जनस्वास्थ्य केन्द्रमा कर्मचारी भेला

समाचार

भक्तपुर, ७ फागुन


भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रका कर्मचारीहरूको भेला मंगलबार सम्पन्न भएको छ ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले अरुको सम्मान गर्न जान्ने व्यक्तिले अरुबाट पनि सम्मान पाउने बताए । संस्थाभित्रका स–साना कुरा पनि आलोचनाको विषय बन्न सक्नेप्रति सचेत पार्दै उनले आर्थिक गतिविधि आर्थिक अनुशासनमा रही गर्नुपर्ने बताए ।
भक्तपुरको जनस्वास्थ्य केन्द्रले दैनिक ५०० भन्दा बढी बिरामी जाँच गरिरहेको अवगत गराउदै प्रमुख प्रजापतिले जनताको गुनासो कम हुने गरी जनताको भावना जितेर काम गर्नुपर्नेमा जोड दिए ।


जनस्वास्थ्य केन्द्रको सेवामा भएको कमी–कमजोरी औंल्याउने अधिकार नागरिकहरूसँग भएको बताउँदै भक्तपुर नगरपालिकाले जनताबाट उठाएको करबाट कलेज, स्वास्थ्य संस्था तथा जनता केन्द्रित गतिविधि सञ्चालन गर्दै आइरहेको उनले बताए ।
जनस्वास्थ्य केन्द्र प्रमुख रत्नसुन्दर लासिवाले संस्था राम्रो भए संस्थाले प्रवाह गर्ने सेवा सुविधा पनि राम्रो हुने बताउदै बिरामीसँग सम्मानपूर्वक व्यवहार गर्नुपर्ने बताए । उनले अस्पताल संवेदनशील क्षेत्र भएको हुँदा कार्यालय समयमा उपस्थित हुनुपर्ने, बिरामीसँग नम्र भएर व्यवहार गर्नुपर्ने र सकेसम्म बिरामीले बोल्ने भाषामै बोल्न आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *