वागीश्वरीमा पत्रकार आचारसंहितासम्बन्धी अन्तरक्रिया

विशेष समाचार शिक्षा समाचार

भक्तपुर, १७ मंसिर

वागीश्वरी मा.वि कलेजको संयोजनमा प्रेस काउन्सिल नेपालको आयोजनामा पत्रकार आचारसंहिता जागरण अभियान, २०७५ सोमबार कलेजको सभाकक्षमा सम्पन्न गरेको छ ।
कार्यक्रममा विशेष अतिथि एवम् प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले पत्रकार आचारसंहितासम्बन्धी कार्यपत्र प्रस्तुत गरेको थियो । उनले पत्रकारिता क्षेत्रमा आचारसंहिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले पत्रकारहरुले पालना गर्नुपर्ने कर्तव्य तथा गर्न नहुने कार्यबारे स्पष्ट पार्दै प्रेस काउन्सिलको काम, कर्तव्य र अधिकारबारे बताए । पत्रकारहरुले गरेका कार्यले जनतालाई सुसूचित पार्ने भएपनि पत्रकारकै कारण पीडित पक्षलाई थप पीडा पर्नजानेप्रति सतर्क हुनुपर्ने बता उनको भनाइ छ ।
प्रेस काउन्सिल नेपालका सदस्य एवम् पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष गोविन्द चौलागाईँले पत्रकारहरु कहिल्यै अल्छि हुन नहुने कुरा व्यक्त गरे । उनले पत्रकारिता हतारको कार्य भनेर गल्ती गर्न नहुने बताए । साथै पत्रकारहरु गहिराइसम्म गएर सत्य, तथ्य कुरा लेख्नुपर्ने उनको कथन छ ।


वागीश्वरी माविका सहप्राचार्य ज्ञानसागर प्रजापतिले पत्रकारितामा कुनै पनि विषयवस्तुबारे लेख्दा अत्यन्त जिम्मेवारीपूर्वक लेख्नुपर्ने बताए । साथै उनले योग्य सक्षम व्यक्तिको पछाडि रोजगारी आउने अन्यथा रोजगारीको पछाडि दौडिनुपर्ने बताए । उनले अहिले अध्ययनरत विद्यार्थी सबै वास्तविक पत्रकार भएर निस्के देशको विकास तीव्ररुपमा हुने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ, भक्तपुरका अध्यक्ष पुष्कर बुढाथोकीले भक्तपुरको पत्रकारिताले समृद्ध विकास र सम्मुनत भक्तपुर बनाउन टेवा पुगेको बताए । उनले भक्तपुरमा पत्रकारिताको स्थितिबारे बताउँदै पत्रकारिताले सरकारको ध्यान आकृष्ट गर्ने, खवरदारी गर्ने तथा बाटो देखाउने बताए ।
पत्रकारिता शिक्षक प्रेम प्रजापतिले स्वागत गरेको उक्त कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले सभ्य पत्रकार भएर काम गर्न यस कार्यक्रम फलदायी भएको बताए । कार्यक्रममा सोनी न्हेम्हाफुकी, दोल्मा तामाङ, हरिष त्यातलगायतले आचारसंहितासम्बन्धी आफ्नो राय व्यक्त गरेका थिए । कार्यक्रमपछि काउन्सिलका प्रतिनिधिहरुले कलेजको पुस्तकालय तथा मिडिया प्रयोगशालाको अवलोकन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *