विद्यालय जाने उमेर समूहमा कोरोना संक्रमण बढ्दो भर्चुअल माध्यमबाट पठनपाठन गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

विशेष समाचार शिक्षा समाचार स्वास्थ्य

न्यूज अपडेट
काठमाडौं, २७ चैत


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय १८ वर्षमुनिका व्यक्तिहरूमा कोरोना भाइरसको संक्रमण बढेको भन्दै विद्यालय ‘भर्चुअल’ माध्यमबाट सञ्चालन गर्न अनुरोध गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले अहिलेसम्मको संक्रमणको अवस्था हेर्दा औसत सात प्रतिशत संक्रमण १८ वर्षमुनिका व्यक्तिमा देखिएको र पछिल्लो समय वृद्धि भएको बताए।उनले भने, ‘हिजोका संक्रमण हेर्ने हो भने पनि १८ वर्षमुनिका १६ प्रतिशत संक्रमित छन्। अस्ति पनि धेरै छ। त्यसैले हामीले भर्चुअल माध्यमबाट पठनपाठन गर्नू, भीड हुने काम नगर्नू र नगराउनू भनेका छौँं। हामीले बन्द नै गर्नुस् भन्न मिल्दैन। सीसीएमसीलाई पनि हामीले त्यसका लागि अनुरोध गरेका छौँ।’

उनले पछिल्लो समय संक्रमण उकालो लाग्न थालेपछि सार्वजनिक रूपमा अपिल गरी भीडभाड नगर्न, स्वास्थ्यका मापदण्ड पालन गर्न अनुरोध गरिएको बताए। हिजो देशभर चार हजार छ जनाको पीसीआर परीक्षण गर्दा ३३२ जना संक्रमित भएका थिए। तीमध्ये १६ प्रतिशत १८ वर्षमुनिका व्यक्ति भएको स्वास्थ्य मन्त्रालयको भनाइ छ। छिमेकी देश भारतमा पछिल्लो समय संक्रमण बढ्न थालेसँगै नेपालमा पनि त्यसको प्रभाव देखिन थालेको छ। स्वास्थ्य मन्त्रालयले चैत २५ गते काठमाडौं, पोखरालगायतका ठूला सहरमा विद्यालय जाने उमेर समूहमा पनि संक्रमण बढ्ने क्रम रहेकाले सबै शैक्षिक संस्थाहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको थियो।

त्यसैगरी कन्ट्याक्ट टे«सिङ बढाउन, केस इन्भेस्टिगेसनका लागि एन्टिजेन तथा आवश्यकताअनुसार पीसीआर परीक्षण बढाउन पनि सबै स्वास्थ्य संस्था तथा स्थानीय तहहरूलाई मन्त्रालयले अनुरोध गरेको छ।
संक्रमणको अवस्था हेरी ठूला सहरमा ५०० र साना सहरमा १०० भन्दा बढी सक्रिय संक्रमित भए ती स्थानको आवागमनलाई कडाइका साथ गर्न गराउन पनि मन्त्रालयले अनुरोध गरेको छ।
मन्त्रालयले ठूला सहरमा सार्वजनिक यातायातमा यात्रा गर्दा भीडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नसमेत सबैमा अपिल गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *