कस्तो छ नेपालमा भेटिएका ९ जना कोरोना संक्रमितको स्वास्थ्य?

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

शनिबार एकैदिन कोरोनाका तीन जना नयाँ संक्रमित भेटिए। नेपालमा कोरोना देखिएपछि एकैपटक तीन जना संक्रमित भेटिएको यो पहिलो पटक हो। तीनमध्ये एकमा त स्थानीय संक्रमण पुष्टि भएको छ।

यी दुवै घटना नेपालमा पहिलो पटक नै भएको हो। यो सँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९ पुगेको छ। यद्यपि चीनबाट नेपाल फर्किएका पहिलो संक्रमित उपचारपछि निको भइसकेका छन्।

नेपालमा माघ १० गते पहिलो पटक कोरोना संक्रमित भेटिएको थियो। त्यसको ठिक दुई महिनापछि चैत १० गते दोस्रो संक्रमित भेटियो। यी दुवै संक्रमित बारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो।

दोस्रो संक्रमित चैत ४ गते कतार एयरको क्युआर ६५२ को फ्लाइबाट नेपाल आएकी थिइन्। संक्रमित १९ वर्षीया युवती काठमाडौंकी हुन्। उनी हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भई उपचारत छिन्। अस्पतालको अनुसार उनको स्वास्थ्य अवस्था सामान्य छ।

चैत १२ गते तेस्रो संक्रमित भेटिएको थियो। उनी युनाइटेड अरब इमिरेट्स (युएई) बाट आएका धादिङका ३२ वर्षीय नेपाली पुरुष हुन्। उनी पनि टेकु अस्पतालमा उपचारत छन्। चैत ६ गते नेपाल फर्किएका उनी चैत १० गते अस्पताल भर्ना भएका थिए।

उनी चैत १० गते सोमबार अस्पताल भर्ना भएपनि मंगलबार राति रिपोर्ट आएको थियो र १२ गते बुधबार दिउँसो सार्वजनिक गरिएको थियो। उनी एयर अरबियाको फ्लाइट नम्बर जि ९५३७ बाट युएईको सारजहाँ विमानस्थलबाट नेपाल आएको मन्त्रालयले जनाएको छ।

उनको पनि स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ।

त्यसको दुई दिनपछि १४ गते चौथो संक्रमित भेटिए। उनी धनगढीका ३४ वर्षीय पुरुष हुन्। मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार ती व्यक्ति चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए। ती युवक संयुक्त अरब इमिरेट्स दुबईबाट नेपाल फर्किएका हुन्। उनको स्वास्थ्य अवस्था पनि सामान्य छ ।

पाँचौ संक्रमित त्यसको भोलिपल्टै भेटिएका थिए। १९ वर्षकी युवतीमा संक्रमण भेटिएको हो। बागलुङकी संक्रमित युवती पनि कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएकी हुन्। अर्थात् दोस्रो र पाँचौ संक्रमित युवती एउटै जहाजबाट नेपाल आएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पाँचौ संक्रमित बेल्जियमबाट कतार हुँदै र दोस्रो फ्रान्सबाट कतार हुँदै नेपाल आएकी थिइन्। उनको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

उनको स्वास्थ्य पनि सामान्य रहेको अस्पतालले जानकारी दिएको छ।

यसको पाँच दिनपछि अर्को संक्रमित भेटिएको थियो। योसँगै चैत २० गते संक्रमितको संख्या ६ पुगेको थियो। मन्त्रालयका प्रवक्ता डा देवकोटाले नियमित कोरोना ब्रिफिङका क्रममा चैत ४ गते कतार एयरबाट नेपाल आएका बागलुङकी महिलामा नै संक्रमण पुष्टि भएको जानकारी दिएका थिए। उनी पनि धौलागिरी अस्पतालमा उपचाररत छिन्। उनको स्वास्थ्य पनि सामान्य रहेको अस्पतालले जानकारी दिएको छ।

शनिबार थप भएका तीन जना संक्रमित सुदुरपश्चिम प्रदेशका हुन्। संक्रमितमध्ये दुई जना भारतबाट र एक जनामा स्थानीय संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको छ। धनगढीको सेती अस्पतालमा उपचाररत चौथो संक्रमितको भाउजुलाई कोरोना संक्रमण देखिएको हो। ३४ वर्षीया उनी नेपालमा कोरोना भाइरसको स्थानीय संक्रमण देखिने पहिलो व्यक्ति हुन्।

मन्त्रालयका अनुसार कैलालीका २१ वर्षीय पुरुष र कञ्चनपुरका ४१ वर्षीय पुरुषमा संक्रमण देखिएको हो। संक्रमण देखिएकामध्ये कैलालीका पुरुष मुम्बईबाट र कञ्चनपुरका ४१ वर्षीय पुरुष भारतको उत्तराखण्डबाट नेपाल आएका हुन्। उनीहरु तीनै जनालाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरी उपचार थालिएको छ।

कोरोना देखिएका ९ जनामध्ये एक जिना निको भइसकेको र ८ जना सबैको स्वास्थ्य अवस्था समान्य रहेको प्रवक्ता डा देवकोटाले बताए। संक्रमित मध्ये २ दुई जना टेकु, ४ जना सेती अस्पताल र २ जना धौलागिरी अस्पतालमा भर्ना भई उपचाररत छन्।

सरकारले दोस्रो संक्रमित भेटिएकै दिन एक साताको लकडाउनको घोषणा गरेको थियो। त्यसपछि सरकारले दोस्रो पटक लकडाउनको अवधि लम्ब्याउँदै एक साता थप गरेको हो। लकडाउन भएयता हालसम्म सात जना संक्रमित भेटिएका छन्।

नेपालमा कोरोनाको संक्रमण भेटिएको तीन महिना बढी भइसक्यो। यो अवधिमा हालसम्म १ हजार ४ सय ४१ जनाको नमूना मात्र परीक्षण भएको छ। यद्यपि यो परीक्षणको संख्या अत्यन्तै न्यून भएको जनस्वास्थ्य विज्ञहरुले बताउँदै आएका छन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा बाबुराम मरासिनीले समुदाय स्तरमा निगरानी र परीक्षण बढाउन आवश्यक रहेको बताउँदै आएका छन्।

जर्मन र फ्रान्समा दैनिक १० हजार बढी कोरोनाको परीक्षण हुने गर्छ। तर नेपालमा दैनिक एक सयको हाराहारीमा पनि कोरोनाको परीक्षण हुने गरेको छैन। हुन त सरकारले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गर्दै आएको परीक्षण प्रदेश स्तरमा पनि विस्तार गरेको छ।

बिपि स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा, धनगढी र चितवनमा पनि कोरोनाको परीक्षण सुरु भएको छ। तर स्थानीय स्तरमै देखिएको संक्रमणले कोरोनाको जोखिम झनै बढाएको छ। किनभने हालसम्म नेपालमा बाहिरी मुलुकबाट आएका व्यक्तिमा मात्र संक्रमण देखिएको थियो।

मानिसमा बढ्दै गएको डर, त्रास र संक्रमणलाई सरकारले गम्भीर रुपमा लिनुपर्ने विज्ञहरुको भनाई छ। विशेषगरी स्वास्थ्य मन्त्रालयको नेतृत्वले यो विषयमा गम्भीर रुपले सोच्नैपर्ने उनीहरुको सुझाव छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *