‘लकडाउन’ एक महिना पार : संक्रमणको जोखिम बढ्दो, लकडाउन आंशिक खुकुलो बनाउने सरकारको तयारी

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडौं, १२ बैशाख

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउनको आज एक महिना पार गरेको छ । ३१ औं दिनसम्मको यो अवधिमा केही उल्लंघनका घटनाबाहेक जनताले सरकारलाई अभुतपूर्व रुपमा साथ दिएको देखिन्छ । एक महिना बढी घरभित्रै बसेका अधिकांश जनताको अहिलेको सबैभन्दा प्रमुख चासो र चिन्ताको विषय लकडाउन कहिले खुल्छ ? भन्ने रहेको छ । विगत एक महिनादेखि लकडाउनका कारण काठमाडौं उपत्यकालगायत मुलुकका मुख्य शहर सुनसान छन् ।

सरकारले घोषणा गरेको लकडाउनको अवधि मंगलबारमात्र मन्त्रिपरिषद बैठकले बैशाख १५ सम्मका लागि बढाएको छ । पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या थप बढिरहेको छ । मंगलबारमात्र एकैपटक ठूलोमात्रामा संक्रमित थपिएसँगै संक्रमितको संख्या ४५ पुगेको छ । पछिल्लो समय संक्रमितको संख्या थपिएपछि जनमानसमा त्रास उत्पन्न भएको छ भने संक्रमित मध्ये ७ जना निको भएर घर फर्किएसँगै केही आशा पनि जागेको छ । अर्थतन्त्र चलायमान बनाउन जोखिमको आधारमा केही क्षेत्रमा खुकुलो बनाउने तयारी अर्थ मन्त्रालयले गरिरहेको बताइएको छ । यसमा नेपाल राष्ट्र बैकले कमिटी गठन गरेर सुझाव संकलनसमेत गरिरहेको छ । लकडाउन लामो समयसम्म रहँदा कारणका सर्वसाधारणलाई समस्या भएको छ । यसैबीच सोामबार सरकारले अकस्मात दुई अध्यादेश ल्याएसँगै राजनीतक वृत्तमा खैलाबैला मच्चिएको छ । देश कोरोना संक्रमणको महामारीसँग एक भएर जुध्नुपर्ने वर्तमा सन्दर्भमा सरकारले ल्याएको दल बिभाजन गर्न सहज बनाउने र संबैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएर राजनीतिक अस्थिरतातर्फ देशलाई धकेलेको छ । यस्तोमा लकडाउनका कारण जनताहरु घरभित्रै बसेर परिवर्तित राजनीतिक परिदृश्य अवलोकन गरिरहेका छन् ।

घरमै बसेर लकडाउनको पालना गर्दा संक्रमण नफैलिने नीति अनुसार सरकारले लकडाउन गरे पनि त्यसलाई उल्लंघन गर्नेहरु पनि उल्लेख्य छन् । शुक्रबारमात्रै कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धमा उच्चस्तरीय समितिसँग छलफल गर्दै प्रधानमन्त्रीले लकडाउनमा थप कडाई गर्न र जो जहाँ समस्यामा परेको छ त्यही राहत उपलब्ध गराउन निर्देशन दिएका छन् । यसअघि नै समितिले यसअघि नै संक्रमण फैलिन नदिन लकडाउनलाई प्रभावकारी बनाउन अनावश्यक आवागमन गर्नेलाई ‘संक्रमण रोग ऐन–२०२०’ अनुसार थुनामा राख्ने सम्मको कारबाही गरिने निर्णय गरेको छ । यससँगै अहिले प्रहरी देशैभर एकसनमा आएको छ । काठमाडौंलगायतका केही शहरमा लकडाउन पालना गराउने निहुँमा प्रहरी दमनामा उत्रेको भन्दै आलोचना पनि भइरहेको छ । संक्रमितको संख्या बढदैं गइरहेको अवस्थामा धेरै सर्वसाधारणहरु मानसिक रुपमा पनि लकडाउनका लागि तयार भएको देखिएपनि केही भने लकडाउन उल्लंघनमा दिनहुँ पक्राउ पर्दै आएका छन् । गत चैत ११ गतेदेखि लकडाउन निरन्तर चलिरहेको छ । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गर्दागर्दै पनि कतिपयले भने अटेरी गर्दै नियम उल्लंघन गरिरहेका छन् । लकडाउन उल्लंघन गर्नेहरुलाई प्रहरीले दिनहुँ पक्राउ गर्दै आएको छ । प्रहरीले अत्यावश्यक बाहेकका कामका लागि गाडी चलाएको पाइए चालकलाई फर्काएर बेलुकीमात्रै गाडी छाड्ने गरेको छ । पछिल्लो समय लकडाउन उल्लंघनकर्ता बढ्दा प्रहरीलाई सकस परेको छ । प्रहरीले लकडाउन उल्लंघन गर्ने सयौ सवारीलाई समेत पक्राउ गरेको छ । लकडाउनका कारण अहिले देशभर सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स, अत्यावश्यक र जिल्ला प्रशासनबाट अनुमति लिएका गाडी मात्र चलिरहेका छन् । अरु गाडी चलाउन र अत्यावश्यक नपरि हिँडडुलमा पनि रोक लगाइएको छ । लकडाउनको अवधिमा अत्यावश्यक बाहेकका काममा हिँडडुल गर्नेलाई प्रहरीले कारबाही गर्ने गरेको छ ।

लकडाउन तोड्दै सवारी चलाउने भने बढेका छन् । त्यतिमात्र होइन बिना काम घरबाहिर निस्केर पक्राउ पर्ने पनि धेरै छन् । प्रहरीले त्यसरी नियन्त्रणमा लिएकाहरूलाई ठाउँको ठाउँ ३ घण्टासम्म ‘होल्ड’ गरेर पठाउने गरेको छ । यस अवधिमा प्रहरीले अत्यावश्यक काममा मात्रै घरबाहिर निस्किन आग्रह गरेको छ । औषधी उपचारदेखि खाद्यन्न सकिएको अवस्थालाई अत्यावश्यक काम भनिएको छ । त्यस्तो अवस्थामा प्रहरीको टोल फ्रि नम्बर १०० वा ड्युटीमा खटिएका प्रहरीका कमाण्डरलाई थाहा दिएर जान सकिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । लम्बिदो लकडाउनका कारण दैनिक ज्यालादारी र श्रममा बाँचिरहेका सर्वसाधारणलाई दैनिकी चलाउन निकै समस्या परेको छ । विशेष गरि बाहिरी जिल्लाबाट काठमाडौंमा आएर काम गरिरहेकाहरु अहिले निकै सकसमा रहेका छन् । सरकारी राहत वितरण चुस्त, दुरुस्त र उपयुत्त, ढंगले नहुँदा हजारौं सर्वसाधारण भोकभोकै बस्नुपर्ने अवस्थामा पुगेको भन्दै दिनहुँ पैदलै हिंडेर काठमाडौं छाडिरहेका छन् । धेरैजसो मुख्य सडकमा आवतजावत ठप्प छ भने भित्रि सडकमा सामान्य चहलपहल छ । प्रहरीले घर बाहिर ननिस्किन तथा उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । उल्लंख बढ्दै गएपछि सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ ।

सरकारले कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थामा लकडाउनलाई थप कडा रूपमा लागू गर्दै घरमै बस्न सरकारले अपिलसमेत गरेको छ । सरकारले पछिल्लो पटक एक प्रदेशबाट अर्को प्रदेशमा, एक जिल्लाबाट अर्को जिल्लामा र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हुने आवागमनमा पनि रोक लगाएको थियो ।

Read more at: http://www.bizkhabar.com/special/75319.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *