वागीश्वरीको हीरक जयन्ती सम्पन्न

विशेष समाचार शिक्षा समाचार

भक्तपुर, २३ फागुन


वागीश्वरी कलेजको ११औं र वागीश्वरी माध्यमिक विद्यालयको हीरक जयन्ती समारोह बिहीबार नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेंको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेंले नेताहरूले देशको भूगोल, इतिहासबारे जानकारी नराख्दा अन्तरराष्ट्रिय क्षेत्रमा देशको बेइज्जत भएको उदाहरण दिंदै शिक्षकहरूले विद्यार्थीलाई अहिलेदेखि नै ती विषयहरूमा जानकारी दिनुपर्ने आवश्यकता औंल्याए ।
अपराधी, कालोबजारीलाई जेलबाट छुटाउनकै लागि दैनिक रूपमा सिंहदरबार र सितलनिवासमा घुइँचो लाग्ने बताउँदै उनले विद्यार्थीलाई नैतिकताको विषयमा प्रष्ट पार्नु महत्वपूर्ण भएको बताए ।


‘लगानी बोर्ड विधेयक देशघाती हो’ भनी विरोध गर्दागर्दै तत्कालीन शासक दलहरुले ह्वीप जारी गरी पास गरेको विधेयकले देशका ठूलठूला प्राकृतिक सम्पत्तिहरू विदेशीको हातमा सयौं वर्षको लागि भाडामा दिने बाटो खुलाउनु देश र जनताको लागि धोका हो भएको उनको ठहर छ ।
सरकारले देश विकासको निम्ति जनशक्ति व्यवस्थापन गर्न नसक्दा उत्कृष्ट विद्यार्थीहरूलाई सस्तो ज्यामीको रूपमा विभिन्न देशले प्रयोग गरिँदै आएको उनले बताए ।
देश विकास गर्न शिक्षा मुख्य आधार हो भन्ने मान्यतालाई ग्रहण गर्दै नेमकिपाले शिक्षा प्रचारलाई प्राथमिकतामा राखेको उनले बताए ।
विशेष अतिथि कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कलेजले विद्यार्थीलाई २१ औं शताब्दीको लागि योग्य नागरिक तयार गर्न प्रयासरत रहेको बताउँदै कार्यरत शिक्षक, शिक्षिका कर्मचारी तथा अभिभावकबाट सहयोग अपेक्षा गरे । विद्यार्थीको चौतर्फी विकासका लागि भक्तपुर नगरपालिकाले शारीरिक तथा बौद्धिक प्रतियोगिताहरू गर्दै आएको उनले बताए ।
देशमा संघीयता लागू भइसकेपछि मावि तहसम्मको सम्पूर्ण शिक्षा स्थानीय तहलाई जिम्मा दिए तापनि सरकारले खारेज भइसकेको जिल्ला शिक्षा कार्यालयलाई प्रमुख जिल्ला विकास तथा समन्वय इकाईमार्फत् ब्युँताउने प्रयास भइरहेकोप्रति उनले आपत्ति जनाए ।
अतिथि प्रदेश नं. ३ का सांसद सुरेन्द्रराज गोसाईले नवउदारवादी शिक्षा व्यवस्था, व्यापारीकरण, शैक्षिक माफियालाई वागीश्वरीले जवाफ दिएको बताउँदै उनले जनताको जगमा स्थापित विद्यालयले कसरी देशको सेवा गर्न सकिन्छ भन्ने उदाहरण वागीश्वरी हो भने ।
हालै चीन भ्रमणको अनुभव बताउँदै उनले हरेक विद्यालयले खेलकुदलाई मुख्य प्राथमिकता दिँदा विद्यार्थीहरू सामाजिक सञ्जाल लगायतका क्षेत्रमा नफस्ने बताए ।


पञ्चायत ढलेको ३० वर्ष भइसक्दा पनि जनताको जीवनस्तरमा कुनै मौलिक परिवर्तन नभएको बताउँदै उनले शासक दलहरुमा अझै पनि कुनै अपराधबोध नभएको बताए । त्यसैले हरेक शिक्षकहरूले शिक्षालयलाई आमूल परिवर्तन र क्रान्तिको बारुदखानाको रूपमा विकास गर्नुपर्ने उनको भनाइ छ ।
कार्यक्रमका सभापति एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भनपा वडा नं. ९ का अध्यक्ष रवीन्द्र ज्याख्वले विद्यालयले हीरक वर्षको उपलक्ष्यमा वर्षैभरि हरेक महीनामा कुनै न कुनै विशेष कार्यक्रम गरी मनाएको जानकारी दिंदै अभिभावकहरूको आशालाई पूर्ति गर्न शिक्षक तथा कर्मचारीहरू क्रियाशील रहेको बताए ।
भक्तपुरको जनजीवन, कला संस्कृति, स्थानीय उपचार विधिलगायतका बारेमा जानकारी दिन भक्तपुर नगरपालिकाले नगरका सम्पूर्ण विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरेको उनले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले गुणस्तरीय शिक्षा, नमूना विद्यालय, विद्यार्थी अभिभावकलाई गर्व गर्न सक्ने वातावरण दिन सक्नु विद्यालयको सबल पक्ष भएको बताए ।


दरबन्दी वितरण समिति कार्यदलका संयोजक महाश्रम शर्माले शिक्षक दरवन्दी मिलाउन नसकेको वर्तमान समयमा भएका प्रावि तहको बढी दरबन्दी शिक्षकहरू समायोजन गर्न प्रयासरत रहेको बताए ।
ईसीडीमा पढाउने सहजकर्तालाई शिक्षककै रूपमा परिभाषित गर्नुपर्ने उनको ठहर छ ।
ख्वप इन्जिनीयरिङ कलेजका प्राचार्य सुजन माकले वागीश्वरीको आर्थिक अनुशासन र पारदर्शिता देशकै नमूना भएको बताए ।
कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेंले वागीश्वरी स्मारिका र वागीश्वरी जर्नल विमोचन गरेको थियो भने विद्यालयका शिक्षिका प्रेमलक्ष्मी श्रेष्ठलाई दीर्घ पदक, साहित्यकारहरू चन्द्रबहादुर उलक, हरिहर तिमल्सिना र चन्द्रप्रसाद ढकाललाई दोसल्ला ओढाई सम्मान गरेको थियो । विद्यालय तथा कलेजमा उत्कृष्ट योगदान गर्ने शिक्षक, कर्मचारी तथा एसर्ईई, + २ तह, टेक्स र स्नातक तहको बोर्ड परीक्षामा उत्कृष्ट विद्यार्थीलाई उनले मेडल, प्रमाणपत्र प्रदान गरेको थियो ।
त्यस्तै विशेष अतिथि सुनिल प्रजापतिले स्नातक र स्नातकोत्तर तहमा उच्च अङ्क प्राप्त विद्यार्थीहरू तथा साहित्य गोष्ठीमा विजयी विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरेको थियो ।


कार्यक्रममा पूर्व प्रअ मोहनप्रसाद प्रजापतिले सिद्धिबहादुर छात्रवृत्ति, पूर्व शिक्षिका नारायणी मानन्धरले नारायणी मानन्धर छात्रवृत्ति विद्यार्थीहरूलाई प्रदान गरेको थियो ।
कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ र वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले वार्षिक प्रगति प्रतिवेदन वाचन गरेको थियो भने साहित्यकार हरिहर तिमल्सिना, सहायक प्रअ ज्ञानसागर प्रजापतिलगायतले बोलेका थिए ।
औपचारिक कार्यक्रमपश्चात् सांस्कृतिक कार्यक्रम भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *