पत्रकार बन्न लाइसेन्स लिनुपर्ने विधेयकको प्रावधान हट्यो

विशेष समाचार समाचार

काठमाडौं, २३ माघ


पत्रकार बन्न परीक्षा दिएर लाइसेन्स लिनुपर्ने व्यवस्था हटाएर राष्ट्रिय सभाले मिडिया काउन्सिल विधेयक सर्वसम्मतले पारित गरेको छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पत्रकारले परीक्षा दिएर लाइसेन्स लिनुपर्ने व्यवस्था गरेको थियो। तर समितिको सहमति उल्ट्याएर सभाले विधेयक पास गरेको हो।राष्ट्रिय सभा बैठकमा सत्तारूढ नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईले लाइसेन्स लिनेसम्बन्धी व्यवस्थामाथि संशोधन दर्ता गराएका थिए। उक्त संशोधन सञ्चार मन्त्री गोकुल बाँस्कोटाले राष्ट्रिय सभाको पूर्ण बैठकमा स्वीकार गरेका थिए।भट्टराईको संशोधनमा मिडिया काउन्सिलको काम कर्तव्य र अधिकारमा रहेको परीक्षा लिने व्यवस्था र दफा १७ मा रहेको लाइसेन्ससम्बन्धी व्यवस्था हटाउन प्रस्ताव गरिएको थियो। भट्टराईले नेपाल पत्रकार महासंघसँग भएको सहमतिअनुसार लाइसेन्सको व्यवस्था हटाइएको उल्लेख गरेका थिए।सरकारले मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा दर्ता गराएदेखि नै पत्रकार महासंघले हुलाकजस्तो सरकारी निकाय बनाउन खोजिएकोमा आपत्ती जनाएको थियो।विरोधपछि राष्ट्रिय सभामा रहेका दलहरू र पत्रकार महासंघबीच संशोधन गरेर जाने सहमति भएको थियो। तर सहमति विपरित समितिले परीक्षा दिएर लाइसेन्स लिनुपर्ने प्रावधान गरेको थियो।
सत्तापक्षकी सांसद कोमल वलीले नेपालको संविधानमा पूर्ण प्रेस स्वतन्त्रता लेखिएको अवस्थामा लाइसेन्स लिने प्रावधानले अवरोध गर्ने बताएकी थिइन्। उनले लाइसेन्सको प्रावधानले प्रेस स्वतन्त्रतालाई खुम्च्याउने टिप्पणी गरिन्।नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले पत्रकारको परीक्षा दर्शक, स्रोता र पाठकले लिने बताए। उनले संविधानमा पूर्ण प्रेस स्वतन्त्रता भनेर उल्लेख गरिएको अवस्थमा लाइसेन्सको व्यवस्था अनुपयुक्त हुने बताए। उनले सरकारी निकायले पत्रकारको परीक्षा लिन नसक्ने टिप्पणी गरे।मन्त्री बाँस्कोटाले लाइसेन्सको प्रावधान पोर्चुगलमा मात्र रहेको र इटालीमा तालिम दिनेमात्र प्रावधान रहेको उल्लेख गर्दै लाइसेन्स लिने प्रावधान हटाउनु उपयुक्त हुने बताए। उनले लाइसेन्सको प्रावधान हटाउन सहमति जनाएपछि सभाले सर्वसम्मतिले काउन्सिल विधेयक पास गरेको हो।अब विधेयक प्रतिनिधि सभामा पुग्नेछ। प्रतिनिधि सभाबाट पनि पारित भएपछि त्यसले कानूनी हैसियत प्राप्त गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *