शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश गर्न नयाँद्वार खुल्ने

मनोरञ्जन समाचार

कञ्चनपुर, ९ पुस


शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशका लागि पर्यटकलाई सहजता प्रदान गर्न नयाँ द्वार खुल्ने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कञ्चनपुरको बेलडाँडीदेखि पर्यटक प्रवेशको लागि नयाँ प्रवेशद्वार खोल्न निकुञ्ज कार्यालयलाई पत्राचार गरेको छ ।

पत्रमा निकुञ्जलाई विभागले तीन बुँदे निर्देशनात्मक आदेश दिँदै निकुञ्ज, मध्यवर्ती क्षेत्र, बेलडाँडी रेञ्जपोष्टबाट नयाँ प्रवेशद्वार खोली कार्यालयको स्वीकृत सङ्गठन तथा व्यवस्थापन अनुसार मौजुदा जनशक्तिबाट सञ्चालनमा ल्याउने, टिकट काउण्टरलगायत न्यूनतम पर्यटकीय पूर्वाधारको सुविधा कार्यालयको वार्षिक कार्यक्रम, सरोकारवाला निकायको समन्वय सहयोग तयार गर्दै जाने र पर्यटक, प्रकृति पथप्रदर्शक, राजश्व सुरक्षा व्यवस्था कार्यालयले मिलाई समयमै नियमित रुपमा राजश्व दाखिला गर्न भनिएको छ ।

विभागका सहायक व्यवस्थापन अधिकृत विष्णुप्रसाद थपलियाले हस्ताक्षर गरेको पत्रमा १६ असोजको निर्णयअनुसार कार्यान्वयन गराउन निर्देशन दिइएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत उत्तम चौधरीले विभागले दिएको पत्रअनुसार प्रवेशद्वार खोल्ने बारे कार्य अगाडि बढाइन लागेको बताए ।

“नयाँ खुल्ने प्रवेशद्वारसँगै जङ्गल सफारीका लागि समेत कार्य अगाडि बढाइन्छ” उनले भने । नयाँ प्रवेशद्वार खुलेमा भारतीय पर्यटक भित्र्याउन सहज हुने देखिएको छ । अहिले पर्यटकले निकुञ्जको मुख्य कार्यालय रहेको मझगाउँबाट मात्रै निकुञ्ज प्रवेश गर्न पाउने गरेका छन् ।

फोहर व्यवस्थापनका लागि परियोजना सञ्चालन

कञ्चनपुरको भीमदत्त नगरपालिकामा दिसाजन्य फोहर व्यवस्थापनका लागि परियोजना सञ्चालन गरिएको छ । वातावरण तथा जनसङ्ख्या संस्थाको प्राविधिक सहयोगमा नेपालका पाँच नगरपालिकामध्ये सुदूरपश्चिम प्रदेशमा भीमदत्त नगरपालिकामा परियोजना सञ्चालन गरिएको हो ।

भीमदत्त नगरपालिकासहित धुलिखेल, लमही, वालिङ र लाहान परियोजना सञ्चालनका लागि छनोट गरिएका छन् । यो परियोजना नेपालबाहेक बङ्गलादेशमा समेत सञ्चालनमा छ ।

भीमदत्त नगरपालिका र नेपाल नगरपालिका एशोसिएसनबीच दक्षिण एशियाली नगरपालिका सञ्जाल सरसफाइसम्बन्धी पैरबी परियोजना सञ्चालनका लागि समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको छ । भीमदत्तका नगर प्रमुख सुरेन्द्र विष्ट र नेपाल नगरपालिका सङ्घका सह कोषाध्यक्ष एवं काठमार्डौं महानगरपालिकाका नगर उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्कीले समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।

वातावरणीय हिसाबले कुनै पनि किसिमका जोखिम नहोस् भनेर दिसाजन्य फोहर व्यवस्थापनका लागि परियोजना लागू गरिएको नगर प्रमुख सुरेन्द्र विष्टले बताए । उनले नगरपालिका एक्लैले मात्रै आफ्नो समस्या समाधान गर्न नसक्ने भएकाले सहकार्य गरिएको बताए ।

नेपाल नगरपालिका सङ्घका कार्यकारी निर्देशक कलानिधि देवकोटाले नेपाल र बङ्गलादेशका पाँच/पाँच नगरपालिकामा परियोजना सञ्चालन गरिएको बताए । नेपालमा देशभरबाट परियोजना सञ्चालनका लागि १० नगरपालिकाले प्रस्ताव पेश गरेका थिए ।

तीन वर्षसम्म सञ्चालन गरिने परियोजना अन्तर्गत फोहर व्यवस्थापनका लागि नीति निर्माण, योजना निर्माण, आर्थिक सहयोगसम्बन्धी कार्यक्रम समावेश गरिएका छन् । दिसाजन्य फोहरबाट जैविक इन्धन, निर्माण सामग्री, जैविक मल, कीराका लागि प्रोटिन बनाउन सकिनेलगायतका कार्यपरियोजनाको कार्यक्रममा समावेश गरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *