तरकारी तथा फलफूलहरू विना परीक्षण उपभोग गर्न दिन नहुने : प्रमुख प्रजापति

विशेष समाचार समाचार स्वास्थ्य
भक्तपुर, २७ असार
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्रको आयोजनामा मेरो वर्ष अभियान २०७६ अन्तर्गत बिहीबार स्वास्थ्य प्रवद्र्धन मेरो वर्ष अभियान, महामारी, सर्ने, नसर्ने रोग रोकथाम प्रजनन् स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विदेशबाट आयात हुने तरकारी तथा फलफूलहरू विना परीक्षण उपभोग गर्न दिन नहुने बताए । तरकारीमा हुने विषादी प्रयोगले जनस्वास्थ्यमा विभिन्न नकारात्मक असरहरू परिरहेको बताउँदै उनले नाफाको निम्ति जनताको स्वास्थ्यलाई असर पार्नेहरूलाई कारबाही गर्नुपर्ने बताए । उनले कृषि प्रधान देशले अरबौं रुपैयाँको खाद्यान्न आयात गर्दा देशलाई आर्थिक भार बढ्ने बताए ।
प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रमा नयाँ नयाँ उपकरणहरू जडान गरी सेवाहरू थप्दै लाने बताउँदै नगरपालिकाले विभिन्न रोगबारे शिविर सञ्चालन, कडा रोग लागेका नगरबासीहरूलाई आर्थिक सहयोग दिंदै आएको बताए ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले तरकारी तथा फलफूलमा अन्यधिक विषादी प्रयोगले क्यान्सर रोगको जोखिम बढिरहेको हुँदा विदेशबाट आयात हुने तरकारीहरूको परीक्षण गरेर पनि बजारमा पठाउनुपर्ने बताए ।
सर्ने रोग नियन्त्रण गर्न सकिने तर नसर्ने रोगले दीर्घ जीवनसम्म दुःख दिने हुँदा नर्से रोगबारे जनतालाई सचेत बनाउन आवश्यक भएको बताउँदै वडाध्यक्ष ज्याख्वले सभ्य समाज निर्माणको निम्ति नयाँ पुस्ताका युवाहरूलाई कुलत र दुव्र्यसनीबाट जोगाउनुपर्ने बताए ।
कार्यक्रममा जनस्वास्थ्य केन्द्रका इन्चार्ज डा. रत्नसुन्दर लासिवाले आधुनिक जीवनशैलीले नसर्ने रोगको जोखिम बढिरहेको जिकिर गर्दै नसर्ने रोग न्युनीकरणतर्फ जनस्वास्थ्य केन्द्रले जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरिरहेको बताए ।
कार्यक्रममा सहरी जनस्वास्थ्य केन्द्रका इन्चार्ज कमलकेशरी राजचल र नर्स रचना सुवालले नसर्ने रोगको जोखिम न्युनीकरणसम्बन्धी जनचेतनामूलक प्रस्तुतीकरण देखाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *