बौद्ध धर्मलाई भौतिकवादी दर्शनको रुपमा

विशेष समाचार समाचार

भक्तपुर,९ असार


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. १ स्थित कुथुबही परिसरमा रहेको चैत्यमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरे।

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले नेपाली वास्तुकलाको इतिहासमा चैत्यको महत्वपूर्ण देन भएको बताउदै अन्धविश्वासको विरुद्धमा उभिएको बौद्ध धर्मलाई भौतिकवादी दर्शनको रुपमा व्याख्या गर्नुपर्ने बताए।

चैत्य र विहार लोप हुनु भनेको त्यसको इतिहास समाप्त हुनु हो भन्दै प्रमुख प्रजापतिले छिमेकी देश भारतले गौतम बुद्धको जन्म भारतमा भएको प्रचार गरी संसारमा भ्रम फैलाइरहेको बताए । नेपालमा भारतको सांस्कृतिक अतिक्रमणका कारण बुद्ध नेपालमा जन्मेको प्रचार गर्नुपरेको जिकिर गर्दै प्रमुख प्रजापतिले समतामूलक समाज निर्माण गर्न वरिपरिको वातावरण शुद्ध हुनु आवश्यक भएको बताए।
भक्तपुर नगरपालिकाले शिक्षालाई उच्च प्राथमिकतामा राखी सात वटा शैक्षिक संस्थाहरू खोलेर देशभरका जनताको सेवा गर्दै आएको बताउदै प्रमुख प्रजापतिले ख्वप विश्वविद्यालय स्थापना गरी समाजलाई बुद्धिजीवीकरण गर्ने र भक्तपुरलाई उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न अग्रसर भइरहेको बताए ।

भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले वडामा भइरहेको विकास निर्माणको चर्चा गर्दै भक्तपुरका अमूल्य सम्पदाको महत्वबारे नयाँ पुस्तालाई पनि सिकाउँदै लानुपर्नेमा जोड दिए । भक्तपुर नगरपालिकाले नगरबासीहरूको स्वस्थलाई ध्यानमा राखी नगरका सबै वडामा शारीरिक व्यायाम सामग्री जडान गरिसकेको जानकारी गराए ।

कार्यक्रममा कुथुबही विकास समितिका अध्यक्ष सिद्धिरत्न शाक्यले भक्तपुर नगरपालिकाले लागु गरेको स्थानीय पाठ्यक्रमको महत्वबारे प्रस्ट पारे । अहिलेको शिक्षा प्रणालीले राष्ट्रिय र अन्तर्राष्ट्रिय ज्ञानमात्र दिइरहेको बताउदै उनले स्थानीय संस्कृति, सम्पदा, भाषा, लिपी र प्राचिन उपचार विधिलगायतबारे नयाँ पुस्ताका विद्यार्थीलाई शिक्षित बनाउन स्थानीय पाठ्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

कार्यक्रममा बौद्ध सम्पदा संघका अध्यक्ष त्रिरत्न शाक्य, चैत्य सम्पदा संरक्षण समितिका उपाध्यक्ष रत्नबाबु बज्राचार्य, मैत्रेय युवा संघका पूर्व अध्यक्ष तीर्थराज बज्राचार्य, बौद्ध सम्पदा संघका निवर्तमान अध्यक्ष पद्मसुन्दर शाक्य, सप्तचन्द्र बज्राचार्य, भन्ते धम्मशोभन महास्थवीर र धर्मचन्द्र शाक्यले पनि बोलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *