कहिले र कसरी प्रयोग गर्ने मास्क? – यसो भन्छ वैज्ञानिक अनुसन्धान

विचार समाचार स्वास्थ्य

न्यूज अपडेट

नरेश पोख्रेल

सन् २०१९ को अन्तिम महिनामा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड-१९) नामक नयाँ कोरोना भाइरसले विश्वभर गम्भीर निमोनिया र श्वासप्रश्वासको रोग निम्त्याउन सुरु गर्यो। यो भाइरसको महामारी अहिले सारा विश्वलाई टाउको दुखाइको विषय बनेको छ।

यो रोग सार्स-कोभ-२ नामक भाइरसको कारणले लाग्ने गर्दछ। कोरोना भाइरस महामारी फैलिनबाट बच्न, बचाउन, रोग नियन्त्रण गर्न कम्तीमा २० सेकेन्ड साबुनपानीले हात धुने वा ह्यान्ड स्यानिटाइजर प्रयोग गर्न सकिन्छ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका बिरामी र बिरामीले मास्क लगाउनु पर्छ भनेको छ। महामारी फैलिएसँगै वुहान र अन्य सहरका मानिसहरूमा पनि आफ्नो सुरक्षाको लागि मास्क लगाउनेको होडबाजी नै चल्यो। तर के साँच्चै फेस मास्कले कोरोना भाइरस संक्रामक रोक्न मद्दत गर्छ? यस विषयमा फरकफरक अनुसन्धानहरु भएका छन्।

सामान्यतयाः चिकित्सा क्षेत्रमा हामीले प्रयोग गर्ने मास्क दुई प्रकारका छन्ः
१. सर्जिकल मास्कः जुन तपाईंको मुख र नाकको अगाडि सजिलै फिट हुन्छ। यस्तो मास्क सबैभन्दा उपायोगी त्यतिखेर हुन्छ जब तपाईंको वरिपरि कोही खोकी लागेको व्यक्ति हुन्छन्। स्वस्थ मानिसहले पनि मास्क लगाउँदा वास्तवमा भाइरस संक्रमित हुनबाट बच्न सकिन्छ भन्ने हुँदैन।

२. एन-९५ मास्कः यो मास्क मुख र नाक वरिपरि कडा फिट हुन्छ। एन-९५ मास्कले स्वास्थ्यकर्मीलाई केही हदसम्म वायुजनित र थोपाका कणबाट संक्रमित हुनबाट बचाउँछ। त्यसले बाहिर जाने(आउने वायुजनित कणहरू रोक्न मद्दत गर्छ। त्यसैले अस्पतालका स्वास्थ्यकर्मी जो कोभिड-१९ का बिरामी तथा अन्य बिरामीसँग धेरै नजिक सम्पर्कमा हुन्छन्, उनीहरुका लागि यो एकदम महत्वपूर्ण हुन्छ।

कोभिड-१९ महामारीको बेला मास्क लगाउने बारेमा अध्ययनले के भन्छ?
हामीलाई थाहा छ, नयाँ कोरोना भाइरस लक्षणबिना पनि  मानिसमा फैलिन सक्छ र ती लक्षणहरू कहिलेकाहीं ५ दिन दिनपछि मात्र विकसित हुन्छन्। यदि तपाईं कुनै भीडभाड भएको ठाउँमा जानुभयो र त्यहाँ रोगको उच्च जोखिममा रहेका व्यक्ति छन् भने मास्क लगाउन आवश्यक हुन्छ।

अहिले स्वास्थ्यकर्मीलाई आफ्नो सुरक्षाको लागि  मास्कको अत्यन्तै आवश्यकता छ। यस्तो अवस्थामा स्वस्थ व्यक्ति आफ्नो घरघरमा बसेर पनि मद्दत गर्न सक्छन्।

हावाबाट सर्ने रोगहरू अथवा रोगलाई निम्त्याउने भाइरस कसरी एक व्यक्तिबाट अर्को व्यक्तिमा थोपाबाट फैलिन्छ, यो पनि एक जटिल अनि महत्वपूर्ण विषय हो।

अनुसन्धान अनुसार ड्रपलेटको आकार हेर्ने हो भने यसलाई दुई ठूला भागमा विभाजन गर्न सकिन्छः 
१. ड्रपलेट १० माइक्रोमिटर भन्दा कम जसलाई ‘एरोसोल’ भनिन्छ।
२. ड्रपलेट १० माइक्रोमिटर भन्दा बढी जसलाई ‘स्प्रे ड्रपलेट’ भनिन्छ।

ड्रपलेटको आकार ठूलो पनि हुन्छ, जुन हाम्रो आँखाले सजिलै देख्न सकिन्छ। खोक्दा वा छिँक लाग्दा ड्रपलेट ६ मिटर टाढासम्म पुग्न सक्छ। केवल १० माइक्रोमिटर भन्दा कम आकारका मात्र एल्भोलर सेलहरूसम्म पुग्न सक्छन्। यसको विपरीत ठूला स्प्रे ड्रप्टहरू नाक र घाँटीमा अड्कन्छन्।

अनुसन्धानका अनुसार एन-९५ मास्कले वास्तवमा ९९ प्रतिशत कणहरू फिल्टर गर्छ, त्यसैले पनि १०० गुणा एरोसोलको लोड घटाउँछ। जसमध्ये सर्जिकल मास्कले मात्र ४ गुणा एरोसोलको लोड घटाउँछ।

एन-९५ मास्क सानासाना कणहरू फिल्टर गर्नका लागि डिजाइन गरिएको हो, जसले सानासाना कणहरू रोक्न मद्दत गर्दछ।

निश्चित रूपमा सर्जिकल मास्क अनुचित रुपमा लगाइएमा एन-९५ मास्कले पनि पूर्ण सुरक्षा प्रदान गर्दैन, तर सुरक्षित छैन भनेको मतलब ‘पूर्ण बेकार’ चाहिँ हुँदैन। एन-९५ मास्कले ९५ प्रतिशत ड्रोपलेट्स ०.३ माइक्रोमिटर भन्दा सानो कणहरू फिल्टर गर्छ। यस अर्थमा पनि सर्जिकल मास्क भन्दा एन-९५ मास्क फरक छ।

यसैबीच ठूलोठूलो ड्रपलेटलाई चाहिँ सर्जिकल मास्क अथवा कपडाको मास्कले केहीहदसम्म रोक्न सक्छ। सानो एरोसोलको सम्बन्धमा सर्जिकल मास्कले गर्ने आंशिक फिल्टरिंग पनि त्यत्तिकै महत्वपूर्ण हो।

निम्न तरिकले पनि आफूलाई र अरुलाई कोरोना  भाइरसबाट बचाउन सकिन्छः
– कम्तीमा २० सेकेन्डसम्म हात धुनुहोस।
– शौचालयको प्रयोग गरेपछि हात धुनुहोस।
– प्रकोपको क्षेत्र सकेसम्म नजानुहोस।
– संक्रमित व्यक्तिहरूसँगको घनिष्ठ सम्पर्कबाट टाढा रहनुहोस।
– सबैले बारम्बार छुने वस्तुहरू छोएपछि ह्यान्ड स्यानिटाइजरको प्रयोग गर्नुहोस् अथवा ह्यान्ड स्यानिटाइजर उपलब्ध छैन भने हात धुनुहोस।
– मासु र अण्डालाई राम्रोसँग पकाएर मात्र खाने गर्नुहोस।
– बिरामी भएको बेला घरमै बस्नुहोस।
– जब खोकी वा छिँक आउँछ, मुखलाई टिस्यु पेपरले छोप्नुहोस।
– सामाजिक दूरी कम्तीमा १ मिटर कायम राख्नुहोस।
– यदि तपाईंलाई ज्वरो, खोकी र श्वास फेर्न गाह्रो छ भने चाँडै चिकित्सकीय उपचार लिनुहोस।

कोरोना भाइरसबाट जोगिन मास्क कसरी लगाउने?
– मास्क लगाउनुअघि ह्यान्ड स्यानिटाइजर प्रयोग गर्नुहोस अथवा राम्रोसँग साबुन र पानीले हातहरू धुनुहोस।
– मुख र नाक मास्कले ढाक्नुहोस् र अनुहार र मास्कको बीचमा कुनै खाली ठाउँ नरख्नुहोस।
– मास्कको प्रयोग गर्दा बीचबीचमा त्यसलाई नछुनुहोस।
– सकेसम्म मास्कलाई पुनःप्रयोग नगर्नुहोस।
– मास्क हटाउँदा पछाडिबाट हटाउनुहोस (मास्कको अगाडि नछुनुहोस)। हटाइसकेपछि राम्रोसँग साबुन र पानीले हात धुनुहोस।

-(पोख्रेल मोडेर्न डायग्नोस्टिक सेन्टर नेपाल प्रालिका क्लिनिकल ल्याब इन्चार्ज हुन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *