खेलकुदमन्त्री दावा तामाङ भक्तपुर नगरपालिकामा

विशेष समाचार समाचार

न्यूज अपडेट
भक्तपुर, ५ बैशाख


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयका माननीय मन्त्री दावा तामाङबीच शनिबार नगरपालिकाको सभाकक्षमा भेट भयो । नगर प्रमुख प्रजापतिले मन्त्री तामाङलाई भक्तपुरको मौलिक भादगाउँले टोपी लगाइ नगरपालिकामा स्वागत गरेको थियो । भेटका क्रममा उनीहरुबीच नेपालमा खेलकुद क्षेत्रको विकास, सम्भाव्यता, चुनौती र भक्तपुरस्थित माहेश्वरी तथा सहिद स्मृति खेलमैदानको स्तरोन्नति गर्ने विषयमा छलफल भयो ।


भेटमा प्रमुख प्रजापतिले भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक विशेषताबारे अवगत गराउदै भक्तपुर नपालाई खेलकुद क्षेत्रमा अगाडि बढाउन नगरपालिका क्रियाशील रहेको र नगरपालिका आफैले विभिन्न खेलको प्रशिक्षण, प्रत्येक वर्ष अन्तरनगर तथा विद्यालयस्तरीय प्रतियोगिता आदि सञ्चालन गर्दै खेलाडीहरुलाई उत्साहित पार्ने गतिविधिमा जोड दिँदै आएको बताए । उनले मन्त्रीहरु स्थानीय तहहरुमा प्रत्यक्ष पुगेर त्यहाँको आवश्यकतालाई प्राथमिकता दिएर बजेट विनियोजन गर्दा राम्रो हुने बताए ।


भक्तपुरमा खेलमैदानको उचित व्यवस्था हुन नसक्दा खेलकुदले राम्रो फड्को मार्न सकेको बताउदै उनले भक्तपुर नपाभित्र अवस्थित माहेश्वरी र सहिद स्मृति खेलमैदान जग्गा स्वामित्वका कारण अगाडि बढाउन समस्या भइरहेको जानकारी दिए । उनले खेलमैदानको व्यवस्थासँगै भक्तपुरको खेलकुद क्षेत्र विकास स्वतःस्फूर्त ढंगले हुने आशा व्यक्त गर्दै भक्तपुर नपाले व्यवस्थित र योजनाबद्ध ढंगले खेलकुद गतिविधिलाई अगाडि बढाइरहेको बताए ।
भेटमा मन्त्री तामाङले सांस्कृतिक नगर भक्तपुरको भ्रमण गर्न पाएकोमा खुशी व्यक्त गर्दै भक्तपुरमा खेलकुद क्षेत्र विकासको निम्ति सहकार्य गर्न मन्त्रालय सकारात्मक रहेको बताए । भक्तपुरको खेलमैदानको जग्गा स्वामित्वबारे आवश्यक समन्वयको खाँचो रहेको बताउँदै उनले खेलकुद क्षेत्र विकासको निम्ति पूर्वाधार निर्माणमा आवश्यक सहयोग गर्ने बताए ।
नेपालमा खेलकुदको समग्र विकासका सम्भावनाहरुबारे अवगत गराउदै उनले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, विकास निर्माणलगायतमा गरेको रुपान्तरणमा नेमकिपाको ठूलो भूमिका रहेको र नेमकिपा विचार र सिद्धान्तमा प्रतिबद्ध पार्टी भएको बताए ।
भेटका क्रममा नगर प्रमुख प्रजापतिले मन्त्री तामाङलाई भक्तपुरको प्रसिद्ध मयुरको झ्याल र भक्तपुर नपाका प्रकाशनहरु मायाको चिनो स्वरुप प्रदान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *