न्यूज अपडेट भक्तपुर
काठमाडौं, १७ असोज
काठमाडौं उपत्यकामा हुने सवारी दुर्घटनाको प्रमुख कारण मानिएको टिप्पर चल्ने समय हेरफेर गरिएको छ ।
निर्माण सामग्रीको ढुवानीमा प्रयोग हुँदै आएको टिप्परका कारण दुर्घटना बढेको भन्दै गत साउन १ गतेदेखि काठमाडौंमा दिउँसो टिप्पर चलाउन रोक गरिएको थियो ।
गृहमन्त्रीको निर्देशनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले राति ९ बजेदेखि विहान ६ बजेसम्म मात्रै काठमाडौंको चक्रपथ भित्री क्षेत्रमा टिप्पर चलाउने नियम लागू गरेको थियो ।
टिप्परमाथि कडाइ गर्दा निर्माण सामग्रीको ढुवानीमा समस्या परेको भन्दै बुधवारदेखि टिप्पर चलाउने समय हेरफेर गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
अब साँझ ७ बजेदेखि विहान ७ बजेसम्म टिप्पर चलाउन दिइने गरी निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद अधिकारीको अध्यक्षतामा बुधवार बसेको बैठकले टिप्पर चलाउन पाउने समय हेरफेर गरेको हो ।
अब काठमाडौंको चक्रपथ भित्रको क्षेत्र र काठमाडौंको कोटेश्वरदेखि जडिबुटीसम्मको सडकमा साँझ ७ बजेदेखि विहान ७ बजेसम्म टिप्पर चलाउन पाइने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।