अर्को अप्रत्याशित नतिजाको लक्ष्यमा जापान र दक्षिण कोरिया

अन्तर्राष्ट्रिय खेलकूद विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

एजेन्सी, १९ मंसिर

जापानका खेलाडी र कोरियाका समर्थक ।

एसियाका दुई फुटबल पावर हाउस राष्ट्र हुन् जापान र दक्षिण कोरिया । फुटबल विश्वकपमा एसियाबाट सबैभन्दा राम्रो प्रदर्शन गर्ने टिम कोरिया नै हो ।

सन् २००२ मा जापानसँग मिलेर संयुक्त रुपमा विश्वकप आयोजना गर्दा सनसनी मच्चाउँदै कोरिया सेमिफाइनल नै पुगेको थियो ।  जापानले पनि त्यसबेला अन्तिम १६ मा पुगेर आफ्नो उत्कृष्ट नतिजा ल्याएको थियो । त्यसपछि जापान दुई पटक नकआउट चरण पुगे पनि अन्तिम १६ बाट माथि उठ्न सकेको छैन ।

यिनै दुई टिम कतारमा जारी विश्वकप २०२२ को अन्तिम १६ मा बलिया टिम विरुद्ध भिड्दा अर्को अप्रत्यासित नतिजाको खोजीमा छन् ।

अन्तिम १६ को खेलमा जापानले साविक उपविजेता क्रोएसिया तथा कोरियाले सर्वाधिक ५ पटकको विजेता ब्राजिलको सामाना गर्नेछ ।

राति पौने ९ बजे अल जानोब स्टेडियममा हुने क्रोएसिया विरुद्ध मैदान उत्रँदा जापान समूह चरणको प्रदर्शन दोहोर्‍याउँदै पहिलो पटक क्वाटरफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । जापानले समूह चरणमा पूर्व विजेताहरु जर्मनी र स्पेन विरुद्ध पुनरागमन गर्दै २-१ को जित निकालेको थियो ।

कोस्टारिकासँग पराजित भए पनि जापान समूह इ को विजेता बन्दै अन्तिम १६ मा पुगेको थियो । क्रोएसिया भने समूह एफमा अपराजित रहँदै उपविजेता बनेको थियो । क्यानडालाई पराजित गरेको क्रोएसियाले मोरक्को र बेल्जियमसँग बराबरी खेलेको थियो ।

जापानी टिम ।

समूह चरणमा जस्तै क्रोएसिया विरुद्ध खेल्दा पनि जापानले सामुराई स्प्रीटका साथ खेल्ने छ । जापानलाई सामुराई वारियर्सको रुपमा चिनिन्छ र डिफेण्डर युतो नागातोमा त्यही स्प्रिट क्रोएसिया विरुद्ध देखाउन आवश्यक रहेको बताउँछन् ।

चार वर्षअघि रुसमा बेल्जियम विरुद्ध अग्रता जोगाउन नसक्दा पराजित भएको जापानले त्यसबेला धेरै कुरा सिकेको प्रशिक्षक हाजिमे मोरियासुले बताए । अन्तिम १६ मा खेल्ने क्रोएसियाको जनसंख्या ४० लाख मात्र छ र लुका मोडरिचको टिम चार वर्षअघिको नतिजा दोहोर्‍याउँदै उनीहरुलाई खुशी बनाउन चाहन्छ । ४ वर्षअघि पहिलो पटक फाइनल पुगेको क्रोएसिया रुसमा फ्रान्ससँग पराजित हुँदै उपविजेता बनेको थियो ।

ब्राजिल भर्सेस दक्षिण कोरिया

समूह चरणमा ब्राजिल सुरुवाती दुई खेल जित्दै सहजै अन्तिम १६ मा पुगेको थियो । समूहको अन्तिम खेलमा नयाँ खेलाडीलाई अवसर दिँदा क्यामरुनसँग १-० को हार बेहोरे पनि ब्राजिल समूह विजेता बन्यो ।

अर्कोतर्फ कोरियाको कथा भने फरक रह्यो । पहिलो खेलमा उरुग्वेसँग गोलरहित बराबरी खेलेको कोरिया दोस्रो खेलमा घानासँग पराजित भएपछि नकआउट यात्रा कठिन बनेको थियो । तर कोरियाले अन्तिम खेलमा पोर्चुगलमाथि शानदार जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएको थियो । अर्को खेलमा उरुग्वेले घानालाई पराजित गरेपछि कोरिया र उरुग्वेको समान अंक र समान गोलअन्तर भए पनि धेरै गोल गरेको आधारमा कोरिया भाग्यमानी बनेको थियो ।

पोर्चुगल र कोरियाबीचको खेल ।

चार वर्षअघि साविक विजेता जर्मनीलाई पराजित गरे पनि कोरियाले समूह चरण पार गर्न सकेको थिएन । यस पटक कोरियाले अन्तिम १६ मै उपाधि दाबेदारमध्ये एक ब्राजिलसँग खेल्नुपर्ने भयो । तर कोरिया त्यसका लागि तयार छ । दुई दशकअघि कोरियामै उपाधि जितेपछि ब्राजिलले विश्वकप जित्न सकेको छैन ।

यसपटक कतारमा उपाधि जित्ने लक्ष्य राखेको ब्राजिलले पहिला कोरियालाई पन्छाउनुपर्ने हुन्छ । विश्वकपमा ब्राजिल र कोरिया पहिलो पटक भिड्न लागेका हुन् । यसअघि ७ पटक मैत्रीपूर्ण खेलमा भेट हुँदा ब्राजिलले ६ खेल जितेको छ भने कोरियाले एक खेल जितेको थियो ।

ब्राजिलका कप्तान थियागो शिल्भाले कोरियालाई कमजोर आँक्न नहुने बताएका छन् । कठिन समूहबाट अन्तिम १६ मा आएको भन्दै कोरिया टिमप्रति सम्मान रहेको शिल्भाले बताए ।

ब्राजिल र कोरियाबीचको खेल मध्यराति पौने १ बजे स्टेडियम ९७४ मा हुनेछ । यदी जापान र कोरिया दुवै विजयी भए यी दुई टिमको भेट क्वाटरफाइनलमै हुनेछ । यसको अर्थ विश्वकपको सेमिफाइनलमा २० वर्षपछि अर्को एसियन राष्ट्र हुनेछ । त्यसका लागि कोरिया र जापान दुवैले आफ्नो खेल जित्न पर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *