भक्तपुर, १ मंसिर
वागीश्वरी उपदान (संचिति) कोषको दोस्रो साधारण सभा बिहीबार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले निजी वा सामुदायिक विद्यालयलाई समाजप्रति उत्तरदायी बनाउने उद्देश्यले भक्तपुर नगरपालिकाले शिक्षा ऐन लागू गरेको बताए ।
फोहोरलाई ऊर्जा र अर्थोउपार्जनको स्रोत बनाउनको लागि भक्तपुर नगरपालिकाले ७ सदस्यीय विज्ञहरुको समिति गठन गरेको जानकारी दिंदै शिक्षक शिक्षिकाहरुले विद्यालयबाटै विद्यार्थीहरुलाई कुहिने र नकुहिने फोहोर छुट्याउने बानीको विकास गराउनुपर्ने आवश्यकता औंल्याए ।
सरकारी विद्यालयमा प्रतिविद्यार्थी लगानी निजी विद्यालयको तुलनामा बढी हुने भएकाले सरकारी विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न सक्छ भन्ने कुरामा विश्वास व्यक्त गर्दै उनले भने, ‘आफ्नो सन्तानलाई आफ्नै विद्यालयमा भर्ना गर्नुपर्ने’ संस्थागत निर्णय गर्ने पहिलो विद्यालय वागीश्वरी हो ।’
१०१ औं अक्टोबर क्रान्ति दिवसको सन्दर्भलाई उद्धृत गर्दै उनले भने, ‘पूँजीवादले २÷३ सय वर्षमा गरेको विकास समाजवादी व्यवस्थाले २०–३० वर्षमै सम्पन्न गर्न सक्नु नै अक्टोबर समाजवादी क्रान्तिको उपलब्धि हो ।’
अतिथि कोषका संरक्षक तथा वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले पूर्णकालीन शिक्षक तथा कर्मचारीहरुले विद्यालय तथा कलेजमा आइपर्ने विभिन्न सम्भावित समस्या तथा चुनौतीलाई न्यूनीकरण गर्दै जानुपने बताए ।
कोषका सल्लाहकार एवं विद्यालयका सहायक प्रधानाध्यापक ज्ञानसागर प्रजापतिले विचारलाई बन्धक राखेर व्यक्तिगत तथा पेशागत हितलाई मात्र प्राथमिकता दिने ट्रेड युनियनवादको विरोधमा क्रियाशिल रहेको कारण आज वागीश्वरी देशकै नमूना बन्न सम्भव भएको हो तर्क राखे ।
उनले भने, ‘वागीश्वरीले स्वाभिमान, आत्मनिर्भर एवं देश र जनताको सेवा गर्ने सोच तथा समाजको विकासको लागि आवश्यक जनशक्ति तयार गर्ने दृष्टिकोणको आधार नेपाल मजदुर किसान पार्टीको विचार हो ।’
कार्यक्रमका सभापति कोषका अध्यक्ष एवं कलेजका प्राचार्य धनकुमार श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको उक्त कार्यक्रममा विद्यालयका प्रशासन अधिकृत तुल्सीराम प्रजापतिले स्वागत गरेको थियो भने शिक्षिका रामप्यारी सैंजूले पनि बोलेको थियो ।