ख्वप कलेजमा शिक्षक तथा कर्मचारी भेला

समाचार
भक्तपुर, १२ साउन
  ख्वप मावि तथा शारदा क्याम्पस माविमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको भेला नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो ।
भेलामा अध्यक्ष बिजुक्छेले शिक्षकहरूले विद्यार्थीहरूको पारिवारिक र व्यक्तिगत तहसम्म जानकारी राख्नुपर्ने आवश्यकता औल्याउँदै पढाउने पाठको तयारी गरेरमात्र कक्षा लिन शिक्षकहरूलाई सुझाव दिए ।
‘जीवनमा राम्रो गरौँला, देशको इज्जत राखौँला भन्ने भावना लिई काम गर्नुपर्छ । परीक्षाकेन्द्रित दृष्टिकोणले मात्र पढाउने नभई तुलनात्मक अध्ययन र अन्तरक्रियामा जोड दिई शिक्षकहरूले अध्यापन गर्नुपर्छ ।’ अध्यक्ष बिजुक्छेंले भने ।
कमजोर विद्यार्थीको लागि विशेष कक्षा सञ्चालन गर्न सुझाव दिँदै उनले परीक्षालाई मर्यादित बनाउनुपर्ने र अध्ययन/मेहनत गरेरमात्र उत्तीर्ण हुने भावना जगाउने वातावरण तयार गर्नुपर्ने आवश्यकता औँल्याए ।
अध्यक्ष बिजुक्छेंले भने, विद्यार्थीहरूको मनमा कहिल्यै विकृतिको भावना नआउने गरी शिक्षकहरूले पढाउन सक्नुपर्छ । बोली, वचन र व्यवहार प्रतिष्ठाको विषयको भएकोले शिक्षक तथा कर्मचारीहरूले बोली–व्यवहार शिष्ट हुनुपर्छ ।’
राजनीतिबारे सबैले जानकारी राख्नुपर्छ, राजधानीमा बस्नेले अझ बढी राजनीति बुझ्नुपर्छ । विभिन्न राजनीतिक दर्शन र सिद्धान्तका राम्रा र नराम्रा पक्षबारे विद्यार्थीहरूलाई जानकारी गराउनु आवश्यक छ, उनले भने ।
ठूला भनिने पार्टीहरूले अपराधीहरूलाई जोगाउने काम गरिरहेको हुँदा देश अहिलेको स्थितिमा पुगेको अध्यक्ष बिजुक्छेंले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल मजदुर किसान पार्टीको चुनावी घोषणापत्रअनुसार भनपाले विद्यालय÷कलेजहरू सञ्चालन गरिरहेको बताए ।
“प्राध्यापन पेशा प्रतिष्ठित पेशा भएकोले शिक्षकहरूको व्यवहार पनि सोहीअनुसार हुनुपर्छ”, उनले भने ।
“विकृति र विसंगतिबाट विद्यालयलाई टाढा राख्नुपर्ने र देशभरिकै विद्यार्थीको विश्वास जित्न विद्यालयले मेहनत अझ मेहनत गर्नु आवश्यक छ । गुणस्तर वृद्धि र अन्तर्राष्ट्रियरुपमा प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी तयार गर्न विद्यालयले ध्यान दिनुपर्छ ।” प्रमुख प्रजापतिले जोड दिए ।
“देशको आवश्यकताअनुसार विविध विषयमा अध्ययन गर्न शिक्षकहरूले  विद्यार्थीहरूलाई उत्प्रेरणा दिइरहनुपर्छ, उनले सुझाव दिए ।
ख्वप कलेजका प्राचार्य रूपक जोशीले शिक्षकहरूमा राम्रो सञ्चार र गुनासो सुन्ने क्षमता हुनु आवश्यक छ भने ।
ख्वप माविका प्राचार्य प्रकाश कुमार श्रेष्ठले शिक्षाको महत्वलाई ध्यान दिई नगरपालिकाले ख्वप माविलगायतका शैक्षिक संस्था सञ्चालन गरिरहेको हुँदा नगरपालिकाले लिएको उद्देश्य पूरा गर्नमा शिक्षक तथा कर्मचारीबाट सहयोग हुने आशा व्यक्त गरे ।
ख्वप माविको सफलता भनेको सामूहिक भावना र सञ्चालक समितिको निर्देशन नै हो, उनले भने ।
कार्यक्रमा ख्वप माविका उपप्राचार्यद्वय लक्ष्मीप्रसाद कर्माचार्य र विष्णुप्रसाद किसी र शिक्षक गोकर्ण दुलालले पनि बोलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *