नियमित स्वास्थ्य जाच गरौं – प्रमुख प्रजापति

विशेष समाचार समाचार स्वास्थ्य

भक्तपुर, २५ फागुन


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सस्तो, गुणस्तरीय स्वास्थ्य सेवा दिन भक्तपुरको च्याह्मासिंहसँगै ख्वप अस्पतालको निर्माण कार्य शुरु भइसकेको जानकारी दिँदै जनताको सेवामा केन्द्रित भई नगरपालिकाले विभिन्न गतिविधिहरूलाई अगाडि सारेको बताए ।
भक्तपुर नपा वडा नं. ६ को महिला स्वास्थ्य कार्यकर्ता एवम् नर्स परिचालन समितिको आयोजनामा शनिवार आयोजित सुगर, प्रेसर र मृगौलासम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले भक्तपुर नपाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रमा भएका कमी–कमजोरीहरूबारे औंल्याइदिन आग्रह गरे ।
स्वास्थ्य शिविर सञ्चालनले भक्तपुरका जनताको स्वास्थ्य स्थिति पहिचान गरी समयमै औषधिउपचार गर्न मद्दत पुग्ने उनले बताए । मिठो भन्दा पनि पौष्टिक भएको खाना खानुपर्ने, समय–समयमा स्वास्थ्य जाँच गर्ने र रोगअनुसारको उपचार समयमै गराउनुपर्नेमा उनले जोड दिए ।


कार्यक्रममा भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष हरिराम सुवालले भक्तपुर नपाको सबै वडामा विभिन्न किसिमका स्वास्थ्य शिविरहरू सञ्चालन भइरहेको जानकारी दिँदै नगरवासीको स्वास्थ्य स्थिति पहिचान र त्यसको उचित उपचार नै शिविर सञ्चालनको उद्देश्य रहेको बताए । भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाइलगायतका क्षेत्रमा उदाहरणीय कार्य गरिरहेको उनको भनाइ छ ।
कार्यक्रममा वडा सदस्य गोविन्द दुवालले स्वस्थ जीवनशैली र नियमित व्यायाम आजको आवश्यकता भएको औंल्याउँदै भक्तपुर नगरपालिकाले व्यक्तिगत हितभन्दा पनि सामूहिक र समाजको सेवामा केन्द्रित भएर काम गरिरहेको चर्चा गरे । कार्यक्रममा कार्यपालिका सदस्य रोशनमैया सुवाल, वडा सदस्य सिद्धिराम अवालले पनि बोलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *