९१ वर्षका सबैका दाइ

कला/साहित्य विचार विशेष समाचार

कमल ढकाल,
‘१२ छोरा १३ नाति बुढाको धोक्रो काँधैमाथि’ बुढापाकालाई संकेत गरेर भनिने यो उखान कति वर्षको उमेरलाई काम लाग्ला? औसत आयु ६४ पुगेको यो मुलुकमा त्योभन्दा माथिको वर्ष त पक्कै बुढोमा गनिने हो। मान्छेको सोचले पो मान्छेलाई बुढो बनाउने रहेछ। काम गर्न सक्छु भनेर हिँड्यो भने २० वर्षे युवाले ९० वर्षको मान्छेलाई हजुरबा होइन दाइ भन्ने रहेछ।

लगन छ भने सफल हुनलाई लगानी चाहिँदैन। यसकै उदाहरण हुन् भैरव रिसाल। २ दिनअघि मात्र आफैले लेखेको किताब विमोचन गरेर जन्मदिन मनाएका भैरव ‘राम्रो सोच मात्र उमारे पुग्ने रहेछ, पैसा त त्यत्तिकै आउँदो रहेछ’ भन्छन्।
विसं १९८५ मा भक्तपुरको गुन्डुमा जन्मेका भैरवले आकारमा भैरव नभए पनि कामले महाभैरवको रूप धारण गरेका छन्। आमाको मायाको अभाव सानैमा भएर पनि होला भैरवमा देशप्रेम बिछट्टै रहेछ। ४ वर्ष हुँदा आमा गणेशकुमारीको मृत्यसँगै बाबुु गोवद्र्धनका पनि २ वटी श्रीमती नै बिते। सानैमा बाबुआमा मर्ने, बैंसमा स्वास्नी मर्ने यो अभागी ठाउँ नै नफापेर पो हो कि क्या हो भनेर बाबु गोवद्र्धनले भक्तपुरको दधिकोटमा बसाइ सरे।

गतहप्ता जन्मदिन मनाएर ९१ वर्ष पुगेका भैरव रिसाललाई जन्म दिवसको कार्यक्रममा सबैले भन्दथे– ‘भैरव दाइ भैरव दाइ यसो गर्नुस्, उसो गर्नुस्, त्यसो गर्नुस्।’ भैरव पनि ९१ उल्टाएर १९ वर्षे ठिटोझंै सबैका कुरा सुनेर गमदारी हुँदै भन्दथे– ‘हो यसो गर्नुपर्छ, उसो गर्नुपर्छ, त्यसो गर्नुपर्छ।’ भैरव दाइलाई नेपाल समाचारपत्रका तर्पmबाट र पंक्तिकारका तर्फबाट शुभकामना !

लुभुमा संस्कृत खारेका रिसाल ब्राह्मण परिवारका भएकाले बाबुले जजमानी गरोस् र वाचक होस् भन्ने चाहना गरेका थिए। तीनधारा संस्कृत प्रधान पाठशालाबाट संस्कृतमा आचार्य गरेपछि हालखबर दैनिकमा २०१३ सालमा काम गरे। त्यो हुँदै राससमा काम गरेका उनी लामो समय त्यहीं बिताए। जिन्दगी नै पत्रकारितामा बिताएका रिसाल अहिले पनि रेडियो सगरमाथामा कार्यक्रम चलाउँछन्।

समयअनुसार बदलिएको प्रविधिको प्रयोग गर्दै सफलतासँगै बदलिएको घर अनामनगरमा फोनमै सगरमाथाको कुरोकन्थो चलाउँछन् भैरव। उहिले बाजेका पालामा रेकर्डेड हुने गरेको छ भने कार्यक्रम खुला मञ्च चलाउन सगरमाथाको स्टेसनमै पुग्छन् उनी। वातावरण पत्रकार समूहको कार्यालय थापाथलीमा भेटिएका भैरव निकै रसिक छन्। ४ पुस्तासँगै बसेको अनामनगरको घरमा भैरव दम्पती, उनका एक बुहारी, नातिका साथै भैरवकी सासूआमा पनि छिन्। उमेरभन्दा निकै योङ लाग्ने र नाति उमेरले पनि दाइ भन्ने भैरव अनामनगरबाट थापाथली हिँडेरै आउने रहेछन्।

बिहान ५ देखि सवा ५ सम्ममा बिस्तरा छाडिसक्ने भैरवको गत पुसदेखि केही दिनचर्या फेरिएको छ। साधारण व्यायाम र योग गर्ने भैरवलाई ढाड र घुँडा दुख्न थालेपछि आजकल थेरापीतिर लागेका छन्। पहिले चिया आफै बनाउने भैरवलाई बिमारी भएपछि ढाडको हाड र नसाको समस्याले देब्रे तिघ्राको पछिल्लो भागमा समेत असर पर्यो। उभिन र हिँड्न नहुने भयो, त्यसैले घरपरिवारले धेरै धपेडी नगर्न भनेपछि आजकलै कसैलाई दुःख नदिई आफै चिया पकाउने उनको मन खुम्चिएको छ।

पत्रकार भनेकै पढलेखमा रमाउने जात हो। उसलाई सूचनाको दुनियाँबाट टाढा राख्यो भने पानीबिनाको माछाजस्तो हुन्छ। घटनासँग अभ्यस्त भएर २/४ जनासँग विश्लेषणात्मक कुरा गर्न पाएन भने पत्रकारलाई भित्रदेखि खरो भएर आउँछ। भैरव पनि पत्रकार भएको आधा शताब्दी नाघ्यो। त्यही भएर बिहानको चियापछिको उनको समय पत्रपत्रिका पढ्ने र रेडियो सुन्ने नै हो। घरमा आउने दैनिक पत्रिका, रेडियो र बीबीसी भैरवका बिहानका ब्रेकफास्ट हुन्। त्यहीबीचमा कहिलेकाहीं जिन्दगीमा कमाएको मान्छे र पेसाको फोन आउँछ। त्यसले पनि उनलाई अम्मलीले खैनी पाएजस्तो काम गर्छ।

राष्ट्रिय पत्रकारिता पुरस्कार, गोविन्द वियोगी पत्रकारिता पुरस्कार, जगदम्बा श्री पुरस्कार, अब्राहम कन्जरभेसनलगायत थुप्रै पुरस्कार जितेका भैरव दाइले श्रीमतीलाई माया गर्न सिकाउँदै ‘सुशीला भैरव’ नामक एक पुस्तक निकालेका छन्।

उमेरभन्दा धेरै काम गरेका भैरव नभेटी नहुने मान्छे रहेछन्। पत्रकारिता, विकास, अन्वेषण, विश्लेषण र इतिहासका पोका उनी जे कुरा गर्यो त्यसमै धाराप्रवाह बोल्न सक्ने खुबी राख्छन्। पुरस्कारको भकारी भैरव कसैले केही समस्या भन्यो कि त्यसमा फोकस भएर काममा लाग्न खोजिहाल्ने रहेछन्। उनको स्वभावले उनलाई सफल बनाउँदै लगेको रहेछ। राणाकालदेखिको इतिहासका साक्षी उनी आफ्नो उमेर बिर्सेर सधैं नयाँ–नयाँ काममा लागिरहन्छन्। नयाँ र अनौठा काममा रुचि देखाउने भैरव दाइले बुहारी पढाउने छात्रवृत्ति आफ्नै गाउँमा खोलेका थिए। आलु बीउ विकास कार्यक्रममा आएको एक स्विसले भैरवलाई ४ हजार दिँदै भन्यो– ‘ल भैरव कति आलुको विकासमा मात्र काम गर्छाै, यो आलुबाहेक जेमा खर्च गर्छाै गर।’ घर बनाउँदै गरेका भैरवको दिमागले क्याल्कुलेसन गर्दा ४ हजारको १७ बोरा सिमेन्ट आउँथ्यो। घरमै हालांै कि जस्तो पनि भयो। शिक्षामा केही गर्न पाए भन्दै कल्पेको मनले सिमेन्टभन्दा कडा जम्ने काम गर्न खोज्दै थियो। एक साथीले छोरी त पढिहाल्छन् नि बुहारीलाई पढाउनु पो राम्रो भनेको सुने। तत्कालै भैरवले बुहारी छात्रवृत्ति राखे। निःशुल्क पढाउन पाउने भएपछि जाऊ न पढ भनेर सासूले बुहारीलाई पढाउन पठाए, जुन कामले भैरवलाई सम्झँदा आनन्द दिने रहेछ।

नयाँ जनगणना आएको छैन। पुरानो जनगणनालाई हेर्ने हो भने नेपालमा ४२ प्रतिशत मान्छेसँग रेडियो छैन। चेपाङलाई रेडियो सुनाउन गल्ली चहार्ने भैरव पछिल्ला दिनमा मान्छेलाई सुसूचित बनाउन चेपाङ र सबैका लागि रेडियो बाँड्दै हिँडेका छन्। १ हजार ४ सय २० घरमा रेडियो बाँडिसकिएको उनले बताए। मकवानपुर, चितवन, धादिङ, नवलपरासी, पाल्पा, ताप्लेजुङ र सप्तरीका कम्युनिटी एफएमलाई उनीहरूकै गीत र कथा भनेर दिनुस् भनेर रेडियो बाँडेको कुराले प्रफुल्ल बन्दा रहेछन् भैरव।

४ हजार भए हुम्लाको १ घरमा बत्ती बाल्न पाइन्थ्यो भनेर हुम्लाकै जीवनबहादुर शाहीले भनेपछि बत्ती बाल्न दाइजोका रकम माग्नेलगायतका काम गरी २२ लाख उठाए भैरवले। जसका कारण सोलारबाट ५ सय घरमा बत्ती बलेको छ अहिले। राजधानी लोडसेडिङले आक्रान्त भएको यो समयमा हुम्लाका तिनै जीवनले फोन गरेर भैरवलाई हिटर बालेर भात खाँदै छु भन्दा भैरव यता अघाएजस्तै भए।

जिन्दगीभर असल काम गर्न खोज्ने भैरवले मरेपछि पनि आफ्नो शरीर दधिचीको हाडजस्तै बनोस् भनेर शव दान गरिसकेका छन्। बीपी मेमोरियलबाहेक अरूले सहजै शव लिन नमान्ने भएकाले कानुनी कागज मिलाउन वकिल राखेका छन्। उनको वकिलले भनेका छन्– ‘मालपोतमा पास गराएर दिनुपर्छ। सहजै शव लिन नमान्ने अस्पतालका कुन कुरा ठीक कुन कुरा बेठीक उनले छुट्याउन सकेका छैनन्।’

गतहप्ता जन्मदिन मनाएर ९१ वर्ष पुगेका भैरव रिसाललाई जन्म दिवसको कार्यक्रममा सबैले भन्दथे– ‘भैरव दाइ भैरव दाइ यसो गर्नुस्, उसो गर्नुस्, त्यसो गर्नुस्।’ भैरव पनि ९१ उल्टाएर १९ वर्षे ठिटोझैं सबैका कुरा सुनेर गमदारी हुँदै भन्दथे– ‘हो यसो गर्नुपर्छ, उसो गर्नुपर्छ, त्यसो गर्नुपर्छ।’ भैरव दाइलाई शुभकामना !

 स्रोतः नेपाल समाचारपत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *