पुल माग्दै जनप्रतिनिधि

समाचार

जाजरकोट, २६ मङ्सिर


पुल निर्माणका लागि बजेट माग्दै नलगाड नगरपालिकाका जनप्रतिनिधि प्रदेश कार्यालयमा पुगेका छन् ।

गत साउनमा आएको बाढीपहिरोका कारण नगरपालिकाको छेप्का–कालीमटीस्थित झुर्मेखोलाको पुल बगाएपछि यहाँका जनप्रतिनिधि पुल निर्माणका लागि बजेट माग्न कर्णाली प्रदेश सरकारसम्म पुगेका हुन् ।

अहिले झुर्मेखोलामा अस्थायी काठको लाप्को (फलेक)मा स्थानीयवासी वारपार गर्छन् । काठको लाप्कोबाट यात्रा गर्दा दुर्घटनाको जोखिम बढेको छ । बाढीबाट जिल्लाको सबैभन्दा बढी नलगाड नगरपालिकामा नै क्षति भएको थियो ।

पुल निर्माणका लागि आवश्यक बजेट नहुँदा प्रदेश सरकारसँग बजेट माग गरिएको नगरपालिकाका प्रमुख टेकबहादुर रावलले जानकारी दिए। नगरपालिकाभित्र आधादर्जन बढी पुल बाढीका कारण क्षति भएपछि नगरपालिकाले आफ्नै खर्चमा निर्माण गर्न असम्भव भएकाले प्रदेश सरकारसँग सहयोग मागेको उनले बताए ।

पुल नहुँदा विद्यालय जाने बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन् । बजेटकै लागि केन्द्रीय सरकारसँग पनि आग्रह गर्ने नगरपालिकाका प्रशासकीय प्रमुख सुरेन्द्र सिंहले जानकारी दिए ।

नलगाडमा भएको क्षतिको पुनःनिर्माण गर्न करोडौँ बजेट लाग्ने भएकाले थोरै बजेटले सम्भव नभएको नगरप्रमुख रावलले बताए। नलगाडको– २, ३, ४, ५, ६, ७, ८ र १३ वडामा बाढीपहिरोका कारण व्यापक क्षति भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *