नाट्य प्रज्ञा प्रतिष्ठानमा जिउँदो आकाश

कला/साहित्य समाचार

काठमाडौं, ५ असोज

अहिलेसम्म जिउँदो आकाश नाटक हेरेका तमाम दर्शकहरुको मूल भाव यो रह्यो– नाटक हेर्नुभन्दा अगाडि यौनिक तथा अल्पसङ्ख्यक समुदायप्रति हेर्ने दृष्टिकोणमा जुन सोच थियो, बदलिएको छ । जातिको कुरा गर्छौँ, क्षेत्रीयताको कुरा गर्छौँ तर एउटा मानिसले अर्को मानिसको संवेदना बुझ्दैन भने हामी २१ औँ शताब्दीको सभ्य नागरिक कसरी हुन सक्छाँै ?
ओझेलमा पारिएका अल्प सङ्ख्यकमध्ये तेस्रो लिङ्गी पनि एउटा समुदाय हो, जो जटिल सामाजिक संरचनामा जिउन बाध्य छ । राज्यबाट कानुनमा केही अधिकारहरू सुनिश्चित गरिए पनि व्यवहारिक जीवनमा खासै परिवर्तन पाइँदैन । जन्म दिएका कतिपय बुबाआमाबाट समेत उनीहरू अपहेलित हुनु परेको स्थिति छ । यही कारणले उनीहरू मानसिक रूपमा विक्षिप्त छन् । राज्यले उचित संरक्षण गर्न सकेको छैन । रोजगारीको पहुँचमा उनीहरू पुग्न सकेका छैनन् । समाजले वास्तविक कुरा बुझ्न सकेको छैन । विस्तारै विस्तारै यी अल्पसमुदायका सदस्यहरू संगठित हुँदै छन् । त्यो पनि सहरबजारमा मात्रै । दूरदराजका कतिपय पीडित छन् । आफ्नो पीडा न पचाउन सक्छन् न कसैलाई सुनाएर मन हलुका पार्न सक्छन् । अभिभावकहरू पनि हिनताबोधमा बाँचिरहेको स्थिति देख्न सकिन्छ । यो सबै अनविज्ञताको कारणले भएको हो भन्ने ठहर हाम्रो रहेको छ । प्राकृतिक रूपमा हामी जसरी जन्म्यौ, त्यसलाई त्यसैगरी स्वीकार्नु हाम्रो कर्तव्य हो जस्तो लाग्छ ।
यो नाटक नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको नाट्य महोत्सवमा पहिलो पटक २०७३ जेठ २९ गते चरीकोटको सिमपानी हलमा मञ्चन भएको हो । त्यसपछि काठमाडौमा २०७४ साउन १३ देखि २१ सम्म पहिलो चरण र फागुन ११ देखि २० गतेसम्म दोस्रो चरण गरी प्रदर्शन गरियो । साथै नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै भारतको आठौँ अन्तर्राष्ट्रिय ओलम्पिक फेस्टिभलमा सहभागी हुँदै फागुन २८ गते गुहाटी र ३० गते दिल्लीमा अत्यन्त सफलताका साथ यो नाटक देखाइएको थियो । २०७५ सालको नयाँ वर्षको सुरुवातासँगै पोखरा थिएटरको गन्धर्व नाटकघरमा समेत मञ्चन गरियो । अन्तर्राष्ट्रिय समलिङ्गी, दुईलिङ्गी, तेस्रो लिङ्गी तथा अन्तरलिङ्गीको घृणाविरुद्धको दिवस (मे १७ तारिक) को सङ्घारमा वैशाख ३१, जेठ १ र २ गते तीन दिन यो नाटक मन्त्री, संसद, सुरक्षा बलका उच्च पदाधिकारी तथा आम दर्शकमाझ यो नाटक देखाइएको थियो । यसका साथै झापा जिल्लाको दमक र बिर्तामोड बजारमा २०७५ जेठ ११ देखि २४ गतेसम्म यो नाटक देखाइएको हो । २०७५ साउन २६ देखि ३० गतेसम्म ललितपुरमा मञ्चन गरेको छ ।
हालसम्म यो नाटक ८५ पटकसम्म मञ्चन भइसकेको छ । दर्शकहरुको अत्यधिक माग भएकोले फराकिलो भएर अगाडि बढ्ने जमर्को गरेका छन् । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको सांस्कृतिक संस्थान यस अभियानमा सामेल भएको छ । यसै सिलसिलामा साइलेन्ट एक्टको प्रस्तुति तथा सांस्कृतिक संस्थान, राष्ट्रिय नाचघरको आयोजनामा जिउँदो आकाश नाटक–यात्रा २०७५÷७६ घोषणा गरिएको छ । नेपालभित्र मेची काली यात्रा गर्नुका साथै विदेशमा रहेका कैयन नेपाली तथा विदेशीहरूलाई समेत यो नाटक देखाउने योजना बनाएको राष्ट्रिय नाचघर, सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *