झोलुङ्गे पुल नहुँदा सास्ती

समाचार

सुर्खेत, २४ कात्तिक


चार वर्षअघि बाढीले बगाएको भेरी नदीमाथिको झोलुङ्गे पुल पुनःनिर्माण नहुँदा स्थानीयवासीले सास्ती भोग्नुपरेको छ ।

पुल नहुँदा भेरीगङ्गा नगरपालिकाको बसेरी र वीरेन्द्रनगरको थापाडेरा क्षेत्रका बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।

झोलुङ्गे पुल निर्माणका लागि स्थानीयवासीको माग सुनुवाइ हुन सकेको छैन । जसले गर्दा दैनिक डुङ्गा र ट्युबको भरमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । भेरीगङ्गाका वडा सदस्य हरिबहादुर थापाले भेरीमा पुल नहुँदा ३० गाउँका दुई हजार २०० भन्दा बढी घरधुरीका बासिन्दाले समस्या भोग्नुपरेको बताए । भेरीगङ्गाको वडा कार्यालयले स्थानीय पूर्वाधार विभाग, पुल्चोक, ललितपुरलाई पुल निर्माणमा सघाउन अनुरोध गरेको उनले जानकारी दिए ।

“जनतालाई आउजाउ गर्न, कृषि, पशु उत्पादनलाई बिक्री गर्न वितरण समस्या छ”, वडा सदस्य थापाले भन्नुभयो, “स्थानीय बजेटबाट झोलुङ्गे पुल निर्माण सम्भव छैन, त्यही भएर झोलुङ्गे पुल आयोजनालाई अनुरोध गरेका हौँ ।” भेरी नदीमा १२० मिटर लम्बाइ छ । बर्खाको उर्लंदो भेलमा स्थानीयवासी, बटुवाहरु डुङ्गा, ट्युबको भरमा यात्रा गर्न बाध्य छन् ।

वीरेन्द्रनगर–९ का अध्यक्ष सुरेश मानन्धरले पुलका लागि स्थानीय पूर्वाधार विभाग र झोलुङ्गे पुल आयोजनालाई आग्रह गरेको बताए । “पुल नहुँदा धेरै समस्या छ, दुई नगरका बासिन्दालाई आउजाउ गर्नै सास्ती छ”, मानन्धरले भने । गत वर्षमात्रै भेरी तर्ने क्रममा ३० वर्षीया कल्पना राना र १८ वर्षीय नरबहादुर बुढामगरको मृत्यु भएको थियो ।

भेरीगङ्गा बसेरी र वीरेन्द्रनगर–९ थापाडेराका बासिन्दाको भेलाले स्थानीय दरे बुढाको अध्यक्षतामा १० सदस्यीय उपभोक्ता समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *