विश्व पर्यटन दिवसको अवसरमा २० जना सांस्कृतिक गुरुहरु सम्मानित

कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर,१३ असोज


विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर नगरपालिकाकाले नगरका २० जना सांस्कृतिक गुरुहरुलाई सम्मान गरेको छ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा सांस्कृतिक गुरुहरुलाई सम्मान तथा स्थानीय पथप्रदर्शकहरुलाई प्रमाण–पत्र वितरण कार्यक्रम सोमबार सम्पन्न भयो ।

कार्यक्रममा अध्यक्ष बिजुक्छेँले सांस्कृतिक गुरुहरुको ज्ञान, विवेक र सीप नयाँ पुस्तामा पुस्तान्तरण गर्नुपर्नेमा जोड दिँदै भक्तपुरको कला, संस्कृति र भाषा स्थानीय व्यक्तिहरुलाई सिकाउँदै लानुपर्ने बताए । नयाँ तथा आधुनिक घर निर्माण गर्दा पुर्‍याउनुपर्ने सावधानीबारे जनतालाई सचेत पार्नुपर्ने बताउँदै अध्यक्ष बिजुक्छेँले नगरबासीहरुलाई नक्साबमोजिम घर निर्माण गराउनेतर्फ नगरपालिकाले जोड दिनुपर्ने बताए ।

राजनीतिक अस्थिरताका कारण नयाँ पुस्तामा राजनीतिप्रति वितृष्णा देखिनु चिन्ताजनक भएको औंल्याउँदै उनले राजनीतिशास्त्र, इतिहास, भूगोल र संस्कृतिजस्ता विषयको महत्वबारे विद्यार्थीहरुलाई जानकार गराउनुपर्ने र सरकारले यस्ता महत्वपूर्ण विषय अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिएर अध्ययन अध्यापनमा जोड दिनुपर्ने जानकारी दिए ।

कार्यक्रमका सभापति एवम् भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले कला र संस्कृति संरक्षणका विभिन्न विधाका स्थानीय सांस्कृतिक गुरुहरुको सम्मानलाई निरन्तरता दिँदै आएको बताए ।

प्रमुख प्रजापतिले भूकम्पबाट क्षतिग्रस्त सांस्कृतिक एवम् ऐतिहासिक सम्पदा पुनःनिर्माणका कार्य करिब करिब अन्तिम चरणमा पुगिसकेको बताउँदै भक्तपुर नगरपालिकाप्रति जनताको साथ र सहयोग रहेका कारण स्वाभिमानीपूर्वक अगाडि बढ्न मद्दत पुगेको बताए ।

भक्तपुर नपाले गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई शैक्षिक ऋणको व्यवस्था गर्नुका साथै इतिहास, भूगोल, राजनीतिशास्त्रलगायतका विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गर्दै आइरहेको बताउँदै विभिन्न कालखण्डमा नेपालबाट हराएका वा चोरी भएका मूर्तिहरु फिर्ता गर्न आवश्यक पहल गरिरहेको बताए । कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले गुरुहरुप्रति आदर प्रकट गर्दै नपाले आयोजना गरेको सम्मान कार्यक्रम प्रशंसनीय भएको बताए ।

मौलिक भाषा, कला र संस्कृति संरक्षण गर्दै नयाँ पुस्तालाई आवश्यकताबोध गराउनु आजको आवश्यकता रहेको औंल्याउँदै सांसद गोसाईंले हाम्रो संस्कृतिलाई जीवन्त बनाउँदै लानुपर्ने र आफ्नो विधाको सीप र ज्ञानलाई लिपिबद्ध गर्न सके हाम्रो कला र संस्कृति संरक्षण हुँदै जाने बताए ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले कोभिड महामारीका कारण भक्तपुर नगरपालिकामा पर्यटन शुल्कबाट हुने आम्दानी झण्डै शून्यमा झरेको बताउँदै नगरबासीको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै नगरपालिकाले सुविधासम्पन्न ख्वप अस्पताल निर्माण गरिरहेको बताए । संस्कृतिविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले नेपाल मण्डलको अन्य सहरले भन्दा भक्तपुरले सांस्कृतिक गरिमा कायम गर्दै आएको धारणा राखे । भक्तपुरलाई खुला आकासमुनिको खुला संग्रहालयको रुपमा चित्रण गर्दै उनले विश्वविद्यालयहरुमा संस्कृति विषय अध्ययन गर्ने विद्यार्थीहरुको संख्या घट्नुमा चिन्ता प्रकट गरे । उनले पथ प्रदर्शकहरुले भक्तपुरका सम्पदाहरुबारे पत्ता लागेको नयाँ नयाँ तथ्य पर्यटकहरुमाझ वैज्ञानिक ढंगले प्रस्तुत गरी संसारसामु भक्तपुरलाई जोड्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले सांस्कृतिक गुरुहरुलाई रु.१५,०००।– नगदसहित प्रशंसा पत्र प्रदान गरे । साथै सांस्कृतिक गुरुहरुलाई प्रमुख प्रजापतिले दोसल्ला ओढाएका थिए भने उपप्रमुख जोशीले सांस्कृतिक गुरुहरुलाई फूलमाला लगाइ दिए । बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँले विश्व पर्यटन दिवसको अवसरमा आयोजित टुर गाईड तालिमका सहभागी स्थानीय पथ प्रदर्शकहरुलाई प्रमाणपत्र वितरण गरेको थियो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले भने सम्मानित सांस्कृतिक गुरुहरुको संक्षिप्त परिचय प्रस्तुत गरेको थियो ।

सम्मानित सांस्कृतिक गुरुहरुमा भनपा वडा नं. १ का गोविन्द भुजु र विकुबहादुर दुवाल, वडा नं. २ का विष्णुभक्त सुवाल र लक्ष्मीभक्त कुस्मा, भनपा ३ का लक्ष्मीप्रसाद मानन्धर र गणेशबहादुर त्वायना, भनपा ४ का मंगलाल ग्वाछा र लक्ष्मीभक्त घेमोसु, भनपा ५ का रामलाल माक र रत्नभक्त ध्वजु, भनपा ६ का विष्णु सुवाल र विष्णुभक्त सिजख्व, भनपा ७ का दिलबहादुर त्यात र इन्द्रबहादुर लाखा, भनपा ८ का बुद्धिसागर प्रजापति र रामभक्त गणेजु श्रेष्ठ, भनपा ९ का विष्णुभक्त कुसी र मानबहादुर चोलेखो, भनपा १० का हरिभक्त मगजु र शिवभक्त वनमाला रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *