सोमबारदेखि कात्तिक नाच शुरु, बिहीवार उषा र अनिरुद्ध शृङ्गार नाच

कला/साहित्य मनोरञ्जन विशेष समाचार समाचार

ललितपुर, २९ कात्तिक

पाटनमा गत सोमबारदेखि शुरु भएको कात्तिक नाचअन्तर्गत बिहीवार उषा व अनिरुद्र शृङ्गार नाच देखाइएको छ ।

उषाहरण लीलाअन्तर्गत देखाइने पाँच नाचमध्ये सो नाच पनि एउटा भएको कात्तिक नाच संरक्षण समितिले जनाएको छ । सो नाच उषा र अनिरुद्धबीचको प्रेममा आधारित छ । उषा वाणासुरकी छोरी र अनिरुद्ध कृष्णका नाति हुन् । सो नाच शिक्षामूलकभन्दा पनि मनोरञ्जन दिने खालको छ । कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले भने, “ यो नाचको पाँच दिनसम्म निरन्तर पाँच शृङ्खला देखाइन्छ ।”

उषाहरण लीलामा सबैभन्दा बढी कलाकारको सहभागिता हुन्छ । यसमा ६० कलाकार सहभागी हुन्छन् । नाच साँझ ७ बजेदेखि शुरु हुन्छ । उनले भने, “पहिले राति १०/११ बजे शुरु हुनेमा अहिले समय सरेको छ ।”

अघिल्ला केही वर्ष जसरी नै यस वर्ष पनि नाच १२ दिनसम्म चल्नेछ । नाचको पहिलो दिन ‘बाःथ प्याखँ’ (बाठोको नाच) नाचअन्तर्गतको ‘ल्यव लायेगु’(नाठो पक्रनु) र दोस्रो दिन ‘खुशी छिकेगु’(नदी तर्नु) देखाइएको थियो । तेस्रो दिन उषाहरण लीलाअन्तर्गतको ‘वाणासुरयात सहस्रभुज वरदान नाच’(वाणासुरको हजार हात वरदान नाच) देखाइयो । उषाहरण लीलाअन्तर्गतकै ‘देवी प्याखँ’(देवीनाच) ‘युद्ध कला’ र ‘वाणासुरया सहस्रभुज त्वाल्हाइगु’(वाणासुरको हजार हात काट्नु) नाच यसमा छन् । आइतबारसम्म उषाहरण लीलाअन्तर्गतका नाच देखाइएपछि सोमबार ‘मधुकैटभ बध’ देखाइने भएको छ ।

मङ्गलबार बराह अवतारको ‘हिरण्याक्ष’ देखाइनेछ । अर्को साता बुधबार नाचमा सबैभन्दा धेरै आगन्तुकले रुचाउने नृसिंह अवतारको ‘हिरण्यकश्यप बध’ देखाइने भएको छ । बिहीबार ‘वस्त्रहरण लीला’ र अन्तिम दिनमा ‘दधि लीला’ देखाइने नाच संरक्षण समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *