भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरोकारवाला सहमत

कला/साहित्य विशेष समाचार समाचार

भक्तपुर, २९ फागुन


भक्तपुर नगरपालिकाको आयोजनामा बुधवार भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा व्यवस्थित र शान्तिपूर्ण तरीकाले सम्पन्न गर्न विभिन्न सरोकारवालासँग भेला तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । उक्त भेलामा विभिन्न कार्यालयका कार्यालय प्रमुखहरु, स्थानीय बुद्धिजीवी र संस्कृतिप्रेमीहरुको उपस्थिति रहेको थियो । आन्तरिक र बाह्य पर्यटक पनि उपस्थित हुने बिस्केट जात्रा सञ्चालनलाई मर्यादित बनाउन नगरपालिकाले सम्बन्धित निकायसँग समन्वय र सहकार्य अगाडि बढाउने भएको छ ।
भेलामा सम्बोधन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको बिस्केट जात्रा मर्यादित, शान्तिपूर्ण र अनुशासित रुपमा सम्पन्न गर्न सके भक्तपुर नगर र देशकै प्रतिष्ठा बढ्ने विचार व्यक्त गरे । भक्तपुरलाई पर्यटकीय नगरको रुपमा विकास गर्न सम्पदा संरक्षण र विकास निर्माणका ठूल्ठूलो योजनाहरु पनि उपभोक्ता समिति र अमानतबाट गर्दै आएको बताए ।
भक्तपुरका सार्वजनिक सम्पत्ति र सम्पदा निजी गर्ने प्रयास विरुद्ध संघर्ष गरिरहेको बताउँदै प्रमुख प्रजापतिले व्यक्तिगत र निजी स्वार्थको विरुद्धमा नगरपालिकाले आवश्यक पहल गरिरहेको बताए ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न नगरपालिकाले आवश्यक भूमिका निर्वाह गर्ने, संस्कृति र जात्रामा भएका विकृतिलाई हटाउँदै संस्कृतिलाई अगाडि लानुपर्ने र जात्राका हरेक गतिविधिलाई लिपिबद्ध गर्नु आवश्यक रहेको विचार प्रस्तुत गरिन् ।


भक्तपुरका प्रजिअ नारायणप्रसाद भट्टले बिस्केट जात्राको व्यवस्थापन निकै चुनौतीपूर्ण भएको र ती चुनौतीहरु समाधान गर्न सम्बन्धित सरोकारवालाले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न आग्रह गरे ।
प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले विगतका वर्षहरुमा भएका कमजोरीलाई समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याउँदै जात्रा सञ्चालन हुने क्षेत्रमा रहेका निर्माण सामग्रीहरु हटाउन सूचना प्रकाशित गर्नुपर्ने बताए ।
गुठी संस्थान भक्तपुरका प्रमुख हरि सुवेदीले विगतका दिनहरुमा देखिएका कमी–कमजोरीहरु नदोहो¥याउने प्रतिबद्धता व्यक्त गर्दै जात्रा सञ्चालनमा गुठी संस्थानले व्यवस्थापकीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा भैरवनाथ मन्दिर जीर्णोद्धार उपभोक्ता समितिका अध्यक्ष न्हुछेराम भेले, विद्युत प्राधिकरण भक्तपुरका कार्यालय प्रमुख प्रज्ज्वलमान श्रेष्ठ, नेपाल टेलिकम भक्तपुरका कार्यालय प्रमुख वीरेन्द्र श्रेष्ठ, स्थानीय अनन्त धौभडेल, हाकुज्या प्रजापति समाजका अध्यक्ष रामबहादुर प्रजापतिलगायतले गुठी संस्थान र भैरव नाइकेहरुले पूजा समयमै सम्पन्न गरी जात्रा समयमै शुरु गरी अँध्यारो हुनुभन्दा अगाडि नै सम्पन्न गर्नुपर्ने, हुलहुज्जत गर्नेहरुलाई कडाइका साथ कारबाही गर्नुपर्ने र कारबाही गरिएकालाई सार्वजनिकीकरण गर्नुपर्ने, भैरवनाथको रथ तान्नु एक दिन अगाडि रथ निर्माण र रंगरोगनको सम्पूर्ण काम सकाउनुपर्ने, रथ तान्ने डोरी बलियो राख्नुपर्ने, रथ बनाउने सिकर्मीहरुलाई समयमै भुक्तानी दिनुपर्ने सुझावहरु कार्यक्रममा दिएका थिए ।
छलफलबाट बिस्केट जात्रा शान्तिपूर्ण र मर्यादित रुपमा भव्यताका साथ सम्पन्न गर्न भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा ११ जनाको एक विशेष कार्यदल गठन गर्ने, भक्तपुर नपाले माइकिङ, सूचना प्रवाह, पर्चा पम्प्लेट प्रकाशित गर्ने र नगरवासीहरुलाई विभिन्न गतिविधिमार्फत शान्तिपूर्ण रुपमा जात्रा सञ्चालन गर्न आग्रह गर्ने साथै नगरभरि जात्रा सञ्चालन गर्ने क्षेत्रमा सरसफाइ गर्ने, जिल्ला प्रशासन कार्यालय तथा मातहतका सम्पूर्ण सुरक्षा निकायहरुले जात्रा अवधिभर सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन लागि पर्ने, गुठी संस्थान, भैरवनाथ जात्रा सहयोग समितिलगायत सम्बन्धित संस्थाहरुले समयमै शान्तिपूर्ण र व्यवस्थित रुपमा जात्रा सञ्चालन गर्न आवश्यक तयारी गर्ने, नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, केबुल नेटवर्क तथा इन्टरनेट सेवा प्रदायक संस्थाहरुले जात्रा सञ्चालन हुने क्षेत्रहरुमा आ–आफ्ना तार तथा लठ्ठाहरु व्यवस्थित गर्ने र भक्तपुर नपाका जनप्रतिनिधि, सुरक्षा निकायहरु, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरु, विद्यालय कलेज तथा स्थानीय जनताको व्यापक सहभागितामा र्याली तथा सभा गर्ने निर्णयहरु गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *