत्यकाका निजी अस्पताल र मेडिकल कलेजहरुमा ३ हजार ५०३ जनरल बेड, १९४ आइसोलेसन, २९१ आइसियु बेड मात्र कोरोना उपचारका लागि छुट्याइएको छ। यी अस्पतालमा १३६ भेन्टिलेटर छन्।

२५ हजारबढी सक्रिय कोरोना संक्रमितको संख्या भए धान्न नसक्ने मन्त्रालयले यसअघि भनिसकेको छ।

मन्त्रालयले अस्पतालमा बेड अभाव हुन र स्वास्थ्य जनशक्तिले धान्न नसक्ने भन्दै लकडाउन गर्न सिफारिस गरिसकेको छ।

देशभर बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर २७० जना व्यक्तिको आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको छ।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १२७ जना आइसियु र २५ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन्।

प्रदेश ५ मा ४१ जना आइसियु र ६ जना भेन्टिलेटरमा, प्रदेश १ मा  २७ जना आइसियु र ४ जना भेन्टिलेटरमा र प्रदेश २ मा १४ आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा १ जना आइसियु गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा १७ आइसियुमा उपचाररत रहेका छन्।

लक्षण भएका र गम्भीर किसिमका बिरामीलाई सघन उपचार कक्षमा र भेन्टिलेटरमा राखि उपचार गर्नुपर्ने हुन्छ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार स्वास्थ्यका मापदण्ड राम्ररी पालना नहुँदा संक्रमण बढ्दै गइरहेको छ। ‘हामीले करिब ७ महिनादेखि कोरोना संक्रमणबाट बच्ने उपायबारे भन्दै आएको छौँ,’ उनले भने, ‘सबैलाई जानकारी पनि छ। तर त्यसको प्रभावकारी पालना नहुँदा समस्या बढिरहेको छ।’

उनले कोभिडभन्दा पहिलेको झैं स्थिति नभएकाले सबैलाई अत्यावश्यक बाहेकका काममा घर बाहिर ननिस्कन, सामाजिक दूरी कायम राख्न, मास्क प्रयोग गर्न र हातको सरसफाइमा ध्यान दिन आग्रह गरेका छन्।

नेपालमा कोरोना भाइरसको संक्रमण देखिन थालेको झण्डै ८ महिना भइसकेको छ। तर, मन्त्रालयको तर्फबाट यो अवधिमा जुन रुपमा यस तर्फ तयारी गर्नुपर्ने हो त्यो भने हुन सकेको छैन।

‘आइसियु, भेन्टिलेटर रातारात थप्न सकिने कुरा होइन। त्यसका लागि समय लाग्छ। हामीले पहिलेभन्दा धेरै क्षमता बढाएका छौँ,’ सहप्रवक्ता अधिकारीले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *