राकस्था
भक्तपुर, ११ जेठ

कोभिड महामारीको सन्त्रास मत्थर भएको छैन, ठूला पार्टीहरूको सत्ता लुछाचुँडीले अर्को मोड लिएको छ । यो देखेर आमजनता झन् आजित भएका छन् । यसैबीच जारी नागरिकतासम्बन्धी अध्यादेशबाट नेपाली समाज क्षुब्ध बनेको छ । अब देशको भविष्ययात्रा कतातिर उन्मुख छ, दृश्य खुलिसकेको छैन । तर, हरेक बादलमा चाँदीको घेरा हुन्छ भनेजस्तो केही स्थानीय तहहरूले नेपाली समाजमा आशाको मसाल बालेका छन् । उदाहरणार्थ, भक्तपुर नगरपालिका ! आज यिनै विषयमा विवेचना गर्न तम्सिएको छु ।
धमिलो पानीमा माछा मारिँदै !
सुरुआतमा एउटा चल्तीको कथा भनौँ – घिउ बेचुवा र तरबार बेचुवाको !
घिउ बेच्ने र तरबार बेच्ने दुई मानिसको भेट भएछ एउटा हाटबजारमा । दुवैको सामान बिक्री भइरहेको थिएन । अबेर साँझसम्म पनि दुवैका सामान नबिक्नुमा खास कारण थियो । घिउ बेच्नेले डब्बाको मुखमा घिउ राखेर तल पिँडालु राखेको थियो भने तरबार बेचुवाले काठका केही तरबार तयार गरेर फलामको जस्तो रङ लगाएको रहेछ । घिउ बेचुवाले ग्राहकले चम्चाले तलसम्मको घिउ हेर्न खोज्दा त्यसो गर्न नदिँदा, घिउ बिक्ने कुरै थिएन । उता तरबार बेच्नेको तरबार समातेर कसैले केही काटेर जाँच्न खोज्दा ऊ रिसाउँथ्यो । बजार खाली हुन थाल्यो । दुई ठगहरू एकले अर्कोलाई झुक्याउन तम्सिए । दुवैले एकअर्कोको माल परख गर्ने कुरै भएन । बरु वाक्क भएका दुवैले आफ्नो सामानको गुणगान गर्दै एकअर्काको सामान साट्ने टुङ्गोमा पुगेछन् । दुवैजना दङ्ग भएछन् । तर, घर गई यथार्थ थाहा पाएपछि दुवैले आफ्नो पुर्पुरोमा हात राखे । यस्तै छन् हाम्रा सरकार र प्रतिपक्षहरू !
कोभिड महामारीले हतास र निराश बनाएका नेपाली जनताको पीडामा नुनचुक दल्दै देशका शासक दलहरू राजनीतिक सौदाबाजीमा व्यस्त छन् । सत्तासीन दल र प्रतिपक्ष दलहरू प्रस्तुत घिउ बेचुवा र तरबार बेचुवा कथाको पात्रका रूपमा प्रस्तुत भइरहेका छन् । नागरिकतासम्बन्धी अध्यादेश त्यसको एउटा उदाहरण हो ।
जनताले ‘आग्राको कुरा गरिरहेको बेला’ शासक पार्टीहरूले लामो समयदेखि ‘ग्राग्राको कुरा’ गरिरहेका छन् । करिब डेढवर्षदेखि देशमा राजनीतिक अस्थिरता, अन्योल र खिचातानीको खेलको तमासा भइरहेको छ । गुट तथा पार्टीगत स्वार्थको मोलमोलाइमा देश यतिसारो नगिजोलिएको भए सायद संसद् विघटनको स्थिति आउन्नथ्यो । यद्यपि, सत्तास्वार्थीहरूबाट मञ्चन भएको नाटकको पटकथा कसले लेख्छ र निर्देशन कसले गरिरेहेको छ भन्ने बुझ्न धेरै दुःख गर्नुपर्दैन अब । विक्रमको ७० को दशकयताका इतिहासको पाना पल्टाउँदा पनि यथार्थ गोचर हुन्छ, धेरै टाढा जानु पर्दैन । दुई बिरालाले झगडा गर्दा भाग लाइदिने निहुँमा बाँदरले सबै कुराउनी खाइदिएको कथाको अर्थ र सारबारे सचेत नेपाली अनभिज्ञ छैनन् । तर, कथा दोहोरिरहेको छ, पात्र फरक हुनसक्छन् ।
सरकार परिवर्तनको खेल चलिरहँदा खोलिएको रहस्यको पोको हो – नागरिकतासम्बन्धी अध्यादेश । दोस्रो जनअन्दोलनअगाडि सम्पन्न ‘दिल्लीमा भएको बार्हबुँदे सहमति’, संविधानसभाको निर्वाचन, ‘मधेस आन्दोलन’, मधेस आन्दोलनको समर्थनमा लादिएको नाकाबन्दी आदिको सूत्रधार निःसन्देह भारत थियो । भारतको इशारामा काम गर्ने नेपाली शासक दलहरू दिल्ली निर्देशित नाटकका नायक, खलनायक प्रमाणित भैसकेकै थिए । दोस्रो जनआन्दोलनलगत्तै नेका, एमाले, माओवादीहरूले नै लाखौँ भारतीय नागरिकलाई नेपाली नागरिकता दिएको घामजत्तिकै छर्लङ्ग छ ।
जेठ ७, २०७८ को राती डेढ बजे प्रतिनिधिसभा विघटन भएपछि सत्ता जोगाउन प्रम ओलीले नागरिकता अध्यादेश, २०७८ ल्याए । लामो समयदेखि बहसको विषय भइरहेको प्रस्तुत अध्यादेश सत्ता जोगाउन मधेसवादी दल ‘जनता समाजवादी दल’ को समर्थन प्राप्त गर्नकै लागि केपी ओलीले हतारमा ल्याएको चर्चा चलेको छ । यसबाट भारतीय संस्थापन पक्ष प्रसन्न हुने नै भयो ।
संसद् विघटन र नयाँ निर्वाचनको सन्दर्भमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले दिनुभएको प्रतिक्रियाको एक अंश यहाँ सान्दर्भिक छ । भारतको दुवै हातमा लड्डु रहेको उहाँको प्रतिक्रियाको सार हो – सत्ताबाहिर रहेका नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपाको माधव नेपाल गुट, राजपा र सत्ताधारी पार्टी सबै भारतकै पोल्टामा परेका छन् । नेमकिपाले भने नेपालको संविधान – ०७२ मा राखिएको नागरिकतासम्बन्धी कतिपय धाराउपधारामा फरक मत राख्दै आएको छ । २०४६ सालअगाडिको जन्मको आधारमा नागरिकता दिन नहुने भन्दै २०४६ को जनआन्दोलनपछि बनेको संसद्मा प्रस्तुत नागरिकता विधेयकको विरोध गर्दा नेमकिपाका अध्यक्ष रोहित ‘एक्ला वृहस्पति’ बन्नुभयो । संसद्मा तत्काल प्रतिनिधित्व गर्ने सबै दलले देशघाती नागरिकता विधेयकको समर्थन गरे ।
विदेशी नागरिकलाई सजिलै नागरिकता दिन नहुने पक्षमा अडिग रहेको पार्टी नेमकिपा नै हो । नागरिकताजस्तो संवेदनशील विषयमा मुलुकको अहितमा घातक प्रावधानहरू राखेर गैरनेपाली र आप्रवासीहरूलाई नागरिकता दिने गरी मार्गप्रशस्त गर्दै जाने हो भने नेपालको अस्तित्व नै समाप्त हुने खतरा बढिरहेको छ । जारी अध्यादेशले अङ्गीकृत नागरिकका सन्तानलाई वंशजको नागरिकता दिलाएर मुलुकका महत्वपूर्ण पदमा पुर्याउने बाटो खोलिदिएको छ । यसबाट नेपाल फिजी बन्ने खतरा अझै बढेको छ । तर, नेपाली जनताले भारतको दलाली गर्दै सत्ता टिकाउन खोज्ने शासकहरूलाई समयमै दण्ड दिने नै छन् ।
‘खै–खै’ प्रवृत्ति
“यसैले अब त म भन्छु, धिक्कारै होस् यी ‘खै–खै’ हरूलाई ! यिनले आत्मनिर्भर बन्न किन नजानेको ! सम्झाऊँ, शिक्षा दिऊँ, उल्टै झन् चित भइन्छ गुरु मान्ने त कताकता !” (पिँडाली, खै–खै –२०१६) ।
कोभिड महामारीमा अत्यावश्यक औषधी र अक्सिजनसहितका सामग्रीको अभाव भइरहेको भन्दै प्रधानमन्त्री केपी ओलीले नेपालको कोभिड–१९ प्रतिकार्यमा सहयोग गर्न विदेशी दातृनिकायहरूलाई अनुरोध गरेको सुनेपछि केशवराज पिडाँली लिखित हाँस्यव्यङ्ग्य ‘खै–खै’ को सम्झना गरायो ।
यो पङ्क्तिकार विद्यालयतहमा पढ्दाताका एकदिन एउटा सन्दर्भमा नेपाली विषय शिक्षकले पिँडालीको ‘खै–खै’ निबन्धको कुरा जोड्नुभएको थियो । ‘गुरुबा’ ले नेपालले ‘खै–खै भारत, खै–खै अमेरिका, खै–खै बेलायत’ भन्दै हात थाप्दै हिँडेको कुरा सुनाउनुहुँदा अमिलिएको मन आज करिब ३ दशकपछि पनि उस्तै छ । चुरोट खाने मान्छेको आदतका माध्यमबाट निबन्धकार पिँडालीले तत्कालीन समाज र राजनीतिलाई व्यङ्ग्य गरेका थिए तर ६ दशकसम्म पनि नेपाली समाजको नियति उस्तै छ । निबन्धकारले ‘खै–खै’ मा समाजमा भएको भ्रष्टाचार, गरिबमाथि धनीवर्गको थिचोमिचो, शासक वर्गीय नेताहरूको शोषण गर्ने प्रवृत्ति आदिलाई प्रस्ट पारेका छन् । ‘म देख्दछु, नेपालमा मान्छे प्राय सलाई किन्दैनन् । ‘खै खै’ मै निर्भर भएर चुरोट खान्छन् ।’ नेपाली शासक पार्टीहरूप्रतिको यो भन्दा चोटिलो व्यङ्ग्य अरू के होला !
घरमुली बिग्रिएपछि घर बिग्रिन्छ । जनता प्राणवायु नपाएर मरिरहेका छन्, नेपाली ‘निरो’ हरू सत्ताको लुछाचुँडीमा व्यस्त छन् । यतिबेला शासक पार्टी र मन्त्रीहरूलाई आममानिस सत्तोसराप गरिरहेका छन् – ‘राहतमा आएको सामानमा पनि र्याल काढ्ने निर्लज्ज शासक वर्ग !’, ‘कमिसनले चलेका मनुवाहरू !’, ‘घरमा आगो लगाई खरानी घस्दै हिँड्ने पटमूर्खहरू !’, ‘औकात नभएर पनि पदको हानाथापमा लाग्ने भस्मासुरहरू !’, ‘९ धार्नी चाकु खाएर पनि चाकुको स्वाद थाहा नपाएका सत्ताधारी वर्ग !’, ‘माल पाएर पनि चाल नपाएका देशका ठेकेदारहरू !’, ‘उमेर बढेका तर घैँटामा घाम नलागेका नवराजाहरू !’, ‘गाउँगाउँमा सिंहदरबार भन्दै सिंह बनी गाउँ लुट्ने नरपिशाचहरू !’, ‘देश खाएर शेष नराख्ने अघोरीहरू ¤’ जनतालाई धोका दिने सत्ताधारी वर्गलाई यस्ता जति गाली गरेपनि नेपालीको मनको तितो निख्रिँदैन सायद !
कोभिड महामारीमा नेपाली शासकहरू ‘दिनभर सुती बिताइ, राती बिस्कुन सुकाइ’ रहेका छन् । मन्त्रीहरूको काम ‘हतारमा लतार’ भनेझैँ भइरहेको छ । यता टाल्यो, उता भ्वाङ, उता टाल्यो यता भ्वाङ ¤ जताततै हाहाकारको स्थिति छ, अभाव र व्यथितिले व्यथित नेपाली कोभिड–१९ को ‘सुखद’ निसास (ह्यापी हाइपोक्सिया) मा परी कलकलाउँदो उमेरमै ज्यान गुमाइरहेका छन् – ‘शान्तिपूर्वक’ ? सरकार प्रमुख ‘आँधीमा सामान्य छाताले थेग्दैन’ भन्दै आत्मसन्तुष्टि लिँदै छन् । अमेरिकी समाचार संस्था सीएनएनसँगको अन्तर्वार्ताको क्रममा ‘नेपालमा महामारी नियन्त्रणमा रहेको’ भन्ने जवाफ दिएका प्रधानमन्त्री केपी शर्माओलीले त्यसको केही दिनपछि ‘नेपालमा कोरोना भाइरस सङ्क्रमण यो तहसम्म बढ्छ भन्ने आफूले नठानेको’ बताए । “हाम्रो इम्युन सिस्टम (प्रतिरोध प्रणाली) धेरै बलियो छ, त्यसकारण अलिअलि सर्ला तर यस तहमा चाहिँ वृद्धि हुन सक्दैन जस्तो लागेको” भन्दै विज्ञान र वैज्ञानिकको उपहास गरिरहेका छन् । सरकार प्रमुखले बोल्दा गम्भीर हुनुपर्ने हो । ढिलै भएपनि सायद चेत आयो । नेपालको हालको क्षमता हेर्दा अन्तर्राष्ट्रिय संस्था तथा विभिन्न देशसँग गुहार माग्नुको विकल्प भएन । तर, कहिल्यै ‘मागेका रोटीले पेट भरिन्न, खोसिएको धोतीले लाज छोपिन्न’ भन्ने चेत नआएसम्म जनताले सधैँ ‘उही नाम्लो उही कुम्लो’ को नियति भोगिरहनुपर्छ । जनताले कान्लामुनिको भ्यागुता कान्लामुनि भनेझैँ सदा पीडा भोगिरहनुपर्छ । शासकहरूको चेत समयमै खुलोस् !
भक्तपुरको आशा
सबै परनिर्भर भए, सबै बित्यो भन्ने निराश–भाव राख्ने मानिसको सङ्ख्या धेरै छ । तर, ‘सबै जोगीको कान चिरिएको’ हुँदैन । कालो बादल वरपर चाँदीको घेरा पनि हुन्छ । स्थानीय तहहरूले उत्कृष्ट काम गरिरहेका पनि छन् भन्ने उदाहरण छ । भक्तपुर नगरपालिकाले आफ्नो अस्पतालमा अक्सिजन प्लान्ट बनाउन सर्वसाधारणसँग आह्वान गरेको एकैदिन ३० लाख रुपैयाँ सङ्कलन भएछ । जनसहयोगबाटै करिब सवा करोडको अक्सिजन प्लान्ट बन्छ भने त्यो पनि स्तुत्य उदाहरण हुन्छ । यसको अतिरिक्त कोभिड महामारी नियन्त्रणको निम्ति विभिन्न सहकारी संस्थाहरू र सर्वसाधारणबाट करिब – करिब करोड रुपैयाँ भनपाको कोषमा जम्मा भएको रहेछ ! बधाई छ भक्तपुर नगरवासीलाई !
श्रमिकको पसिना लत्पतिएको कमाइ थोरै किन होस् त्यसको मूल्य धेरै हुन्छ । त्यसमा पनि विपत्तिमा एकताको भावना उर्लिनु अत्यन्तै स्वागतयोग्य कुरा हो । एउटा भनाइ पनि छ – ‘कोही कद र पदले ठूलो हुन्न, विपत्तिमा जो साथमा खडा हुन्छ त्यही असल साथी हो ।’ हातै पसार्नु छ भने आफ्नै दाजुभाइसँग पसारौँ ¤ स्वार्थको सम्झौता नगरी दिइने दानमात्र असली दान हो । दानमा किञ्चित् स्वार्थ राखिँदैन । चाहे त्यो दाताको नाम उल्लेख गर्ने विषय होस् । पटकपटक नाम घोषणा गर्न लगाएर, दानवीरको अलङ्कार भिरेर हिँड्ने रहर एक आत्मश्लाघा नै हो । जसरी हाम्रा पुर्खाले कुनै पाटी, ढुङ्गेधारा, इनार, कुलो, मन्दिर, पौवा बनाएर छोडे, त्यसैगरी आगामी पुस्ताको निम्ति आवश्यक भौतिक पूर्वाधार बनाउन सहयोग गर्ने मनहरू धन्यवादका पात्र हुन् ।
त्यसो त भक्तपुर नगरपालिकाले विदेशीको पैसालाई कहिल्यै निःसर्त स्वीकारेको छैन । भनपाले राम्ररी बुझेको छ, लिनेको हात जहिलेसुकै तल हुन्छ । केही लिएपछि केही दिनुपर्छ भन्ने नेपाली आदर्शलाई उसले हृदयङ्गम गरिरहेको छ । नत्र नुनको सोझो गरिरहनुपर्ने, दबाब र प्रभावमा परेर मनले स्वीकार नगरेका कामहरू गर्न पनि बाध्य हुनुपर्ने अवस्थाबारे सधैँ सजग देखिन्छ । २०७२ को भूकम्पपछि सर्वसाधारणको आवास तथा सांस्कृतिक सम्पदा पुनःनिर्माणको निम्ति करोडौँ युरो लिएर विदेशी नआएका पनि होइनन् । आफ्नो ठाउँ आफ्नै क्षमताले बनाउन चाहनु स्वाभीमानसँग जोडिएको विषय पनि त हो ! स्वाभीमान मानिसको मणि हो । जसको स्वाभीमान हुँदैन, त्यो मानिस मानिस रहँदैन ! स्राेतः अनलाइन मजदुर