चिकित्सकको सुरक्षा कवच पिपिईको अभाव, राजधानीका कुन अस्पतालमा के छ अवस्था?

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

व्यक्तिगत सुरक्षात्मक उपकरण अर्थात् पिपिई, संक्रमित तथा आशंका गरिएकाको उपचार तथा परीक्षणका क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि अनिवार्य मानिन्छ।

संक्रमित बिरामीको उपचार गर्दा स्वास्थ्यकर्मीलाई पिपिईको खाँचो पर्छ। मास्क, हेल्मेट, हेड कभर, बुट, गाउन, पञ्जा, चस्मा पिपिई अन्तर्गत पर्दछ। जसले स्वास्थ्यकर्मीलाई बिरामीबाट हुन सक्ने संक्रमण तथा जोखिमबाट सुरक्षा प्रदान गर्छ।

स्वास्थ्यकर्मी नै हुन्, जो बिरामीको सिधा सम्पर्कमा आउँछन्। बिरामी निको नभएसम्म चिकित्सक तथा स्वास्थ्यकर्मी उनीहरुको लामो सम्पर्कमा रहनुपर्छ।

जसलाई कोरोना भाइरसको संक्रमणको सबैभन्दा बढी जोखिम र खतरा छ, ती चिकित्सक नै हुन्। त्यसैले कोरोनाको संक्रमणबाट बच्न पिपिई स्वास्थ्यकर्मीका लागि सुरक्षा कवज नै हो। तर, नेपालमा अहिले पिपिईको अभाव हुन थालेको छ।

सरकारले कोरोना संक्रमितको उपचारका लागि एक हजार आइसोलेसन वार्ड र २ सय ३५ आइसियु शय्याको व्यवस्था गर्दैछ। तर त्यही आइसोलेसनमा उपचार गर्नका लागि अनिवार्य मानिएको पिपिईको भने अभाव भएको छ।

काठमाडौंको प्रमुख सरकारी अस्पतालमा पनि पिपिईको अभाव हुन थालेको छ। कतिपयले मागेर चलाएका छन् भने कति अस्पतालले जसोतसो जोहो गरिरहेका छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सिभिल अस्पताल, कान्ति बाल अस्पताल र प्रसुति गृह अस्पतालमा पिपिईको अभाव हुन थालेको छ।

एकैपटक धेरै बिरामी आए धान्न मुश्किल छ : शुक्रराज अस्पताल 
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई हाल कोरोना संक्रमितको उपचारका लागि मात्र भनिएको छ। कोरोनाको आशंका दैनिकजसो बिरामी शुक्रराज अस्पताल पुग्छन्। तर यस अस्पतालमा पनि पिपिईको अभाव हुन थालेको छ।

अस्पतालका निर्देशक डा. सागरराज भण्डारीका अनुसार मुश्किलले करीब दुई हप्तालाई पुग्ने पिपिई मात्र छ। तर, बिरामीको संख्या बढे हाल रहेको पिपिईले नपुग्ने उनले बताए।

उनले भने, ‘कन्जुसाई गरेर प्रयोग गर्‍यो भने १०/१५ दिनलाई पुग्ने पिपिई मात्र छ। यदि केस बढ्यो भने धान्न मुश्किल पर्छ।’

बजारमा पिपिई नपाइने भएकाले खरिद गर्न पनि सहज नभएको उनले बताए। तर, जसरी हुन्छ, थप पिपिई ल्याउने तयारी भएको उनको भनाई छ।

‘बजारमा सजिलै नपाइने भएकाले कसरी ल्याउने भन्ने छ,’ उनले भने, ‘हामी थप पिपिई ल्याउन तयारी गर्दैछौ।’

कहाँबाट कसरी ल्याउने भन्ने बारे छलफल हुँदैछ : पाटन अस्पताल
शुक्रराज अस्पतालपछि हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाका शंकास्पद बिरामीको उपचार हुन्छ। यस अस्पतालमा पनि पिपिई कसरी र कहाँबाट ल्याउने भन्ने विषयले नै चिन्तित बनाएको छ।
हुन त हाल अस्पतालमा पिपिईको अभाव छैन। शंकास्पद बिरामीको उपचार भइरहेको छ। तर, समस्या उही हो, एकै पटक धेरै बिरामी आए के गर्ने?

अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्मा भन्छन्, ‘अहिले जसोतसो काम भइरहेको छ। अभाव भइसकेको छैन। अभाव हुन नदिन थप पिपिई ल्याउने तयारी हुँदैछ। तर, कहाँबाट कसरी ल्याउने हामी छलफल गर्दैछौ।’

सीमित बिरामी मात्र उपचार गर्न सक्छौँ : वीर अस्पताल
मुलुककै पुरानो वीर अस्पतालले सीमित बिरामी मात्र उपचार गर्न सक्ने पिपिई भएको बताएको छ। उपकुलपति डा. डीएन शाहका अनुसार हाल अस्पतालमा पिपिईको अभाव छैन। तर, एकैपटक धेरै बिरामी आए उपचार गर्न सक्ने पनि पिपिई अस्पतालसँग छैन।

डा. शाह भन्छन्, ‘अहिले केही पिपिई हामीसँग छ। तर, एकैपटक धेरै बिरामी आयो भने समस्या हुन्छ। थप पिपिई खरिद गर्न हामी तयार छौं। तर, बजारमा पाइएको छैन।’ थप पिपिईका लागि स्वास्थ्य मन्त्रालयलाई आग्रह गरिएको उनले बताए।

मागेर काम चलाएका छौ : त्रिवि शिक्षण अस्पताल
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पनि पिपिईको अभाव छ। उपचारलाई असर हुन नदिन पिपिई मागेर चलाएको अस्पतालका निर्देशक डा. प्रेमकृष्ण खड्गाले बताए।

उनले भने, ‘पिपिईको अभाव छ। अहिले मागेर काम चलाएका छौं। सवैतिर माग्दैछौं। खरिद गर्नका लागि बजारमा पनि अभाव छ।’

पिपिई खरिदका लागि स्वास्थ्य मन्त्रालय तथा अन्य दातृ संस्थासँग अनुरोध गरिएको उनले बताए।

हाल पिपिईको अभाव छैन : कान्ति बाल अस्पताल 
कान्ति बाल अस्पतालमा हाल पिपिईको अभाव छैन। अस्पतालले पिपिईको अभाव हुन नदिन ५० वटा गाउन सिलाएको छ। ओपिडिमा रुघाखोकी र ज्वरो परीक्षण गर्ने चिकित्सकका लागि २० वटा पिपिई रहेको अस्पतालका निर्देशक डा. कृष्णप्रसाद पौडेलले बताए।

अमेरिका नेपाल मेडिकल फाउन्डेसनले पनि कान्ति बाल अस्पताललाई २० पिपिई सहयोग गरेको छ। अस्पतालले हाल १५ पिपिई पनि खरिद गरेको डा. पौडेलले जानकारी दिए।
उनले भने, ‘हाल अस्पतालमा पिपिईको अभाव छैन। तर हामी अभाव हुन नदिन थप पिपिई खरिदका लागि पनि प्रक्रिया सुरु गरेका छौं।’

महामारी भए अभाव हुन्छ : सिभिल अस्पताल
सिभिल अस्पतालमा पनि हाल पिपिईको अभाव नभएको निर्देशक डा. दीर्घराज आरसीले बताए। नेपालमा कोरोनाको महामारी फैलि नसकेकाले अस्पतालमा पिपिईको अभाव नभएको उनको भनाई छ।
तर, नेपालमा महामारी फैलिए पिपिईको अभाव हुने उनले बताए। उनले भने, ‘नेपालमा महामारी भएको खण्डमा मात्र अभाव हुने हो। अहिले काम चलिरहेको छ। केही स्टकमा पनि छ।’

हाल ३५ पिपिई छ : प्रसूति गृह
थापाथलीस्थित परोपकार तथा प्रसूति तथा स्त्रीरोग अस्पतालमा हाल ३५ पिपिई उपलब्ध छ। कुनै शंकास्पद बिरामी आए मात्र धेरै पिपिईको आवश्यक पर्ने अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले बताए। तर, अन्य अस्पतालमा जस्तै प्रसुति गृहमा पनि बिरामी आए पिपिईको अभाव हुन सक्ने उनले बताए।

कसरी व्यवस्थापन गर्दैछ स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका प्रवक्ता डा. विकास देवकोटाले पिपिईको अभाव नेपालमा मात्र नभई विश्वव्यापी रुपमै भएको बताए।

पिपिईको अभाव हुन नदिनका लागि खरिद प्रक्रिया सुरु गरिएको उनले बताए। विदेशबाट पनि कसरी ल्याउन सकिन्छ भनेर सहजीकरण भइरहेको उनले जानकारी दिए। तर, मन्त्रालयसँग केही पिपिई मौज्दात रहेको उनले जानकारी दिए।

उनले भने, ‘आवश्यकता अनुसार खरिद गर्ने हो। अहिले पनि दैनिक पाँच सयदेखि हजारसम्म पिपिई आउँछन्। हामीले आवश्यक परेका अस्पताललाई दिने हो। त्यसैले मौज्दातमा यति नै छ भन्ने हुँदैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *