भक्तपुर,१२ साउन

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शुक्रबार संस्थागत विद्यालय संघ नेपाल (इसान) को आयोजना भएको सामाजिक विषयमा आधारित एकदिने कार्यशाला गोष्ठीको उद्घाटन गरे ।
प्रमुख प्रजापतिले तालिमको सफलताको कामना गर्दै शिक्षालाई व्यापारको रुपमा नभई सेवाको रुपमा विकास गर्नुपर्ने र सरकारले समाजवादउन्मुख शिक्षा नीति अवलम्बनमा जोड दिनुपर्ने बताए ।
सरकारले शिक्षा क्षेत्रमा अरबौं रुपैयाँ लगानी गरिरहे पनि सामुदायिक विद्यालयको शैक्षिक स्तर घटिरहनुमा सरकार नै दोषी भएको उनले बताए ।

त्रिभुवन विश्वविद्यालयको लथालिंग स्थितिले पनि देशको शैक्षिक स्थिति खस्किँदै गएको प्रस्ट भएको औंल्याउँदै प्रमुख प्रजापतिले त्रिविमा भएको अनियमितता र घुस प्रकरणले प्राज्ञिक संस्थाहरूमा व्यापारिक सोच भएका व्यक्तिहरु हावी हुनु निन्दनीय भएको उल्लेख गरे ।

हाम्रो शिक्षा विदेशको सेवाको निम्ति भन्दा आफ्नै देश विकासको निम्ति हुनुपर्ने बताउँदै उनले देशको सार्वभौमिता रक्षा गर्ने जनशक्ति तयार गर्नुपर्ने बताए । योग्य र इमानदार व्यक्तिहरु राजनीतिमा आउनुपर्ने बताउदै प्रमुख प्रजापतिले देशको नेतृत्व सम्हाल्ने युवा शक्ति तयारमा कलेज तथा विद्यार्थीहरुले जोड दिनुपर्ने र विद्यार्थीहरुलाई देश र समाजको निम्ति काम गर्न उत्साहित गर्दै लानुपर्ने बताए ।
संस्थागत विद्यालय संघ नेपाल (इसान) का अध्यक्ष प्रेमजन थापाले सामाजिक शिक्षा समाजसँग प्रत्यक्ष सम्बन्ध राख्ने विषय भएकोले सामाजिक शिक्षा अध्यापन गराउने शिक्षक–शिक्षिकाहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक अवस्थाबारे जानकारी हुनुपर्ने बताए ।
कार्यक्रममा इसानका महासचिव पुरुषोत्तम ग्वाछाले पनि बोलेको थियो ।
