लैंगिक हिंसाविरुद्ध सचेतना कार्यक्रम सम्पन्न

विशेष समाचार समाचार

न्यूज अपडेट
भक्तपुर, २५ मंसिर


भक्तपुर नपा वडा नं. ९ को आयोजनामा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यमा लैंगिक हिंसाविरुद्ध सचेतना कार्यक्रम बिहीबार भएको छ ।
कार्यक्रममा उपप्रमुख जोशीले लैंगिक हिंसा दिन प्रतिदिन बढिरहेको बताउनुहुँदै लिंगको आधारमा दिइने शारीरिक तथा मानसिक हिंसाको विषयमा नयाँ पुस्तालाई सचेत पार्नुपर्ने बताइन् ।

सामाजिक सञ्जालको दुरुपयोगले पनि हिंसाका घटनाहरु बढिरहेकोतर्फ ध्यानाकृष्ट पार्दै उपप्रमुख जोशीले भक्तपुर नपाले न्यायिक समितिमार्फत पीडितहरुको पक्षमा कार्य गर्दै आएको बताइन् ।

भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले जन्मदर्ता, विवाह दर्तालगायतका व्यक्तिगत घटना दर्ता समयमै वडामा गराउनुपर्ने आवश्यकताबोध गराउँदै समयमा दर्ता नहुँदा विवाहपश्चात महिलाहरुले नागरिकता प्रमाणपत्र लिन गा¥हो भएको, विवाह दर्तालाई अंशसँग जोडेर मानसिक यातनाहरु दिइरहेको यथार्थबारे प्रष्ट पारे ।

कार्यक्रममा अधिवक्ता अनिता जधारीले अनलाइन कक्षा सञ्चालन भइरहँदा विद्यार्थीहरुमा फेसबुक, युट्युव र टिकटकजस्ता सामाजिक सञ्जालको लट बसेको तर्फ सचेत हुनुपर्ने बताउँदै बच्चाहलाई आधुनिक सूचना प्रविधिको पहुँचमा राख्दा अभिभावकले समय–समयमा निगरानी राख्नुपर्ने बताइन् । कार्यक्रममा वडा सदस्य इन्द्रबहादुर प्याथले अष्ट्रेलिया, युरोप जाने लोभमा नयाँ पुस्ताका युवा–युवतीहरु अभिभावकको जानकारीविना वडा कार्यालयमा विवाह दर्ता गर्नेहरु बढिरहेको बताए ।
कार्यक्रममा वडा कार्यालयका कर्मचारी मीरा बासुकलाले पनि आफ्नो धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *