ख्वप इन्जिनियरिङ कलेजमा दशैं र तिहारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

विशेष समाचार समाचार

 

न्यूज अपडेट संवाददाता

भक्तपुर, २४ असोज

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा आइतबार दशैं र तिहारको अवसरमा शिक्षक तथा कर्मचारीहरुबीच दशैं र तिहारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेँले राजनीतिमा महिलाहरुको सहभागिता कम भएका कारण समाज आर्थिक, सामाजिक र राजनीतिक रुपमा पछाडि परेको बताए ।

शासक दलहरुले जनताको चेतनास्तरअनुसार काम गर्न नसकेको बताउँदै उनले भने — सांसदहरु जनताको सेवाभन्दा पनि राज्यको ढुकुटी रित्याउनमै रमाइरहेका छन् ।

नेपालमा प्रगतिशील सरकार स्थापना गर्न नेमकिपा निरन्तर संघर्षरत रहेको बताउदै अध्यक्ष बिजुक्छेँले राजनीति गर्ने शासक दलहरुले आफ्नो अवसरवादी नीति अघि सार्ने परम्पराले गर्दा नागरिकहरुले राजनीतिलाई हेर्ने दृष्टिकोण नै फरक हुँदै गएको बताए ।

राजनीतिक पार्टीका नेता कार्यकर्ताहरुले आफ्नो व्यक्तिगत स्वार्थ भन्दा देशको स्वार्थलाई महत्व दिने हो भने राजनीतिप्रति जनताको विश्वास बढ्दै जाने उनले बताए ।

भक्तपुर नपाले सम्पदा पुनःनिर्माणमा गरेको प्रगति र उपलब्धी सबैको लागि अनुकरणीय रहेको बताउदै अध्यक्ष बिजुक्छेँले विदेशी सहयोगमा निर्मित उपत्यकाका सम्पदा पुनःनिर्माण तथा विकास निर्माणका गतिविधिहरुका कारण नेपालको सार्वभौमिकतामाथि आँच पुगेको बताए ।

कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नजिकिँदै गरेको दशैंको शुभकामना दिन्दै चाडपर्व र संस्कृति प्रगतिशील तरिकाले मनाउनुपर्ने बताए ।

देशको राजनीति राम्रो भए सबै क्षेत्र सन्तुलित र विकसित हुने बताउँदै उनले सरकारले शिक्षा तथा अनुसन्धानमा न्यून लगानीकै कारण आज देश आर्थिक रुपमा पछाडि परेको बताए ।

देशघाती एमसीसी सम्झौताको विरुद्ध बौद्धिक समुदायले सशक्त ढंगले आवज उठाउनुपर्ने बताउँदै प्रमुख प्रजापतिले एमसीसी सम्झौता ‘गुलियो पोतेको विष’ सरह भएको बताए ।

कलेज व्यवस्थापन समितिका उपाध्यक्ष रजनी जोशीले इन्जिनियर तथा प्राविधिक कर्मचारीहरु समाजसँग घुलमिल भएर काम गर्नुपर्नेमा जोड दिदै भक्तपुर नपाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई बढी प्राथमिकतामा राखेकै कारण आज अरु स्थानीय निकायको तुलनामा भक्तपुर नपाले अनुकरणीय कार्यहरु गर्न सफल भएको बताए ।

कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले सञ्चालक समितिले गरेका महत्वपूर्ण निर्णय तथा कलेजका गतिविधिहरुमाथि प्रष्ट पारे ।

प्रमुख अतिथि बिजुक्छेँले कलेजको आयोजनामा विभिन्न खेल प्रतियोगिताका विजयीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *