प्रजातान्त्रिक योद्धा राईको तस्बिर अंकित हुलाक टिकट प्रकाशित

कला/साहित्य विशेष समाचार समाचार

काठमाडौँ, १५ पुस


सरकारले प्रजातान्त्रिक योद्धा जननायक रामप्रसाद राईको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आइतबार १० रुपैयाँ दरका टिकटमा टाँचा लगाए । रामप्रसादकै नाममा यसअघि २०५५ सालमा ७५ पैसा दरका टिकट प्रकाशन गरिएको थियो । उनी २००७ सालको क्रान्तिमा भोजपुर क्षेत्रबाट लडेका थिए । दिल्ली सम्झौताप्रति असन्तुष्ट उनी २००८ सालको सिंहदरबार विद्रोहपछि बेपत्ता भएका थिए ।
इतिहासले न्याय गर्छ भन्ने टिकट प्रकाशन कार्यबाट प्रमाणित भएको मन्त्री बाँस्कोटाको भनाइ थियो । ‘यो साधारण हुलाक टिकट होइन’, उनले भने, ‘आज रामप्रसादले प्रजातान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको सम्मान भएको छ । न्यायको जित भएको छ । यो कार्य त उहिल्यै हुनुपथ्र्यो तर ढिलै भए पनि आज सम्पन्न भएको । सरकारले गरेका उल्लेखनीय कार्य मध्ये यो पनि एक हो ।’


हुलाक सेवा विभागका महानिर्देशक देवीप्रसाद ज्ञवालीले इन्डोनेसियामा ५ लाख प्रति टिकट छापिने बताए । ‘अहिले १६० वटा लिएर आएका छौँ’, उनले भने, ‘बाँकी तीन महिनाभित्र आउनेछ ।’ उनका अनुसार उक्त टिकट पूर्णकला लिम्बूले डिजाइन गरेकी हुन् ।
टाँचा लगाउने समारोहमा संघीय सांसद सुदन किराती, प्रा.डा. गोविन्दमानसिंह कार्की लगायतले योद्धा रामप्रसाद राईका बारेमा प्रकाश पारेका थिए । उक्त समारोहमा पूर्वमन्त्री कृपासुर शेर्पा, सांसद घनेन्द्र बस्नेतका साथै रामप्रसाद राई स्मृति प्रतिष्ठान र रामप्रसाद राई फाउन्डेसनका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *