अब सिंहदबारभित्र पत्रकारलाई झन्झट, सर्वसाधारणलाई सास्ती र कर्मचारीलाई लगाम

राजनीति विशेष समाचार समाचार

काठमाडौं : मुलुकको प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा पत्रकारहरुले पाउँदै आएको सुविधा परिवर्तन हुने भएको छ। सूचना विभागको प्रेस पास भएका पत्रकारलाई सिंहदरबारमा सहज प्रवेशको व्यवस्था रहेकोमा अब भने थप प्रवेशपत्र लिनुपर्ने भएको हो।

पत्रकारले सिंहदरबार गेटमा पुगेर सुरक्षाकर्मीसँग वेग्लै पास लिएपछि मात्र भित्र जान पाउने व्यवस्था गर्ने तयारी गृह मन्त्रालयले गरेको छ। समाचार संकलनका लागि पुग्ने पत्रकारले सम्बन्धित मन्त्रालय जाने पास गेटमा उपलब्ध गराउने र त्यसबाहेकका अन्य ठाउँमा जान रोक लगाइने तयारी भएको हो। पत्रकार मात्र होइन, सर्वसाधारणका लागि पनि सिंहदरबार प्रवेश कठिन बनाउने तयारी छ।

‘सर्वसाधारणले जुन मन्त्रालयको पास पाउँछन् त्यही मन्त्रालयमा जाने पाउनेछन्। पत्रकारले पनि जुन बिट हेर्नछन्। सोही मन्त्रालयमा जानका लागि सुरक्षाकर्मीले पास जारी गर्नेछ,’ गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भने, ‘र, त्यस बाहेकको मन्त्रालयमा पत्रकार जान पाउने छैनन्।’

उनका अनुसार जुन मन्त्रालयबाट फोन आएर पास उपलब्ध गराइएको हो त्यहीमात्र सर्वसाधारण जान पाउनेछन्। अर्थात्, मन्त्रालयको आदेश पाएपछि मात्रै सिंहदरबार प्रवेश गर्न पाउने सर्वसाधारणले अर्को मन्त्रालयमा जानु परे पुन: गेटमा गएर फेरि पास लिनु पर्नेछ।

प्रवक्ता सुवेदीले भने, ‘यो हाम्रो पहिलेकै भिजन हो। सकेसम्म चाँडै लागू हुन्छ। यसले सिंहदरबारलाई व्यवस्थित गर्नेछ।‘

मन्त्रालयमा काम भएका सर्वसाधारणले मन्त्री भेट्न वा मन्त्रालयमा जानका लागि सम्बन्धित मन्त्रालय अथवा सिंहदरबार भित्रका संस्थाबाट पास मगाउनु पर्ने व्यवस्था रहँदै आएको छ।

सिंहदरबारको दक्षिणी गेटभन्दा अन्य गेटबाट कर्मचारीलाई निस्कन पनि कडाइ गरिएको छ। सरकारी कर्मचारी सेयर कारोबार हुने अवधिमा सिंहदरबार परिसरबाट बाहिरिने चलन बढेपछि कर्मचारीमाथि लगाम लगाउने तयारी भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *