परम्परागत धान नाच पर्यटन प्रवर्धनको आधार

अर्थ/वाणिज्य कला/साहित्य मनोरञ्जन विशेष समाचार समाचार

ताप्लेजुङ, २५ फागुन


नेपाल सांस्कृतिक विविधताले भरिपुर्ण देश हो । नेपालमा बसोबास गर्ने विभिन्न जातजाति तथा समुदायको आ–आफ्नै भाषा, भेषभुषा, कला र संस्कृति छ । जसरी घाम र पानीको संगमबाट बनेको ईन्द्रेणीले सबैलाई आकर्षित गरेको हुन्छ, उसै गरी हिमाल, पहाड र तराइमा बसोबास गर्ने विभिन्न जातजाति र समुदाय सम्वद्ध मौलिक संस्कृतिले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने गरेको छ । विभिन्न जातजाति र समुदायको पहिचानसँग जोडिएका भाषा, कला, संस्कृतिले नेपालको पहिचानलाई फराकिलो र विशेष बनाएको छ ।

हाम्रो मुलुकको सन्दर्भमा पर्यटन प्रवर्धनमा मौलिक संस्कृतिको गतिलो योगदान छ । मुलुकका विभिन्न भूगोलमा बसोबास गर्ने जातजाति र समुदायको मौलिक संस्कार, संस्कृति फरक–फरक छन् । विभिन्न भाषा, कला, संस्कृतिले भरिपूर्ण लिम्बू समुदायमा पनि छुट्टै मौलिक संस्कृति रहेको पाइन्छ । लिम्बू समुदायको बाक्लो बसोबास रहेको पूर्वी नेपालको पर्यटन प्रवद्र्धनमा उनीहरुको समेत भाषा, भेषभुषा र कला संस्कृतिले योगदान पुर्‍ याएको पाइन्छ । उनीहरुले आफ्नै भाषामा बोलेको सुन्दा, आफ्नै भेषभुषा पहिरिएर हिँडेको देख्दा अनि आफ्नै कला संस्कृतिमा रमाएको देख्दा जो कोहीलाई पनि आनन्द लाग्छ । विशेष गरी आफ्नो भेषभुषा सहित आफ्नै भाषामा पालाम गाउँदै एक आपसमा हात समाई नाचिने धान नाच सबैको आकर्षणमा पर्ने गरेको छ ।

धान नाच र पालाम लिम्बू समुदायको लोकप्रिय मौलिक कला संस्कृति हो । विभिन्न चाड पर्व, मेला महोत्सव, विवाह, सुद्धाई जस्ता कर्म कार्यमा धान नाच्ने गरिन्छ । केही वर्ष अघिसम्म विरलै रुपमा देखिने धान नाच अहिले पूर्वका हरेक मेला, महोत्सव र विवाह जस्ता कार्यमा देख्न पाईन्छ । पछिल्लो समयमा धान नाचप्रति युवा पुस्ताको आकर्षण समेत बढ्दै गएको छ । कहिले काहीँ विदेशी पर्यटक समेत आकर्षित हुँदै हात समाई धान नाच्ने गरेको देख्न पाइन्छ । धान नाच्दा पालाम अनिवार्य गाउने गरिन्छ । केटा र केटी पक्षबीच सवाल जबाफ गर्दै पालाम गाउने गरिन्छ । धान नाच्नु अघि एक आपसमा परिचय गरी साईनो सम्बन्ध केलाइन्छ । साइनो नलाग्ने भए धान नाच्ने निधो गरिन्छ । पालाम गाउँदै धान नाँच्दा कतै गल्ती कमजोरी भइहाले माफ पाउँ भनेर अग्रिम रुपमा दुवै पक्षले हात जोडेर विन्ति गर्ने चलन रहेको किराँत समुदायका अगुवा विविहाङ वनेमले बताए । पालाम अति भावुक हात समाई पालाम गाउनु अघि गाउँदै, नाँच्दै जाँदा हुने गल्ती कमजोरी प्रति अग्रिम हात जोडेर विन्ति गरी सुरु गरिन्छ । विरहका भाकाहरु मिसाउँदै पालाम गाइन्छ । पालाम गाउँदा जीवनमा आउने सुख, दुःखका अनुभुति र मिलन विछोडका पक्षलाई भावुक ढंगले समेटिन्छ । पहिले पहिले पालाम गाउँदै धान नाचेर माया पिरती लगाई उसैबेला जोडि बाँधिने निधो हुन्थ्यो ।
धान नाँच्दा नाँच्दै पालामकै भाकामा कुरा गरेर बैवाहिक बन्धनमा बाँधिएका उदारण प्रसस्तै भेटिन्छन् । तर पछिल्लो समयमा धान नाँच्ने शैली फेरिँदै गएकाले यसको ऐतिहासिक महत्व र पहिचान मेटिने खतरा बढ्दै गएको स्थानीय बताउँछन् । जसरी पश्चिम नेपालमा देउडाको गीत र नाचको लोकप्रियता छ, उसै गरी लिम्बू समुदायको बाक्लो बसोबास रहेको पूर्वी नेपालमा धान नाच र पालामको ।

धान नाच र पालामकोे सुरुवात बारे एउटा रोचक किंम्वदन्ति छ । स्थानीय गजेन्द्र तुम्याहाङका अनुसार परापूर्वकालमा सबैतिर खानेकुराको अभाव (अनिकाल) सृजना भयो । अन्नपात उत्पादनका लागि बीउ सम्म रहेन । कसरी अन्नपात उत्पादन गर्ने भनेर अनेकौ उपाय खोजियो । तर कुनै अन्नपातको बीउ नै नभेटिएपछि केही सिप लागेन । अन्तिममा उडेर जताततै पुग्ने चरालाई बीउ खोज्न पठाउने निधो भयो र उक्त चराले बीउ खोजेर ल्याए उत्पादन भएको अन्न बराबर उपभोग गर्ने सहमति भयो । त्यसपछि उक्त चरा बीउ खोज्न निस्कियो । धेरै ठाउँ पुग्यो तर कतै पाएन । एकदिन अचानक त्यो चरा तागेरा निङ्वाभुमाङकोमा पुगेछ र तागेरा निङवाभुमाङले धानको बीउ दिएर पठाएछन् । उक्त बीउ लिएर चरा मानिसहरु भएको ठाउँमा फर्कियो । चराले ल्याएको बीउबाट उनीहरुले धान खेती गरे । त्यसपछि धान पाक्यो र थन्क्याउने सिजन आयो । धान काटेर खलोमा जम्मा गरे । तर चरालाई भने नदिने निधो गरे । खलोमा धान जम्मा गरिए पछि चराहरु उडेर आउन थाले । तिनै चरालाई छेक्न र धपाउन सबैले एक आपसमा हात समाई गोलाकार भएर खुट्टाले धान माड्दै छुई हा हा हा भन्न थाले । छुई हा हा हा भन्न थालेपछि चराहरु पर पर भाग्न थाले । यो क्रम हरेक वर्ष निरन्तर चल्यो र कालान्तरमा आएर धान नाचमा परिणत भयो । यसरी विकसित भएको परम्परागत धान नाचलाई संरक्षण गर्न लिम्बू समुदायले मात्रै नभई सबै पक्षले आ–आफ्नो क्षेत्रबाट सक्दो पहल र प्रयास गर्नुपर्नेमा स्थानीयको जोड छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *