चार करोडको पुल एघार बर्ष पनि टिकेन

अर्थ/वाणिज्य समाचार

कास्की ,१९ असार


पृथ्वी राजमार्ग हुँदै पोखरा भित्रिने मुख्य प्रवेशद्वार विजयपुरमा बेलिब्रिज (पुल) निर्माणको काम द्रुत रुपमा अघि बढेको छ ।विजयपुरमा बनाइएको स्टिल ब्रिज सञ्चालनमा आएको १ दशकमै जीर्ण बनेपछि विकल्पमा बेलिब्रिज राख्ने काम अघि बढाइएको हो । सडक डिभिजन कार्यालय पोखरामार्फत विजयपुरमा हाल भइरहेको स्टिल ब्रिजको छेउमै बेलिब्रिज निर्माणको काम भइरहेको छ ।विजयपुर खोलामा बेलिब्रिज निर्माणका लागि सडक डिभिजन कार्यालय पोखरा मार्फत गत चैतमा ठेकेदारको चयन गरी निर्माण प्रक्रिया तत्कालै सुरु गरिएको थियो । बेलिब्रिज निर्माणको जिम्मा सगरमाथा (जेभी) ले पाएको छ । सडक र ठेकेदार कम्पनीसँग गत २२ वैशाखमा सम्झौता भएर काम अघि बढेको छ । असार मसान्त भित्रै निर्माण कार्य सक्ने गरी ठेकेदार कम्पनीले जिम्मा लिएको हो । २ करोड २० लाख रुपैयाँ लागतमा बेलिब्रिजको निर्माण हुने छ ।बर्खालाई ख्याल गर्दै ठेकेदार कम्पनीले तदारुकताका साथ काम गरिरहेको सडक डिभिजन कार्यालयका सहायक इन्जिनियर श्रीकृष्ण वरालले जानकारी दिए । ‘पुलको भौतिक संरचना निर्माणका लागि आवस्यक सामाग्री मध्ये चार टिप बेलिब्रिजको सामग्री ढुवानी भइसकेको छ,’ उनले भने, ‘छिटैनै आवस्यक सामाग्री ढुवानीको काम सकिन्छ ।’
पूर्वको इटहरी सडक डिभिजन अन्तर्गत थन्किएको बेलिब्रिजका सामानहरु विजयपुरमा प्रयोगमा ल्याइएको इन्जिनियर बरालले बताए ।हालसम्म पुल निर्माणको ४० प्रतिशत काम सम्पन्न भइसकेको बताउदै यही गतिमा काम अगाडी बढे असार महिना भित्रनै पुल निर्माण भइसक्ने उनले बताए। तत्कालको समयस्या समाधानको लागि यस बेलिब्रिज पुलको निर्माण गरिएको उनले बताए। ‘बेलीब्रिज पुल तत्कालको समस्या समाधानको लागि बनाईएको अस्थायी प्रकृतिको पुल हो’ इन्जिनियर बरालले भने । ‘२ लेनमा ५० मिटर लम्बाइको बेलिब्रिज निर्माण हुदैछ ।’ पुलको भारबहन क्षमता भने १ सय टन हुने डिभिजन कार्यालयले जनाएको छ ।
विजयपुरमा राखिने पुलको सामग्री पूर्वका जिल्लामा प्रयोगमा आइसकेपछि झिकिएको थियो । २ लेनमा ५० मिटर लम्बाईको बेलिब्रिज निर्माण हुनेछ । पुलको भार बहन क्षमता भने १ सय टन हुने कार्यालयले जानकारी दिएको छ ।विजयपुर पुल जीर्ण हुँदा १० टनमाथि भार भएका सवारीलाई खोलामाथि ह्युमपाइप हालेर बनाइएको डाइभर्सनबाट वारपार गराइएको छ । सवारीको अत्यधिक चापका कारण बढेको जामले ट्राफिक व्यवस्थापनमा समस्या देखिँदै आएको छ ।
४ करोडको पुलको आयु जम्मा ११ वर्ष
सडक बिभागले बिजयपुर खोलामा स्थाई (ढलान) पुल निर्माणको लागि २०५९ सालमा टेण्डर आह्वान गरेको थियो । पुल निर्माण दुईबर्ष भित्र सक्नु पर्ने भएपनि २०६४ मा मात्र पुलको निर्माण कार्य सकिएको थियो । २०६४ मा सम्पन्न भएको पुल २०७५ को अन्त्यमा भाँचिएर काम नलाग्ने अवस्थामा पुगेको हो ।
पुल जोखिममा परेपछि गण्डकी प्रदेशसभा बैठकमा पनि लगातार २ दिन कुरा उठ्यो । संघिय संसदमा पनि त्यस क्षेत्रका सांसद एवं पूर्व मन्त्री खगराज अधिकारीले लगातार ठेकेदार र इन्जिनियरलाई कारवाहीको माग गरेका थिए ।
पुल बीटी इलाइट बीपी एड्भेन्चर जेभी कन्स्ट्रक्सन कम्पनीले पुल निर्माण गरेको थियो । यो पुल हुँदै दैनिक ६ हजार सवारीसाधन गुड्ने गरेका छन् । निर्माण पछि पुलको एकपटक पनि मर्मत गरिएको थिएन ।
निर्माण हात पार्न आधा घटेर टेण्डर ठेक्का
सडक डिभिजनले विजयपुर पुल बनाउन २०५९ मा आह्वान गरेको टेण्डरमा ठेकेदार कम्पनीले सरकारी लागत अनुमानभन्दा आधा घटेर ठेक्का लिएको खुलेको छ । सडक विभागले पुल बनाउन ७ करोड ४७ लाख ६९ हजार रुपैयाँको लागत इस्टिमेट गरेको भएपछि ठेकेदार कम्पनीले जम्मा ३ करोड ७० लाख ७६ हजार रुपैयाँमा पुल निर्माणको जिम्मा लिएको थियो ।
टेण्डरपछि पुल बनाउन १५ जेठ २०६० मा सम्झौता भएको थियो । पुल २०६५ जेठमा सञ्चालनमा आएको थियो । पुलको डिजाइन भने नेपाल इन्जिनियरिङ कन्सल्टेन्सीले गरेको हो ।
गण्डकी प्रदेशका अर्थ तथा विकास सभापति दीपक कोइराला निर्माणको काम घटिघटाउ प्रक्रियामा दिने र प्राविधिकले गुणस्तरको बारेमा आवस्यक मात्रमा अनुगमन नगर्दा गुणस्तरियता कायम हुन नसक्ने बताउँछन् । ‘सरकारी लागत इस्टिमेटभन्दा आधा घटेर ठेक्का लिएपछि कसरी गुणस्तरीय काम सम्भव हुन्छ’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *