ग्रामीण विकासका समस्या तथा समाधानका उपायहरु

अर्थ/वाणिज्य शिक्षा समाचार

श्रीती खड्का
भक्तपुर, १० साउन


नेपाल एउटा अल्पबिकसित देश हो । यसको अर्थतन्त्र जीविकामुखी मात्रै छ । यो गाउँहरुको देश हो जहाँ अशिक्षा, अज्ञानता, अन्धबिश्वास, रुढीबादी परम्परा सर्वाधिक छ । प्राबिधिक शिक्षाको अभावले नयाँ प्रबिधिको विकास हुन सकेको छैन । केही सीमित शहरी तथा शहर नजीकका बस्तीहरुमा बाहेक अन्य स्थानमा अझैपनि आधुनिकताको प्रभाब पर्न सकेको छैन । कठिन भौगोलिक परिस्थिति, वन, जङ्गल, डाँडापाखा, यातायातको अभाव आदिले गर्दा ग्रामीण भेगका जनताको जीवनस्तर अत्यन्त नाजुक छ । हाम्रो ग्रामीण क्षेत्र पछाडि पर्नुका अनेक कारण छन् । गरीबीले गर्दा संकीर्णता छ । ग्रामीण भेगमा बेरोजगार र अर्धबेरोजगारको स्थिति विकराल छ । संकीर्ण चिन्तनका कारण नौलोपनलाई अँगाल्ने मानसिकता छैन । अन्य परम्पराले गर्दा अपव्यय बढी छ र उपलब्धि न्यून छ । साथै अन्य खर्चमा पनि समानता छैन । ऋण लिएर खर्च गर्नुपर्ने बाध्यता छ । सञ्चार सुबिधाका साधनहरुमा अधिकांश ग्रामीण जनताको पहुँच बल्ल बामे सर्दै गरेको अवस्थामा छ । कतिपय क्षेत्रमा गाँस, बास र कपासजस्ता आधारभूत आवश्यकता परीपूर्ति मै समस्या छ । तर विकारयुक्त मदिरापान तथा कुलतमा युवा पिढीको लत भने बढ्दो छ । विवाह, ब्रतबन्ध तथा अन्य समारोहमा देखाइने तडकभडकले जीवनलाई अझ बढी दुःखी एबं कष्टकर बनाउँदै छ । महिलाको जीवन झन् कष्टमय छ । सामाजिक बिकृति तथा बिसङ्गतिहरुले गर्दा सामाजिक जीवन अस्वस्थकर बन्दै बन्दै गएको छ । शिक्षालयको गुणस्तर सन्तोषजनक छैन । कमजोर आर्थिक समूहका व्यक्ति, जनजाति, दलित वर्गमा गरीने छुवाछुत तथा भेदभाबका कारण उनीहरुको जीवन झन् दुःखमय छ । उनीहरुमा गरीबी त छँदैछ, शिक्षाको अभावले उनीहरु पिछडिएका छन् । ग्रामीण इलाकामा उद्योगधन्दाको पनि अभाव छ । सरकारी योजना एबं कार्यक्रम प्रभावकारी बन्न सकेको छैन । कृषिमा हुने लगानी भन्दा प्रतिफल कम हुँदा यस कार्यतर्फ कृषकको ध्यान घट्दो छ । जसका कारण कृषि क्षेत्र रुग्ण हुँदैछ ।
एशियाली विकास बैँकको तथ्यांक अुनुसार नेपालको जम्मा गरीबीमध्ये ८८ दशमलव ३ प्रतिशत जनसंख्या ग्रामीण भेगमा बसोबास गर्दछ । सरकारी पक्षको अक्षमता, ढिलासुस्ति तथा भ्रष्ट प्रबृत्तिका कारण गरीबी निवारणका कार्यक्रमहरु असफल हुँदैछन् । गाउँघरमा पूँजीको अभाबमा सबभन्दा ठूलो समस्या देखिएको छ । निजीक्षेत्रबाट दिने कर्जाको ब्याज चर्को हुन्छ । जसका कारण गरीबी बढ्दो छ । गाउँहरुमा पहिले संयुक्त परिवारबाट पारिवारीक जीवन सुखद हुन्थ्यो तर अहिले संयुक्त परिवार भताभुङ्ग हुँदैछ । गाउँसमाजमा आइपर्ने बिभिन्न झन्झटहरु सुल्झउने कार्य जातीय तथा दलगत आधारमा हुँदा, पीडित पक्ष न्यायबाट बञ्चित भएका छन् ।
कृषकका समस्या र सरकारको कृषि नीतिमा मेल नखाने प्रबृत्तिका साथै कृषि क्षेत्रमा अनुसन्धानको अभावले गर्दा समस्या बढ्दै गएकाले ग्रामीण विकास, गरीबी उन्मूलन, रोजगारी प्रबद्र्धन, ग्रामीण अर्थतन्त्रको विकास, बहुबाली उत्पादनद्धारा कच्चा पदार्थको समस्या समाधान गर्न अत्यावश्यक भएको छ । कृषि उत्पादन तथा उत्पादकत्व बढाउन कृषि क्षेत्रलाइ यान्त्रिकीकरण गर्न सकिन्छ । ग्रामीण अर्थतन्त्रको सुदृढ पार्नमा पशुपालन उद्योगको स्थान उच्च हुन सक्दछ । आर्थिक विकासका निमित्त स्थानीय निकायहरुलाई जनसंख्याको आधारमा अनुदान उपलब्ध गराई स्थानीय निकायद्धारा सिँचाइलाई उच्च प्राथमिकतामा राख्न सकेमा अनिकाल तथा खडेरीलाई सजिलै टार्न सकिन्छ । अनावश्यक खर्च, तडकभडक तथा देखासिकी निरुत्साहित गर्न चेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्न सकिन्छ । अन्ततः ग्रामीण विकासका लागि वास्तविक समस्याहरु अध्ययन गरी निति तथा कार्यक्रमहरु तर्जुमा गरी अघि बढ्नु पर्दछ । ग्रामीण क्षेत्रको सम्भाबित विकासबाट मात्र देशको विकास हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *