न्यूज अपडेट
भक्तपुर, २३ कात्तिक

वागीश्वरी माध्यमिक विद्यालय कमलविनायकमा नयाँ भवनको शिलान्यास शुक्रबार सम्पन्न भएको छ ।
वागीश्वरी माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य एवं अग्रज मोहनप्रसाद प्रजापतिले नया“ भवनको शिलान्यास गरेको हो ।
शिलान्यास कार्यक्रमका प्रमुख अतिथि प्रजापतिले वागीश्वरी माविको भौतिक पूर्वाधार निर्माणको अनुभव बताउ“दै विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाहरुले भौतिक निर्माणका साथै शैक्षिक गुणस्तर वृद्धि गर्नमा पनि उत्तिकै मिहिनेत गर्नुपर्ने आवश्यकता औंल्याए ।

साथै उनले विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक कर्मचारीहरुले कर्मचारी मानसिकतालाई त्यागी विद्यालयलाई आवश्यक भएको समयमा समय दिन उत्प्रेरित हुनुपर्ने बताए । विद्यालय व्यवस्थापन समितिका तथा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भवन निर्माणमा संलग्न सबैले पारदर्शी रुपमा समयमै भवन निर्माण सम्पन्न गर्न अनुरोध गरे ।
बागमती प्रदेश सरकारबाट नमूना घोषित भएको यस विद्यालयले गर्ने कार्यहरु पनि नमूना हुनुपर्ने भन्दै उनले वागीश्वरी माविले नजिकै रहेका सामुदायिक विद्यालयलाई पनि सँगै अगाडि लगिरहेको बताए ।

विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन इकाईका भरत श्रेष्ठ, प्रा.डा सिद्धिवीर कर्माचार्य, विद्यालयका संयोजक पूर्व सहायक प्रधानाध्यापक ज्ञानसागर प्रजापतिलगायतको उपस्थिति थियो ।