झोलामा लाइसेन्स बोकेर हिँड्ने ५० ग्यास उद्योगको अनुमतिपत्र खारेज

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ७ बैशाख

झोलामा लाइसेन्स बोकेर हिँड्ने ५० ग्यास उद्योगको अनुमतिपत्र खारेज

नेपाल आयल निगमले अनुमतिपत्र लिने तर ग्यास उत्पादन नगर्ने ५० उद्योगको अनुमतिपत्र खारेज गरेको छ । २०७१ माघ १४ गतेपछि ५३ ग्यास उद्योगले नयाँ तथा शाखा उद्योग सञ्चालन गर्नेभन्दै अनुमतिपत्र लिएका थिए । निगमले आफूलाई सम्पर्क गर्न आग्रह गर्दा पनि उनीहरु सम्पर्कमा नआएपछि वैशाख ७ गतेदेखि खारेजीमा परेका हुन् ।

यी कम्पनीहरुले निगमबाट ग्यास उद्योग निर्माण गरि सञ्चालन गर्न अनुमति लिने तर उद्योग निर्माण गरेका थिएनन् ।

यसैगरी अर्काथरीले उद्योग विभागमा ग्यास उद्योग दर्ताको लागि निवेदन दिने र उद्योग विभागबाट निगमसँग राय प्रतिकृया माग्दा उनीहरु सम्पर्कमा नआएको निगमले जनाएको छ ।

यसरी लाइसेन्स लिने तर उद्योग स्थापना नगर्दा अनुमतिपत्र किनबेचजस्ता काम हुने गरेको थियो ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले बाह्रखरीसँग भने, “त्यसो गर्नाले हामीलाई एलपी ग्यास उद्योगको व्यवस्थापनमा समस्या आएको थियो ।”

यसरी लाइसेन्स झोलामा बोकेर हिँड्ने तर ग्यास उत्पादन नगर्ने गर्दा निगमलाई अनुमान लगाउन मुस्किल भएको उनको दाबी छ । पौडेलले भने, “पेट्रोलियम क्षेत्रमा पनि अन्य क्षेत्रमा झैं झोलामा लाइसेन्स बोकेर हिँड्ने धेरै छन् । ती मध्ये ग्यास उद्योगीको लाइसेन्स खारेज गरेका छौं ।”

निगमका अनुसार २०७१ माघ १४ पश्चात निगमबाट स्वीकृति प्रदान गरिएका नयाँ उद्योगहरु, शाखा उद्योगहरु र उद्योग विभागबाट उद्योग सञ्चालन सम्बन्धी राय र प्रतिक्रिया माग गर्दा तोकेको समय सिमाभित्र पीडीओ प्राप्तिका लागि नआएकोले उनीहरुलाई खारेजी गरिएको हो ।

पौडेलले भने, “झोलामा अनुमतिपत्र बोकेर हिँड्ने सबै उद्योगको अनुमतिपत्र, निर्माण तथा सैद्धान्तिक सहमति समेत खारेज गरेका छौं ।”

निगमले वास्तविक उद्योगको पहिचान गर्न तीनपटक सूचना जारी गरेर प्रोडक्ट डेलिभरी अर्डर लिन आह्वान गरेको थियो ।

पुस ८ गते, १० गते र १३ गते सूचना प्रकाशित गर्दा लाइसेन्स लिएर स्थापना नभएका ५३ मध्ये ३ वटा उद्योगले मात्र निर्माण सम्पन्न गरी पीडीओ प्राप्तिका लागि निगमको सम्पर्कमा आएका थिए ।

५३ मध्ये १२ उद्योगले शाखा खोल्न लिएका अनुमतिपत्र हुन् ।

निगमको सम्पर्कमा आएका ३ मध्ये एउटा मात्र शाखा उद्योग खोल्न अनुमतिपत्र लिएको उद्योग छ । निगमका अनुसार अत्तरिया, कैलालीमा उद्योग खोल्ने भनेर अनुमतिपत्र लिएको सैपाल ग्यास, धुनिवेसी, धादिङमा उद्योग खोल्ने भनेको सिता ग्यासमात्र सम्पर्कमा आएका छन् । यसैगरी नवलपरासीको रामग्राममा शाखा खोल्ने भनेको सगरमाथा ग्यास पनि सम्पर्कमा आएको छ ।

अहिले ग्यास उत्पादन गर्ने कम्पनीहरु कोशी ग्यास, लुम्बिनी ग्यास, नारायणी ग्यास, नेपाल ग्यास, नोबेल ग्यास, राजधानी ग्यास, सहारा ग्यास, सुगम ग्यास, भेरी ग्यासलगायतले पनि शाखा खोल्ने भनेर लाइसेन्स लिएका थिए । ती कम्पनीहरुले शाखाका लागि पीडीओ नलिँदा उनीहरुको शाखा उद्योगको अनुमतिपत्र समेत खारेज भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *