बजेट अभावले पूरा भएन ‘सुरक्षित घर’

अर्थ/वाणिज्य विशेष समाचार समाचार

पर्वत, २७ कात्तिक

बजेट अभाव र निर्माण समितिको निष्क्रियताका कारण यहाँ दुई वर्षअघि निर्माणाधीन महिला तथा बालबालिका सुरक्षित आवासगृह (सेफ हाउस) निर्माणकार्यले गति लिन सकेको छैन । एक वर्षभित्रै निर्माण सक्ने लक्ष्यसाथ शुरु भएको भवनको जग हालेर छोडेको लामो समयसम्म बाँकी काम अघि बढ्न नसक्दा बनेका संरचनासमेत बिग्रिन थालेका छन् ।
घरेलु हिंसापीडित महिला, बालबालिका र ज्येष्ठ नागरिकको सुरक्षित बसोबासको व्यवस्था मिलाउने गरी तत्कालीन प्रहरी नायव उपरीक्षक गंगा पन्तको अगुवाइमा २०७३ असारमा निर्माण थालिएको थियो । तत्कालीन प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीसँग सबै राजनीतिक दलहरुले समयमै भवन निर्माण सकिने प्रतिवद्धता समेत जनाएका थिए ।
सुरक्षित घरका लागि कुश्मा नगरपालिका ५ बडागाउँस्थित कारागार नजिकै दुई रोपनी जमिन तत्कालीन सर्वदलीय समितिले दिने निर्णय गरेको थियो । जग्गा उपलब्ध भएलगत्तै करिव १२ आना जग्गामा ५ तले भवन निर्माणको काम शुरु गरिएको थियो । एक वर्षभित्रै सक्नेगरी निर्माणाधीन भवनको जग्गामाथिको काम करिव एक वर्षयता रोकिएको हो । भवन निर्माण भएर बेसहाराको व्यवस्थापन भइसक्नुपर्नेमा नबन्दै भवन आफै बेवारिसे बनेपछि सरोकारवाला निरास बनेका छन् । निर्मााणाधीन भवनको भुईंतला डीपीसी गरेर छोडेपछि अहिले झाडीले ढाकेको छ ।
सुरक्षा गार्ड, भान्से र अन्य कर्मचारी, महिला, पुरुष, बालबालिका छुट्टाछुट्टै बस्न मिल्ने र व्यवस्थित हलसहित १८ वटा कोठासहितको भवन निर्माणका लागि १ करोड ५२ लाखको बजेट स्टमेट गरिएको निर्माण समितिका अध्यक्ष लोकनाथ आचार्य बताउँछन् । भवन निर्माण सकेर महिला तथा बालबालिका कार्यालयको जिम्मा रहनेगरी व्यवस्थापन गर्ने जिम्मेवारी निर्माण समितिको छ ।
निर्माण समितिका अध्यक्ष आचार्यका अनुसार दुई रोपनी जग्गामा निर्माणाधीन भवनसहित जग्गा महिला तथा बालबालिका कार्यालयकै नाममा पास गरेर भवन समेत सोही कार्यालयको जिम्मा लगाउने शर्त छ । ‘शुरुमा सबै पक्षले चासो देखाएर हतारमै जग हालियो,’ अध्यक्ष आचार्यले भने, ‘बाचा अनुसार कसैले सहयोग नगरेपछि अलपत्रै पर्यो । हामीसँग जति पैसा थियो, उतिको काम गर्यौं । बाँकी लगालिंग छ ।’ तत्कालीन जिल्ला विकास समितिले १० लाख सहयोग गर्ने प्रतिवद्धता जनाएकोमा एक लाख मात्रै दिएको थियो । त्यस्तै तत्कालीन सांसदद्वय अर्जुनप्रसाद जोशी र कल्पना चापागाईले ३ लाख रुपैयाँ उपलव्ध गराएकोमा तत्कालीन जिविसकै असहयोगले ९९ हजार बाहेक रकम प्राप्त नभएको समति उपाध्यक्ष मानकुमारी गिरीले बताइन् ।
सुरक्षित आवासगृहको बेवास्ताले जिल्लाबासीलाई नै गिज्याएको स्थानीयको गुनासो छ । ‘उत्साहका साथ शुरु हुँदा केही होला भनेर सबै उत्साहि थियौं,’ स्थानीय अगुवा देवीप्रसाद बिलासीले भने, ‘अहिले सबै सेलाए । अब पुरानो जग बिग्रिसक्यो । कसरी काम हुन्छ ?’ भवन निर्माण समयमा सक्ने प्रतिवद्धता भए आवश्यक बजेट जुटाउन समस्या नहुने उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा बताउँछन् । निर्माणाधीन भवनको काममा ३० लाखको हाराहारी खर्च भइसकेको निर्माण समितिले जनाएको छ । यो भवनमा घरेलु हिंसा, अन्यायमा परेका तथा एकल महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई निःशुल्क बसोबासको व्यवस्था मिलाइने महिला तथा बालबालिका कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *