धरानमा पार्क निर्माण गर्न डिपिआर तयार

समाचार

धरान, १२ पुस


पर्यटकीय नगरी धरान उपमहानगरको व्यस्त बजार भानुचोकलाई धरान उपमहानगरले व्यवस्थित गर्न नयाँ योजना अघि सारेको छ । शहरी विकास मन्त्रालयको सहयोगमा धरानको भानुचोकलाई नयाँ स्वरुपमा विकास गर्न डिपिआर तयार गरिएको छ ।

विराटनगरदेखि धरानलाई मेघा सिटी बनाउने परियोजनाअन्तर्गत मन्त्रालयले भानुचोकमा बेसमेन्टसहितको पार्क निर्माण गर्ने डिपिआर तयार गरेको धरान उपमहानगरका इञ्जिनीयर सुरज श्रेष्ठले जानकारी दिए ।

कन्सल्टेन्टमार्फत तयार भएको डिपिआर मन्त्रालयमा पुगेको छ । यो डिपिआरबमोजिम भानुचोक पुनःनिर्माण हुनसक्यो भने अहिलेको अस्तव्यस्त भानुचोक सुन्दर पार्कमा परिणत हुनेछ । बेसमेन्टमा पार्किङको व्यवस्था गरिनेछ । उक्त क्षेत्रमा सवारी निषेध गरिने छ । त्यहाँ सञ्चालन हुँदै आएको बसपार्क धरान–८ स्थित सुन्दरबस्ती स्थानान्तरका लागि निर्णय भइसकेको छ ।

भानुचोकमा रहेको घण्टाघरभित्र अहिले पनि पार्क छ । त्यस्तै सुन्दर पार्क भानुचोक एरियाभरि निर्माण हुनेछ । आकर्षक बगैँचा, मान्छे हिँड्नलाई बाटो, गफिएर बस्ने ठाउँ, ठाउँ ठाउँमा पानीको फोहोरा निर्माण हुने इञ्जिनीयर श्रेष्ठले बताए । भानुचोकमा पूर्णकदको भानुभक्तको सालिक हुनेछ । हाल अर्धकदको सालिक रहेको छ ।

भानुचोकलाई पार्कका रुपमा निर्माण गर्न बसपार्क सुन्दरबस्तीमा सार्न त्यहाँका स्थानीयवासीसँग छलफल भइरहेको र माघ पहिलो सातामा बसपार्क सार्न त्यहाँ संरचना निर्माण थालिने उपमहानगरका कार्यवाहक प्रमुख मञ्जु भण्डारीले जानकारी दिए ।

प्रदेश नम्बर १ मा सात सय चालक कारवाहीमा

प्रदेश नम्बर १ का १४ जिल्लामा भएको सवारी जाँचमा ७४१ वटा सवारी कारवाहीमा परेका छन् ।

ट्राफिक नियम विपरीत सवारी चलाएका कारण दैनिक दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरीको प्रदेश १ कार्यालय इटहरीले २४ घण्टे विशेष सवारी चेकिङअन्तर्गत कारवाही गरेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

प्रसाईंका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ३२ जना, मोटरसाइकलमा तीनजना चढ्ने १४ जना, बिना हेल्मेट मोटरसाइकल चलाउने १० जना, क्षमताभन्दा बढी मालसामान ढुवानी गर्ने ११५, सवारी चालक अनुमति पत्र बिना सवारी चलाउने ४२ चालक कारवाहीमा परेको उनले जानकारी दिए ।

यस्तै, सवारी चालक अनुमतिपत्र नभएकालाई सवारी चलाउन दिने २३ जना, जथाभावी पार्किङ गर्ने २४ जना, रोक्न निधेषमा सवारी रोक्ने ५५ जना, पार्किङ निधेषमा पार्किङ गर्ने २६ जना, सुरक्षापेटी नबाँध्ने १९ जना चालक पनि कारवाहीमा परेका छन् । सबैभन्दा बढी ट्राफिक नियम उलङ्घन गर्ने चालक सुनसरी, मोरङ, झापा, उदयपुरमा रहेको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *