तारा माविमा नवआगन्तुक विद्यार्थीलाई स्वागत 

विशेष समाचार शिक्षा समाचार
भक्तपुर, ४ जेठ
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले शिशुस्याहारदेखि विश्वविद्यालयसम्मको शिक्षा दिने उद्देश्यले विभिन्न कलेजहरूको स्थापना गरेको बताउँदै  चरित्रवान र नैतिकवान व्यक्तिले मात्र समाजको निम्ति इमानदारीपूर्वक काम गर्ने बताएका छन् ।
शुक्रवार आयोजित तारा माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०७६ मा भर्ना भएका ७४ जना नवआगन्तुक विद्यार्थीहरूको स्वागत तथा वार्षिक पुरस्कार वितरण कार्यक्रममा नगर प्रमुख प्रजापतिले असल नागरिक र चरित्रवान नागरिक बन्न अध्ययन गर्न विद्यार्थीहरूमाझ बताएको छ ।
उनले माथिल्लो तहमा पुगेकाहरू स्वार्थी, अवसरवादी र आपराधिक चरित्रका भएका कारण जनताले दुःख भोगिरहेको बताउँदै राजनीतिलाई व्यापारीकरण र अपराधीकरणबाट मुक्त बनाउनुपर्नेमा जोड दिए ।
उनले उच्च शिक्षा अध्ययन गर्न विषय छनोटको अधिकार विद्यार्थीलाई दिनुपर्छ भन्दै भक्तपुर नगरपालिकाले राजनीतिशास्त्र, इतिहास, संस्कृति र भूगोल आदि विषय लिएर पढ्ने विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था गरेको बताए ।
२०७५ सालको वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीहरूलाई पुरस्कार वितरणसमेत गरिएको उक्त कार्यक्रममा भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष कुमार चवालले भक्तपुरका सामुदायिक विद्यालयहरूले देशकै नमुना विद्यालयको रुपमा गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने र विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप र व्यवहारिक ज्ञान पनि दिनु आवश्यक रहेको बताए ।
संयुक्त परीक्षा समिति भक्तपुरका अध्यक्ष अम्बिका न्याइच्याइँले विद्यार्थीको सर्वाङ्णीण विकासको निम्ति अतिरिक्त क्रियाकलाप र विभिन्न प्रतियोगिताहरूको आवश्यकता औंल्याउँदै देशको लागि आवश्यक सक्षम र जवाफदेही नागरिक तयार गर्न विद्यार्थीहरूले जोड दिनुपर्ने बताइन् ।
विद्यालयका प्रधानाध्यापक पुष्पलाल सुजखुले नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गरेर स्थानीय भाषा, कला, संस्कृतिको संवद्र्धन गर्न खोजेको बताउँदै विद्यालयको वार्षिक प्रगति विवरण प्रस्तुत गरे ।
कार्यक्रममा विद्यालयका संस्थापक तथा विद्यालय व्यवस्थापन समितिका सदस्य उद्धव सुजखु र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र सुवाल, शिक्षिका प्रेमलक्ष्मी त्वायना, विद्यार्थी हित समितिका अध्यक्ष सानिया देशेमरु र नवआगन्तुक विद्यार्थी प्रतिनिधिहरूले स्वागत मन्तव्य राखेको थियो । कार्यक्रममा प्रमुख अतिथि सुनिल प्रजापति तथा अन्य अतिथिहरुले उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *