शिक्षक संघको राष्ट्रिय सम्मेलन सम्पन्न

विशेष समाचार शिक्षा समाचार

भक्तपुर, १८ कात्तिक

नेपाल क्रान्तिकारी शिक्षक संघको तेस्रो राष्ट्रिय सम्मेलन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष का. नारायणमान बिजुक्छें ‘रोहित’ को प्रमुख आतिथ्यतामा कार्तिक १६ गते उद्घाटन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि बिजुक्छेंले विद्यार्थीहरु क्रान्तिको बारुदखाना भएकोले विद्यार्थीहरुलाई सैद्धान्तिक रुपले तयारी गर्नुपर्ने आवश्यकता औंल्याए ।
निजी मेडिकल माफियाहरुले डाक्टरको नाममा विद्यार्थीहरुसँग असुलेको खर्बौं रकमको केहि सहयोगबाट नै निर्वाचनमा जितेका ठूला दलका नेताहरुले वास्तविक रुपमा जनताको सेवा नगर्ने प्रष्ट पार्दै उनले विद्यार्थीहरुलाई शिक्षकहरुले वास्तविक बिरामी जनताहरुको सेवा गर्ने डा. नर्मन बेथुन र डा. कोटनिसजस्ता निस्वार्थी डाक्टरहरुबारे पढाउनुपर्छ भने ।
शिक्षक कहिल्यै सानो नहुने विचार राख्दै उनले शिक्षकहरु जिम्मेवार भएर हरेक दिन पाठ्यपुस्तकभन्दा बाहिरको देशभक्तिपूर्ण भावना जगाउने, विस्तारवादी र साम्राज्यवादी चरित्रबारे पढाउनुपर्ने बताए ।
‘निर्मला बलात्कारपछिको हत्याका दोषी पत्ता नलाग्नुमा सरकार नै जिम्मेवार छ ।’ विशेष सुत्रलाई उद्धृत गर्दै बिजुक्छेले भने, ‘प्रधानमन्त्री अहिले ठूलो प्रेसरमा हुनुहुन्छ, त्यसैले सो घटनाबारे प्रधानमन्त्री मौन छ ।’
पाठ्यपुस्तकमा भएको हरेक विषयवस्तुलाई माक्र्सवादी आँखाबाट केलाई सहि ज्ञान विद्यार्थीहरुलाई दिन शिक्षकहरु अग्रसर हुनुपर्छ उनले बताए ।
नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले संविधानतः शिक्षा निःशुल्क र अनिवार्य गरिएतापनि निजी विद्यालयलाई यथावत राख्ने सरकारको नितिले जनतालाई धोखामा राख्ने काम गरेको प्रष्ट पारे ।
जन्मको आधारमा नागरिकता दिने नागरिकता विधेयकले गर्दा लाखौं भारतीयहरुले नागरिकता पाएको प्रष्ट पार्दै खुला सिमानाका कारण नेपालको सिमा अतिक्रमण भइरहेको उनले बताए ।
प्रदेश नं. ३ का सांसद सुरेन्द्रराज गोसाईले पूँजीवाद आक्रामक हुँदै गइरहेको वर्तमान समयमा हामी सबैले समाजवादी विचारलाई थप उचाइमा पु¥याउन बौद्धिक सिपाही शिक्षकहरुलाई आग्रह गरेका छन् ।
समाजमा व्याप्त अन्धविश्वास, कुप्रथा, कुसंस्कारलाई नष्ट गर्न रहेक समाजवादी विचार बोक्ने कार्यकर्ताहरु प्रतिबद्ध हुनुपर्ने आवश्यकता औंल्याउँदै उनले शिक्षकहरु संवेदनशील समुदाय भएकोले समाज विकासको गतिलाई अगाडि बढाउन शिक्षकहरु अध्यावधि भएर, प्रविधिमैत्री भएर अगाडि बढ्न आवश्यक भएको बताए ।
प्रदेश नं. ३ का सांसद सिर्जना सैंजूले नेपालको समस्याहरुमध्ये ९९ प्रतिशत समस्या भारतीय एकाधिकार पूँजीको कारण सिर्जित भएको बताउँदै भारतबाट कोरिएको नेपालको नक्सामा पहिलाको भन्दा १० हजार वर्ग किलोमिटरभन्दा कम उल्लेख भएको उनले बताए ।
नेक्राशिसंघका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य कृष्णकुमार वैद्य, कृष्णबहादुर तामाङ, नेमकिपा भक्तपुर जिल्ला समितिका सदस्य नारायणबहादुर दुवाल, शिक्षक संघका केन्द्रीय सदस्य पवित्राकुमारी शाहीलगायतले शुभकामना मन्तव्य राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *