न्यूज अपडेट संवाददाता
भक्तपुर, २० मंसिर
युनिसेफ र विश्व बैंकको आयोजनामा काठमाडौंमा भइरहेको “एक्सीलिरेटिङ फाउण्डेशनल लनिङः गोइङ टु स्केल इन साउथ एसिया” मा सहभागी विभिन्न देशका अतिथिहरुको एक प्रतिनिधिमण्डलले वागीश्वरी माविको पूर्व प्राविदेखि कक्षा ३ सम्मका कक्षाहरुको बुधबार अवलोकन भ्रमण गरेको छ ।
अवलोकनमा आएका अतिथिहरुलाई स्वागत गर्दै विद्यालयका प्रअ कृष्णप्रसाद कर्माचार्यले विद्यालयको सङ्क्षिप्त परिचय प्रस्तुत गरे । सो क्रममा उनले विद्यालयमा विद्यार्थीको अनुपातमा शिक्षकको अभाव भएको तथ्यसहित जानकारी दिँदै त्यसले शैक्षिक उपलब्धिमा नकारात्मक प्रभाव परिरहेको प्रष्ट पारे ।
उनले भने– ‘पूर्व प्रावि तहमा २७७ जना विद्यार्थीको लागि सरकारी शिक्षक दरबन्दी केवल दुईओटा रहेको छ । जुन साह्रै नपुग छ । त्यसलाई पूर्ति गर्न विद्यालयले निजी स्रोतबाट २० जना विद्यार्थी बराबर २ जना शिक्षिका र १ जना आयाको हामीले व्यवस्था गरेका छौं ।’
विभिन्न मातृभाषाका विद्यार्थीहरु भर्ना हुन आएकाले सोही अनुसार नेपाल भाषा (नेवारी), तामाङ, मातृभाषाका शिक्षिका र आयाहरुको व्यवस्था गरिएको जानकारी दिँदै उनले कानुनतः निःशुल्क गर्नुपर्ने भए पनि निजी स्रोतबाट शिक्षक व्यवस्थापन गर्नुपरेकाले अभिभावकसँग आर्थिक सहयोग उठाउनु परेको विवशता दर्शाए ।
सहभागी अतिथिले सोधेको एक प्रश्नको जवाफ दिँदै प्रअ कर्माचार्यले कक्षा ५ सम्मका विद्यार्थीहरुको लागि विद्यालयमा भइरहेको दिवा खाजा व्यवस्थापनको जानकारी दिए । उनले भने– ‘विद्यालयमा जङ्क फुड (पत्रु खाजा) निषेध छ† पूर्वप्रावि तहका विद्यार्थीलाई स्कुलमै पकाएर ६ बार ६ थरि खाजा खुवाउँछौं भने कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई अभिभावककै सहमतिमा हरेक विद्यार्थीले आफ्नो घरमा पाकेकै खाजा ल्याउनुपर्ने र सोबापत प्रतिदिनको रु.१५ दिन गन्ती गरेर अभिभावकलाई रकम दिने गरेका छौं ।’
सरकारले वर्षको १८० दिनको मात्र खाजा बापतको रकम दिए पनि स्कुलमा २२० दिनभन्दा बढी दिनको खाजाको रकम गइरहेको जानकारी दिँदै उनले नपुग रकम स्थानीय सरकार भक्तपुर नगरपालिकाले पूर्ति गरिदिएको बताए ।
सहभागी अतिथिले विद्यार्थीको लैङ्गिक र शैक्षिक अवस्थाबारे सोधिएको अर्को प्रश्नको उत्तर दिँदै प्रअ कर्माचार्यले प्रावि तह कक्षा ५ सम्ममा १३११ जना छात्रा र १२४९ जना छात्र रहेको र तीमध्ये अधिकांश उत्कृष्ट विद्यार्थी छात्रा नै रहेको बताए ।
त्यस्तै शिक्षक तालिमका बारेमा सोधिएको अर्को प्रश्नको उत्तर दिँदै भक्तपुर नगरपालिकाले कक्षा १ देखि ३ सम्मको एकीकृत पाठ्यक्रम, अटिजम रोग र अङ्ग्रेजी फोनेटिक्स र स्थानीय पाठ्यक्रम लगायतका बारेमा तालिम सञ्चालन भइरहेको बताए ।
एक अर्को प्रसङ्गमा नगरपालिकाबाट अनुगमन तथा प्राविधिक सहयोग समितिका पदाधिकारीहरुले शिक्षकको कक्षा अवलोकन र पृष्ठपोषण भइरहेको पनि उनले बताए । शिक्षक मूल्याङ्कनका विभिन्न मापदण्डका आधारमा बर्सेनि उत्कृष्ट शिक्षकहरुलाई पुरस्कृत गर्ने परम्परा रहेको जानकारी दिँदै कमजोर अनुशासन भएका शिक्षकलाई दण्ड पनि दिने गरिएको पनि उनले बताए ।
करिब दुई घण्टाको अवलोकनको क्रममा अतिथिहरुले हरेक कक्षा कोठामा गई शिक्षकहरुसँग पनि अन्तरक्रिया गरेका थिए भने दिवा खाजा खुवाएको पनि प्रत्यक्ष अवलोकन गरेका थिए ।
प्रतिनिधिमण्डलमा बङ्गलादेशका अब्डुल हालिम, सोयड रसिद अल जायेड, फरिड अहमेड, जलाल उड्डिन, लुइस लिक, भारतका जुन्को ओनिशी, युनाइटेड स्टेटका हाल्से रोजर्स, युएसएका जेम्स ग्रेसम, माल्दिभ्सका मरियाम नासिर, र विश्व बैङ्कका सामिरा हलबीलगायतका अतिथिहरु थिए ।
प्रमण्डलको नेतृत्व विश्व बैङ्कका साचिको वाटौकाले गरेको उक्त प्रमण्डलमा पाठ्यक्रम विकास केन्द्रका निर्देशक शालिक राम भुषाल पनि रहेको थियो ।
भाषिक सहजीकरणको लागि विद्यालयको तर्फबाट शिक्षक धनकुमार श्रेष्ठ र टोलीको तर्फबाट दीपिका श्रेष्ठ र सुनिसा आहुजाले भूमिका निर्वाह गरेको थियो ।