राजतन्त्रको भूत

विचार विशेष समाचार समाचार

न्यूज अपडेट
भक्तपुर, २१ मंसिर


नेपाली भाषामा एउटा उखान छ, सर्प मरेपनि उनको पुच्छर हलिरहन्छ । आज देशमा राजतन्त्र अन्त्य भएर गणतन्त्र स्थापना भएको १५ वर्ष पूरा भएको छ । तैपनि हालसम्म पनि पुरानो राजतन्त्रका पक्षपातीहरुले भने आफ्नो गतिविधि जारी राख्न छोडेका छैनन् । यस क्रममा मेची महाकाली अभियान नै सञ्चालन गरी उनीहरुले वर्तमन गणतन्त्र र दलीय सरकार विरुद्ध धावा बोल्ने गरेका छन् । प्रजातान्त्रिक मुलुक भएका कारण कुनै पनि राजनीतिक दल, नागरिक समाज वा दवाव समूहहरुलाई उनीहरुको असन्तोषलाई ब्यक्त गर्नका लागि लेख रचना लेख्ने, बोल्ने वा विभिन्न खालले अभिब्यक्त गर्ने अधिकार रहन्छ । तर यस्तो अधिकार छ भन्दैमा जथाभावी प्रजातान्त्रिक मूल्य मान्यता विपरीत चल्ने कार्य भने त्यति सुहाउँदो काम होइन । ७० वर्ष अगाडिदेखि थाति रहेको नेपाली जनताको माग अनुरुप संविधानसभाको गठन र संविधानसभाले तयार पर्ने गरेको संविधान अन्तर्गत बसेर कुनै माग, असन्तोष ब्यक्त गरेको भए त्यस कुरालाई सराहणीय कार्य भन्न मिल्थ्यो । तर गणतन्त्रको खिलापमा जाने कुरो भने यो समयमा सही होइन ।

जनता तयार भएर प्रजातान्त्रिक ब्यवस्था होइन कि देशमा तानाशाही कम्युनिष्ट ब्यवस्था नै लागू गर्ने अवस्था सिर्जना हुने बखत भने वर्तमान संविधान मान्दिनँ भन्न पाउनु जनताको राजनीतिक अधिकार हो । तर यो समय भनेको भरखर गणतन्त्र लागू भएर पुरानो अर्ध सामन्ती तथा अर्ध उपनिवेशिक ब्यवस्थाबाट मुलुक पूँजीवादको विकसित रुपमा पदार्पण हुन गइरहेको समय हो । त्यसो भएर यो समयमा यो हुन्न, त्यो हुन्न अनि यो पुगेन र त्यो पुगेन भनी कराउने बेला होइन । हालसालै आएको गणतान्त्रिक पद्धति र सो अनुसार स्थानीय निर्वाचन र प्रदेश तथा संघको निर्वाचन सकेर भरखर गणतन्त्र संस्थागत हुन गइरहेकै बखत राजतन्त्रका पक्षपातीहरुले आफ्नो गतिविधिलाई तीब्र पार्नु भनेको आफ्नो खुट्टामा आफै बञ्चरो हान्नु जतिकै घाटक सिद्ध हुन सक्दछ । घोर असन्तोषका बाबजुद पनि त्यो बेला राजतन्त्रलाई बन्धनमा पारी देशमा बहुदलीय प्रजातान्त्रिक पद्धतिको समर्थन गरेको थियो । त्यसैले पनि पुरानो राजा ज्ञानेन्द्रले यो समयमा देशमा भइरहेको राजतन्त्रको मागप्रति आफूहरुको कुनै संलग्नता नभएको अभिब्यक्ति दिएर हिड्ने गरेको पाइन्छ ।

हुन पनि देशमा गणतन्त्र ल्याउने कार्यमा वर्तमान प्रजातान्त्रिक नेताहरुको मात्रै हात दरिलो रहेनछ । विदेशी चलखेल बढाउने उद्देश्य राखी विदेशीकै इसाराले यहाँ राजदरवार काण्ड गराएर आज भन्दा पन्ध्र वर्ष अगाडि देशमा गणतन्त्र स्थापना भएको थियो । राजा बनवास गएको थियो । त्यो प्रक्रियालाई हेर्ने हो भने हामीले सजिलै वा एक थोपा पनि रगत बगाउन नपर्ने गरिकन देशमा गणतन्त्र स्थापना गरेका थियौं । माओवादी जनयुद्ध असफल भइरहेको र प्रजातान्त्रिक आन्दोलनले मूर्त रुप लिन नसकिरहेको त्यो समयमा दुई पक्षलाई संगै बस्ने वातावरण तयार पार्न गणतन्त्रको नाराले सार्थक गरेको थियो । त्यसमा विदेशी चलखेल रहेको पक्का थियो । किन भने त्यो भन्दा अगाडि भएको राजदरवार काण्ड पनि ज्ञानेन्द्रलाई दोषारोपण गरेको भएपनि त्यस भित्र विभिन्न खालका विदेशी एजेन्टहरुको हात रहेको कुरा सार्वजनिक हुँदै गइरहेको छ । दरवार हत्या काण्ड र त्यस पछिका कुरा हेर्ने हो भने देशमा गणतन्त्र आएको पनि नेपाली जनताको बलले भन्दा पनि विदेशी चलखेल बढाउन यहाँ गणतन्त्र चाहेको रहेछ भन्ने कुरा स्पष्ट भएको छ ।

यो समयमा गणतन्त्र लागू गरिनु हुन्न र नेपालमा राजतन्त्रको स्थानमा त्यतिकै सवल संस्था अर्को स्थापना हुन सकेको छैन भनी कतिपय नेताहरुले त्यो बेला अभिब्यक्ति दिने गरेको थियो । तर उनीहरुलाई त्यो बेला गणतन्त्र बिरोधी, राजावादी वा दरवारीया भनी दोषारोपण गरियो । आखिर कुरा त त्यस्तै रहेछ । कम्युनिष्टको नाममा पूँजीवादी शासन सञ्चालन गर्नेहरुले मजदुर र किसान जनताको कुरालाई कुनै वास्ता नगर्नु स्वाभाविकै थियो । अनि गणतन्त्र गणतन्त्र भन्दै आफूहरु टिक्ने मूल उपाय र आधार विदेशी आशिर्वाद भएको कुरा हाल आएर स्पष्ट भइसकेको छ । आज पनि जसले भारतीय उपनिवेशको बढी चाकरी गर्न सक्यो नेपालमा सोही राजनीतिक नेता प्रधानमन्त्री, मन्त्री हुने स्पष्ट भइरहेको छ । कम्युनिष्ट र कांग्रेस भनेको त उनीहरुको देखाउने दाँत मात्रै भइरहेको छ । हिजो जसरी शेरबहादुर देउवा पार्टी नै फुटाएर भएपनि प्रधानमन्त्री बन्न तयार भएको थियो । अहिले पनि त्यो भन्दा बढी परिवर्तन केही देखिएको छैन । केपी ओली, प्रचण्ड वा अन्य नेताहरु बीच देखिएको मेल, बेमेल वा वाकयुद्ध यस्तै सत्ता स्वार्थ र ब्यक्तिगत स्वार्थको परिणाम नै हो ।

निर्वाचित सरकारलाई हटाउन नसकिने कारण निर्वाचित सरकारलाई नै अनिर्णयको बन्दी बनाएर अस्थिरता कायम गरी देशमा प्रतिगमनलाई बधुवा दिने कार्य वर्तमान राजनीतिक नेताहरुले गर्ने गरेको पाइन्छ । त्यसैले पनि आज पुनः एकपल्ट देशमा राजतन्त्र वा सक्रिय राजाको माग भइरहेको हो । यो आन्दोलन आजको आन्दोलन मात्रै होइन । हिजो आफ्नो हातमा सत्ता रहेको बखत सत्ताको दुरुपयोग गरी ब्यक्तिगत लाभ लिइरहेका थुप्रै मानिसहरुले सो स्वाद छाड्न सकिरहेका छैनन् । त्यसलाई निरन्तरता दिनको लागि उनीहरुले कहिले राष्ट्रिय प्रजातन्त्र पार्टी भनेर पुराना पंचहरुको संगठन खडा गर्याे । कहिले प्रजातन्त्रको मुकुण्डो लगाएर विभिन्न खाले अराजकतावादी गतिविधिमा संलग्न भइरहे । आज पनि राजालाई नै थाहा नदिएर राजालाई अगाडि ल्याउने खेल उनीहरु बीच अगाडि बढिरहेको छ । यो भोलि आफूहरु सत्तामा पुगेर पुनः हिजो जस्तै राज गर्ने काइदा मात्रै हो ।

कुनै नेताले केही भन्यो भन्दैमा त्यसलाई हुबहु पालना गर्नु सही होइन । राजनीतिक सिद्धान्त, विचार र आदर्शलाई सर्वोपरी मानेर त्यसको आधारमा देशमा नयाँ पद्धतिको विकास गर्नु राम्रो पक्ष हो । तर बर्तमान समयमा डबल नेकपाभित्र उब्जिएको अन्योल, असमझदारी वा द्धन्दलाई नियालेर हेर्ने हो भने स्वार्थी स्वार्थी बीचको एकताको कारणले मात्रै बेमेल हुन पुगेको हो भन्ने देखिन्छ । हिजोसम्म अलग्ग अलग्ग झण्डा, अलग्ग अलग्ग नै चुनाव चिन्ह र आफ्नै मान, मर्यादा र आचरणमा रहेका ती दुई राजनीतिक दल बीच एक स्थानमा बस्ने बखत उनीहरुले आफूहरुले पनि केही त्याग्नु पर्ने हुन सक्छ, अरुलाई पनि केही त्याग गर्न लगाउनु पर्ने हुन सक्छ । तर त्यसो भएन । आजीवन नै आफू मात्रै नेता र अध्यक्ष वा देशको प्रधानमन्त्री बन्ने निहित स्वार्थले मात्रै पार्टी एकता अनि दुई तिहाई बहुमत सिद्ध गरेको पाइयो । त्यसैले पनि देशमा राजतन्त्रको भूत जाग्ने गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *