बीउ उत्पादनमा सल्यानका किसान आकर्षित बार्षिक करिब १ सय ८० क्विन्टल मुलाको वीउ निकासी

अर्थ/वाणिज्य विशेष समाचार समाचार

सल्यान, ३ चैत

सल्यानका किसान खाद्यबाली छाडेर बीउ उत्पादनमा आकर्षित भएका छन् । छोटो समयमा राम्रो आम्दानी हुने भएपछि किसान बीउ उत्पादनमा लागेका हुन् । विशेष गरी मुलाको बीउको माग जिल्ला बाहिर बढ्दै गएपछि किसान बीउ उत्पादनमा आकर्षित भएका छन् ।

जिल्लाको शारदा नदीको किनारमा खाद्यान्न बाली लगाउँदै आएका किसान पछिल्लो समय बीउ उत्पादनमा लागेका छन् । जिल्लाको बरला, भट्टाचौर, ढोरचौर, मोख्ला, रागेचौर, भोटेचौर, लान्ती, लुहाम, बाँझकाँडा, कुमाख गाउँपालिका, दार्मा गाउँपालिका, काभ्रा लगायतका स्थानमा बीउ उत्पादनमा लाग्ने किसानको संख्या बढ्दै गएको छ ।

गाउँका प्रत्येक किसानले अहिले २ देखि ५ रोपनी जग्गामा मुलाको बीउ लगाएका छन् । किसानले बीउका लागि लगाएको मुला फुल्न थालेपछि अधिकांश बस्ती सेताम्मे र मनमोहक देखिन थालेको छ । स्थानीय बजारमा मुलाको बीउ प्रतिकिलो दुई सय रुपैयाँमा विक्री हुने गरेको छ ।

शारदा नगरपालिका वडा नं २ जोगीदेखोलाकी किसान गिता नेपालीले गहुँबाट भन्दा मुलाको बीउबाट आम्दानी बढी हुन थालेपछि बीउ उत्पादनमा लागेको बताइन् । ‘मुलाको बीउ बनाउँदा धेरै दुःख हुने भए पनि, आम्दानी राम्रो हुने भएकाले मुलाको विउ उत्पादनमा लागेकोे छु, अहिले गाउँमा दुई दर्जन घरधुरीले व्यावसायिक बीउ उत्पादन गर्दै आइरहेका छौ’ उनले भनिन् ।

गत वर्ष ४० दिने मुलाको बीउ विक्री गरेर करिब ४० हजार रुपैयाँ कमाइ भएको उनको भनाइ छ । उनका अनुसार बीउ उत्पादनसँगै ताजा तरकारी पनि विक्री हुने भएकाले आम्दानी राम्रो भइरहेको छ । वीउ खरिदकर्ता बारीमै आउने भएकाले पनि बीउ विक्रीमा बजारको समस्या नभएको उनको भनाइ छ ।

स्थानीय हिरा नेपालीले पनि ताजा तरकारीसँगै बीउबाट राम्रो आम्दानी हुने भएकाले आफूहरू यसतर्फ आकर्षित भएको बताइन् । विगत ३ वर्ष देखि २ रोपनी जमिनमा मुलाको विउ उत्पादन गर्दै आएको उनको भनाइ छ । पछिल्लो समय गाउँमा मुलाको बीउ राम्रो आम्दानीको स्रोत बन्दै गएको छ ।

जिल्लामा हावापानी राम्रो भएको धेरै सिँचाइ र गोडमेल गर्न नपर्ने भएकाले पनि किसान बीउ उत्पादनमा आकर्षित भएको कृर्षि विकास कार्यालय सल्यानले जनाएको छ । कार्यलयका अनुसार तरकारी भन्दा बीउ उत्पादनमा राम्रो आम्दानी हुने, खेर नजाने र बर्सेनी मूल्य बढ्दै गएकाले किसानको आकर्षण बढिरहेको छ ।

जिल्लामा तरकारी खेती गर्दै आएका किसानमध्ये २० प्रतिशतले बीउ उत्पादन गर्ने गरेका छन् । सल्यानी मुलाको बीउको माग विभिन्न जिल्लामा भएकाले किसान बीउ उत्पादनमा उत्साहित भएको कृषि विकास कार्यालयका निमित्त कार्यालय प्रमुख महेश आचार्यले बताए । उनका अनुसार जिल्लाबाट वार्षिक करिब १ सय ८० क्विन्टल मुलाको बीउ बाहिर जाने गरेको छ ।

कार्यालयका अनुसार जिल्लाभर करिब ३ सय रोपनी जग्गामा व्यावसायिक रूपमा मुलाको बीउ उत्पादन भइरहेको छ । सलादको रूपमा, तरकारी र अचार बनाएर खान मिल्ने भएकाले ताजा मुलाको मागसमेत जिल्लामा बढ्दै गएको कार्यालयको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *